प्रचण्ड, ओली, माधवलाई यसपालि मिलेको पाठ

प्रचण्ड, ओली, माधवलाई यसपालि मिलेको पाठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्माले पार्टी विभाजनको कुनै असर नपर्ने दाबी गरे पनि स्थानीय तहको निर्वाचनका प्रारम्भिक नतिजाले यो दावीलाई असत्य सावित गरिदिएको छ । उनले फरक मत राख्दै आएका १० भाइलाई गलाएपछि माधव–झलनाथलाई पूरै थाङ्नामा सुताएको ठानेका थिए । २०७४ सालको स्थानीय निर्वाचनबाट एमालेका १४ हजार ९९ प्रतिनिधि मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा निर्वाचित भएका थिए । यसरी उसले जम्मा ४२ प्रतिशत सिट जितेको थियो ।

धनकुटा, पाँचथरलगायत धेरै जिल्लामा त कांग्रेस र माओवादीलाई सिला खोज्नुपर्ने अवस्थामा पु¥याएको थियो । अहिलेको चुनावले भने उल्टो परिणाम निकाल्ने छाँटकाँट देखिएको छ । एमालेबाट यसअघि २९४ पालिका प्रमुख र ३३१ उपप्रमुख, २५६० जना वडाध्यक्ष र १०,९१२ दलित महिला, महिला र खुल्ला दुई सदस्यहरू निर्वाचित भएका थिए । अहिले यो संख्या निकै घट्ने संकेत देखिएको छ । त्यसैले होला अध्यक्ष ओलीले एक–दुई पालिकाको नतिजा सार्वजनिक हुनेबित्तिक्कै धाँधली भएको भन्ने विज्ञप्ति निकालेका छन् ।

त्यसबेला दोस्रो बनेको कांग्रेसले २६६ पालिका प्रमुख, २२३ उप प्रमुख, ११८६ उपप्रमुख र ८६७९ वडा सदस्य जितेको थियो भने (माओवादी केन्द्र)ले १०६ पालिका प्रमुख, १११ उप प्रमुख, ११०२ वडाध्यक्ष र ४२१३ सदस्यलाई निर्वाचित गरेको थियो । त्यसैगरी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट ३४ पालिका प्रमुख, ३२ उपप्रमुख, २६२ वडाध्यक्ष र ११११ सदस्यहरूले जितेका थिए । कांग्रेसको दाउ र गठबन्धनका दलहरूमाथि चलेको हैकमका कारण यसपालि गठबन्धन नगरिएका केही पालिकामा एमालेले मुश्किलले जित हासिल गरेको देखिएको छ ।

स्थानीय तहको यस्तै नतिजा विश्लेषण गरेपछि संघीय तथा प्रदेशको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी मोर्चा बनेको थियो । र, यसले संघीय प्रतिनिधिसभाका लागि सोचे भन्दा राम्रो झण्डै दुईतिहाइ सिट, र मधेश प्रदेशबाहेक अन्य ६ वटै प्रदेशमा वामपन्थीको वर्चश्व कायम राखेको थियो । प्राप्त सफलताले गर्दा दुवै ठूला वामपन्थी दलबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । अध्यक्ष ओलीले यो वर्चश्वलाई कायम राख्ने वा सुदृढ बनाउनेभन्दा निरकुंश बन्नेतर्फ सोझिएपछि नेकपा फुटेर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको बताइन्छ ।

पार्टी विभाजन हुनु हुँदैन, यसले नेपाल कम्युनिष्ट पार्टी र नेपालको कम्युनिष्ट आन्दोलनलाई नराम्रो असर पुग्छ भन्दाभन्दै ओलीकै दम्भको कारण नेकपा विभाजित हुन पुगेको थियो । अर्कोतर्फ एमालेभित्रको आन्तरिक जनवादलाई पनि अध्यक्ष ओलीले पूर्णरुपमा ध्वस्त बनाउने काम गरेको आरोप छ ।

महाधिवेशन प्रतिनिधि छनोटमा सर्वसम्मत गर्ने भन्दै आफु समर्थकलाई अघि बढाइएकै हो । स्थानीय चुनावमा उम्मेदवार छनोटको बेला कार्यकर्र्तालाई झगडा नगर, जित्नेलाई टिकट दिने हो भन्दै राम्रा र लोकप्रियलाई पन्छाएर आफु पक्षीयलाई काखी च्यापेको सावित भएको छ । सर्वसम्मतको नाममा टीको लगाएर, आन्तरिक जनवादलाई ध्वस्त बनाएर, सल्लाह गर्न नदिएर एक्लैले आफूखुशी गरेकोमा प्राप्त परिणामको जिम्मेवारी क–कसले लिने हो ? सल्लाह नै नहुने भए ६ उपाध्यक्ष, ३ उपमहासचिव, ७ सचिवको के काम ? अहिलेको परिणामलाई नकारात्मक रुपमा व्याख्या नगरेर आलोचित हुँदै सकारात्मक सोचले अघि बढ्ने हो भने विभाजित कम्युनिष्टहरू एकजुट हुनुपर्ने पाठ मिलेको छ ।

एमालेभित्रै रहेका फरक मतलाई कदर गर्दै आन्तरिक जनवादको अभ्यास गर्न थाल्ने हो भने पनि सुनौला दिनहरू फर्किने सम्भावना छ । अहिलेको निर्वाचनले आउँदो ५ वर्षभित्र राष्ट्रिय सभाबाट एमालेलाई मज्जैको घाटा लाग्ने देखिएको छ भने कांग्रेसले वर्चश्व हासिल गर्ने अवस्था सिर्जना हुन लागेको छ । राष्ट्रिय सभा सदस्यहरूको निर्वाचनमा मतदाता हुने पालिका प्रमुख र उपप्रमुखहरूको संख्या एमालेभन्दा कांग्रेसको बढी हुने निश्चितजस्तै भइसकेको छ ।

अध्यक्ष ओलीले पार्टीमा आफुभन्दा वरिष्ठ झलनाथ खनाल र माधवकुमार नेपाललाई लक्ष्य गर्दै ‘मैले साँपलाई विष पिलाएर राखेको रहेछु’ भन्ने जस्ता अति तुच्छ गाली दिएकाले गर्दा पनि यस्तो अवस्था आएको बताइन्छ । ओली १४ वर्ष जेल बस्दा पार्टीलाई सम्हालेर यहाँसम्म ल्याइपु¥याउनमा दुवै नेताको निकै ठूलो योगदान छ । अध्यक्ष ओली हारको कारण अरुमाथि थोपर्ने र पाँचदलीय गठबन्धनलाई देखाउँदै पानीमाथिको ओभानो बन्न खोज्ने हो भने योभन्दा पनि नराम्रो परिणाम भोग्ने दिनहरू आउँदै छन् भन्न सकिन्छ ।

किनभने ०७४ सालको नतिजा हेर्ने हो भने पनि सय मतको अन्तरले विजय भएको निर्वाचन क्षेत्र दर्जनभन्दा बढी छन् । तसर्थ अहिलेको परिणामबाट पाठ सिकेर अझै पार्टी संगठनलाई सुदृढ बनाउने, वामपन्थीबीचको तिक्तता हटाउँदै पार्टी एकता गर्ने, एकता गर्न सम्भव नभए कम्तीमा वर्ग शत्रुविरुद्ध चुनावी मोर्चा बनाएर लड्ने योजना निर्माणतर्फ ध्यान दिनुपर्ने हो । कार्यकर्ता र सामान्य मतदाताले अध्यक्ष ओलीले सर्वसम्मत भनेर उम्मेदवार बनाउँदैमा भोट हाल्दैनन् भन्ने कुरा परिणामले देखाउँदै छ । दुवै जना एमालेका भए पनि गफी स्थापितलाई भन्दा जनताले सुनिताको पक्षमा बढी भोट खसालिदिएका छन् ।

जबकि अध्यक्ष ओलीको निर्देशन सबै दुवैलाई मत दिने थियो । तसर्थ नेतृत्वले चाहँदैमा, नेतृत्वले गरेका गलत निर्णयलाई मान्नुपर्ने बाध्यता कार्यकर्तामा देखिए पनि मतदान गर्ने बेलामा विवेक गुमाउँदैनन् भन्ने खुलस्त भएको छ । मतदाताहरू आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । उनीहरूलाई लहडी स्वभावका अध्यक्ष ओलीको निर्देशन मान्नुपर्ने कुनै बाध्यता देखिँदैन । चुनावी परिणामलाई हेर्दा जननेता मदन भण्डारीले हुर्काएर ल्याएको पार्टी एमालेलाई जनताले मत नदिएका होइनन्, उनीहरूले त अध्यक्ष ओलीको घमण्डलाई मात्रै मत नदिएजस्तो देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले भोगेको असफलताको मुख्य कारणका रुपमा अध्यक्ष ओली र ओलीपक्षधरले पाँच दल मिलेर घेरे, त्यसैले अपेक्षित परिणाम नआएको भन्न सक्नेछन् । तर, पाँच दलले घेर्नुपर्ने स्थिति कसले, कसरी पैदा ग¥यो विश्लेषण गर्ने र त्यसको निश्कर्षका आधारमा सच्चिन भने तयार भएको पाइन्न ।

‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्नेजस्ता बेतुकका पार्टीभन्दा व्यक्तिकेन्द्रित नाराका कारण पनि कतै कतै कमरेडहरु पछारिएका हुन् । वर्तमानको लागि होइन भोलि (भविष्य)को लागि मत मागेपछि त जनताले किन यो स्थानीय तहमा भोट दिनुप¥यो भनेर प्रश्न उठाउने नै भए । अर्कोतर्फ गठबन्धनलाई दोष दिएर हारको जिम्मेवारी लिनबाट पन्छिने एमाले नेतृत्वले लोकतान्त्रिक समाजवादी पार्टी, दुवै राप्रपा, नेपाल परिवार दल, सीके राउत नेतृत्वको जनमत पार्टीदेखि बागी काँग्रेसीहरुसँग गरेको गठबन्धनबारे पनि केही बोल्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ । राजनीतिमा जे पनि सम्भव छ भन्ने नाममा परम्परावादी र विखण्डनवादीदेखि धार्मिक उन्माद फैलाउनेहरूसँग गठबन्धन गरेको जनताले नबुझेका हैनन् भन्ने कुरा पनि बुझ्नु आवश्यक छ ।

वैशाख ३० गतेको निर्वाचन परिणाम यस्तो आउनुमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आत्मघाती गोलले पनि राम्रै काम गरेको देखिन्छ । श्रीलंकाको लिबरेशन टाइगर्स अफ तामिल इलम (लिट्टे) का कार्यकर्ताले गरेको आत्मघाती हमलाले राष्ट्रपति प्रेमदासालगायतलाई सिध्याए पनि ऊ आफैंलाई समेत बाँकी राखेन । भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीलाई आफैँ पड्किएर धनुले मारेजस्तै एकीकृत समाजवादीरुपी साइनाइडधारीले आफू सिद्धिएर पनि ओलीलाई पाइला पाइलामा लखेट्ने पक्का छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रतिक्रिया पनि सकारात्मक छैन किनभने उनले ‘केपी ओलीको मुख देख्नु भो त कति अँध्यारो’ भनेर खिसिट्युरी गर्ने अवस्था होइन यो । एमालेमा अहिले उपाध्यक्ष ६ जना, उप महासचिव ३ जना, सचिव ७ जना भने पनि कामजति सबै एक्लै केपी ओली र विष्णु रिमालले गरेजस्तै एकीकृत समाजवादीमा पनि त्यस्तै देखिएको छ । दुवै दलले गम्भीर भएर अघि बढ्नु पर्ने बेला भएको छ । गठबन्धन गरेर मलाई ढाल्नेसँग किन मिल्ने भन्ने दम्भ पाल्ने हो भने एमालेका लागि आउँदा दिन निकै कष्टकर हुने देखिन्छ । कमेडी देखाएर मात्रै सधैं चल्ने भए भोलोदिमिर जेलेन्स्कीले रुससँग लडेर युक्रेन खण्डहर बनेको हेर्नैै पर्ने थिएन ।  २०७५ साल जेठमा बालुवाटारमा नेकपाको एकता प्रतिकको रुपमा ‘जिङगो बिलोबा’ को बिरुवा रोप्ने वामपन्थी नेताहरुले त्यो बिरुवा हुर्के हुर्केन भनेर हिजो फर्केर हेर्न पनि गएनन् ।

अध्यक्ष ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोप्रति देखाएको लगाव मात्रै माधवकुमार नेपाल र झलनाथ खनालसँग देखाएको भए यो स्थिति आउने थिएनन् भनी दावी गर्नेहरू पनि छन् । नेकपा माओवादी केन्द्र अब राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभालगायतका निकायका लागि कसेर बार्गेनिङ गर्न सक्ने अवस्थामा पुगेको छ । कांग्रेसले स्थानीय तहमा ५१ प्रतिशत सिट हासिल गर्न नसकेको अवस्थामा मुख्य निर्णायक भूमिकामा माओवादी केन्द्र रहने देखिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा १४ प्रतिशतको हाराहारीमा देखिएको माओवादीले अहिले दुई गुणा सिट बढाउने स्थिति देखिँदैछ ।

पहिला निकै न्यून उपस्थिति भएको जिल्लाहरूमा पनि माओवादी केन्द्रको उपस्थिति देखिएको छ । निर्वाचन आयोगमा अध्यक्ष ओलीले नै विश्वास गरेर नियुक्त गरेका दिनेशकुमार थपलियालगायतका आयुक्तहरु छन् । अदालतमा पनि उनकै पालामा नियुक्त न्यायाधीश छन् । र, कर्मचारीले धाँधली गर्न सक्ने अवस्था पनि निकै कम छ । किनभने जागिर जोखिममा मोलेर दलका प्रतिनिधिको उद्धार गर्न यो जमानामा जो–कोही लाग्ने अवस्था छैन । त्यसैले अध्यक्ष ओलीको स्थानीय तहको अन्तिम परिणाम नआउँदै निस्किएको वक्तव्यमा खासै दम देखिन्न किनभने ४४१ सदस्यीय केन्द्रीय कमिटीका दुई तिहाई सदस्यहरूले अध्यक्ष ओलीविरुद्ध उजुरी दिँदा सूर्य चिह्नसहित उनकै पक्षमा फैसला गर्ने निर्वाचन आयोग पनि यही नै हो । त्यसैले निर्वाचन आयोगले पूरै धाँधली ग¥यो भन्ने कुरामा विश्वस्त हुने आधार देखिएको छैन ।

वर्षौंवर्ष पार्टीको लागि खून पसिना बगाउने, कम्युनिष्ट नीति र सिद्धान्तमा हिंड्नेहरूलाई धरधरी रुवाउँदै पार्टी छोड्न लगाउने अनि त्यो क्षतिको पुर्ताल पोइला जान पामकी गायिका कोमल वली, विजय सरावगीहरूलाई एमालेमा स्वागत गरेका छौं भनेर फुइँ हाँक्न छोड्नु पर्ने बेला आएको छ । अर्घाखाँचीमा टोपबहादुर रायमाझीले, सुदूरपश्चिममा लेखराज भट्टले, चितवनमा रामबहादुर थापा बादलले, रौतहटमा प्रभु साहले एमालेको हैसियतमा के परिवर्तन ल्याए त ? निर्मम भएर समीक्षा गर्ने बेला आएको छ । यो चुनावमा बरु झलनाथ खनाल र माधवकुमार नेपालले आफू मतदाता भएको वडा र नगरलाई जोगाएर इज्जत धानेका छन्् तर एमाले अध्यक्ष ओलीले त दमक गुमाउँदै छन्, भक्तपुर बालकोटको बार्दलीमा पनि झण्डा कांग्रेसले गाडेको छ । २०६४ सालको चुनावमा माधवकुमार नेपालले बरु हारको नैतिक जिम्मेवारी स्वीकार्दै अध्यक्षबाट राजीनामा दिएका थिए ।

टिप्पणीहरू