सोच्दै नसोचिएका कुरा देखिन्छन् संसारमा

सोच्दै नसोचिएका कुरा देखिन्छन् संसारमा

चुनावमा नसोचिएका अप्ठेरा आइलाग्छन्, अहिले काठमाडौं महानगरमा त्यही भइरहेको छ । दलीय व्यवस्थामा विचार, संगठन र कार्यक्रमका आधारमा जनप्रतिनिधि चुनिने मान्यतालाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अचम्मलाग्दो अग्रता छ ।

पढाईले स्ट्रक्चरल इञ्जिनियर र पेशाले ¥याप गीत गाउने बालेनका मतदाता पनि अचम्म–अचम्मका । ३० गते मतदानको दिन असनका मतदाताले मतदान गर्ने महाबौद्ध मतदान केन्द्र (क) मा एकजोडी वृद्धवृद्धा पुगे । उनीहरुले मतपत्र हात परेपछि कर्मचारीलाई सोधे, ‘लौरो कहाँ छ बा, लौरो ?’ यस्तो प्रश्न सुनेपछि छक्क परेका कर्मचारीले मतपत्रमा बालेन्द्रको चुनाव चिह्न लौरो देखाइदिएका थिए ।

युरोपियन युनियनले प्रोत्साहित गरेका सञ्चारसंस्थाहरुले काठमाडौं महानगरमा बालेनले जित्ने प्रक्षेपण पहिल्यै गरेका थिए । यदि बालेन त्यस्तै कुनै शक्ति राष्ट्र वा योजनाका साथ उठाइएका उम्मेदवार हुन् भने नेपालको दलीय व्यवस्था र निर्वाचन प्रणालीका निम्ति यस्ता पात्र फेरि पनि चुनौतिको विषय बन्न सक्छन् । किनभने, फेरि ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदैछ । काठमाडौंवासी मतदाताका विदेशमा बस्ने छोराछोरीले फोनबाटै बालेनको निम्ति अभिभावकसँग भोट मागेको बताइन्छ ।

बालेनको यस्तो उपस्थिति र निर्वाचन पर्यवेक्षणका नाममा अमेरिकी तथा युरोपेलीहरुको चासो पनि आश्चर्ययुक्त छ । अमेरिकी पर्यवेक्षण टोलीले यसपटक शहरी भेगको पर्यवेक्षणमा मात्रै चित्त बुझाएन, परराष्ट्रबाट विजय तण्डुकारलाई सम्पर्क अधिकृतका रुपमा लिएर उक्त टोली मुस्ताङसम्म पुग्यो ।

मतदाताका बीचमा दोहोरिएका अनुहारप्रति वितृष्णा रहेको सन्देश त काठमाडौंकै अग्रताले पनि बताउँछ । तर, ललितपुरको विभिन्न ठाउँका मेयरमा दोहोरिँदै गरेका चिरिबाबु महर्जन, वीरबहादुर तामाङ र गजेन्द्र महर्जनप्रति भने आकर्षण देखिएको छ । त्यही महानगरको वडा नं. २ र ३ मा एमालेबाट जितेका वडाध्यक्षहरु यसचोटि एकीकृत समाजवादीबाट दोहोरिएका छन् । वडा नं. २ भनेको सानेपा र ३ पुल्चोक हो ।

तर, काम नगर्ने, फूर्तिफार्तीमात्र देखाउने दल वा उम्मेदवारप्रतिको आक्रोश भने यसचोटि व्यापक रुपमा प्रकट भएको छ । केपी ओलीले ०५१ को गृहमन्त्रीदेखि ०६३ को परराष्ट्रमन्त्री र अहिले फेरि तेस्रोचोटि प्रधानमन्त्रीको चाहना व्यक्त गरिरहनुभएको छ । तर, जनताले यसचोटि जीवनशैली, धाकधक्कु, कुर्सीमोह देखाउनेलाई रुचाएनन् ।

पोखरा महानगरको मेयरमा पछाडि परेका एमाले प्रत्यासी कृष्ण थापा, काठमाडौंका प्रत्यासी केशव स्थापित भएको प्रदेश सांसद पद त्यागेर चुनावमा होमिएका छन् । शायद जनतामा यस कुराको पनि वितृष्णा हुनुपर्छ ।

राजनीतिक नेतृत्वले कतिसम्म गर्छ भने, रुचाएको मान्छेलाई टपक्क टिप्ने, न योग्यता चाहिने, न क्षमता नै । विगतमा कांग्रेस नेतृ नोना कोइरालाको ज्वाइँ भएकै कारण पुरन्दर घिमिरे राससको अध्यक्ष भए । कानुन कितावखानाका कर्मचारी सुशील कोइरालालाई रेडियो नेपालमा लगेर पत्रकार बनाइयो । ट्रेड युनियनका खगेन्द्र खत्री पनि रेडियोमा गएर पत्रकार बने ।

कुनै समय थियो, कोइराला वा तिनका नातेदार हुनु नै मुख्य योग्यता मानिने र त्यही आधारमा अवसरहरु निर्धारित हुन्थे । अहिलेको ‘योग्यता’ बनेको छ, कर्णाली पारीको हुनु । ओली कार्यकालमा झापाली र माधव नेपाल तथा प्रचण्डका विरुद्ध जसले बढी सामाजिक सञ्जाल रंग्यायो, उही पुरस्कृत हुने लहरै चल्यो । खासमा जनतामा यस्ता कुराले वितृष्णा ल्याउँछ भन्ने कुरा अहिलेको चुनावमा प्रकट भएको जनमतले भन्दैछ ।

टिप्पणीहरू