माओवादी नेताद्वारा एमालेलाई हरियो झण्डा

माओवादी नेताद्वारा एमालेलाई हरियो झण्डा

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेसँग सहकार्य गर्न सकिने धारणा राख्नुभएको छ । उहाँले हिजो राष्ट्रिय सभाको बैठकमा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

‘एक पटकको प्रतिगामी शक्ति सँधै प्रतिगामी हुन सक्दैन,’ उहाँले अगाडि भन्नुभयो, ‘नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले सहकार्य गर्न सकिन्छ ।’ श्रेष्ठको उक्त धारणा स्थानीय तहको चुनावको सबै मतपरिणाम नआउँदै सार्वजनिक भएको सन्दर्भमा अर्थपूर्ण ठानिएको छ ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धन दलहरुले तालमेल गरेका थिए । सोही कारण एमालेले पाँच वर्षअघि जितेका झण्डै एक सय पालिका गुमेका हुन् ।

त्यसको फाइदा नेपाली काँग्रेस र माओवादी केन्द्रलाई भएको स्पष्ट देखिन्छ । तर उक्त निर्वाचनको पूरै परिणाम नआउँदै एमालेसँग नयाँ सहकार्य गर्न सकिने प्रस्ताव तेर्साउनुलाई माओवादीभित्रै शंकाको दृष्टिकोणले हेरिएको बताइन्छ ।

यता संसदको बैठकमा भाग लिएर निस्कँदै गर्दा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पाँचदलीय गठबन्धनमा इमान्दारिता नदेखिएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । उहाँले हिजो संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै हालैको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले आफूबाहेक अन्य दलका उम्मेदवारलाई मतदान गराउने सन्दर्भमा कुनै पहल नगरेकोतर्फ लक्षित गर्दै उक्त कुरा बताउनुभएको हो ।

चौधरी र श्रेष्ठका सतहमा फरक तर गुह्य कुरो एउटै भएको धारणा एकै दिन सार्वजनिक हुनुलाई संयोग मात्र मान्न नसकिने धेरैको बुझाइ छ ।

टिप्पणीहरू