शीर झुकाने से किसीका हाइट नहीं घटेगा

शीर झुकाने से किसीका हाइट नहीं घटेगा

हिन्दीमा एउटा गज्जबको भनाइ छ– एडी उठानेसे किसीका हाइट नहीं बढेगा और शीर झुका कर नमस्कार करनेसे किसीका हाइट नहीं घटेगा ।’ अर्थात् दम्भ, घमण्ड, फूर्तिले कसैको पनि मान–सम्मान बढ्दैन, बरु घट्छ । बिनम्रता, अरुको सम्मान र आफ्नो शीर झुकाउँदा नै सबैको मानसम्मान र इज्जत बढ्छ ।

यो कुरा हामी अर्थात् जनता र कार्यकर्ताले बोध गरेर नहुने रहेछ । बोध तिनैले गर्दामात्रै, शीर ठाडो हुन सक्ने रहेछ, मानसम्मान कायम हुनसक्ने रहेछ । जतिजति चुनावको नतिजा सार्वजनिक हुँदै जाँदो छ उतिउति नै यो कुराले बिझाउँदै छ कि हामीले समयमै दम्भ त्यागेको भए, घमण्ड त्यागेको भए आजको अवस्थामा आइपुगेका हुने थिएनौं ।

कतिपय कुरा यस्ता हुन्छन् जो सार्वजनिक रूपमा भन्न मिल्दैन अथवा भन्न सकिन्न । टाउको हल्लाएर बस्नुपर्ने हुन्छ तर परेका बखत व्यवहारबाट जवाफ दिइन्छ । गाउँघरतिर खासमा एमाले र सूर्य चिह्नप्रति सम्मान र सहानुभूति नै रहेको देखिन्छ ।

तर, यसको साथसाथै चरम असन्तुष्टि पनि पाइयो । त्यो असन्तुष्टि भनेको नेतृत्वमा देखिएको दम्भ र तुच्छ भाषाको प्रयोगप्रति हो । यही दम्भ र घमण्डले नै पार्टी फुट्यो । धेरै मान्छेको कुरा सुन्दा के देखियो भने उनीहरू एमालेका सदस्य हुन् तर माधव नेपाल, प्रचण्ड, झलनाथलाई पनि उत्तिकै सम्मान गर्छन् जति कि केपीलाई गर्छन् ।

यी नेताको राजनीतिक विरोध गर्नु ठीक छ तर आफू जेल परेको बेला जान हत्केलामा राखेर पार्टी संगठन विस्तार गरेका अग्रजहरुलाई दूध पिलाएर मैले पालेका साँपहरु भनी यो तहमा झरेर, व्यक्तिगत तहमा टिप्पणी गर्नु राजनीतिक एवं संस्कारगत दुबै हिसाबले बेठिक मान्छन् ।

कुराकानीमा उल्लेख्य मान्छेहरूले यसकारणले विपक्षमा मतदान गरेको बताए कि उनीहरूले एमालेलाई सुधार्नको निम्ति इतर पार्टीलाई भोट दिएका रहेछन् । यसरी एमालेलाई पाठ पढाउन चाहन्छन् उनीहरू । उनीहरूको भनाइमा पाँच वर्ष कुनै लामो समय होइन राजनीतिमा । यसबीच एमालेले आफ्नो चरित्र र आचरणमा सुधार ल्याउने काम गर्नुपर्छ । हामी त ‘मै पनि एमाले, साइँ पनि एमाले’ भनेजस्तै हौं । यो न धोएर जान्छ, न त पखालेर ।

गाउँ छिमेकले पनि हामीलाई एमाले होइन भन्यौं भने विश्वास गर्दैनन् । उनीहरूको भनाइमा नाता सम्बन्धको कारण स्कुलले उत्तीर्ण गरिरहने बच्चालाई अभिभावकले यसपटकलाई उही कक्षामा रोक्दिनु, यसो गर्दा सुध्रेर मिहिनेत गरी पढ्ला कि भनेजस्तै हो एमालेको विपक्षमा गएको भोट । यसलाई नेतृत्वले कसरी बुझ्ला, उनीहरूकै कुरा भयो ।

धेरै ठाउँमा एमाले सगोत्रीहरूबाट टाढिनाले, एक्लिनाले हारेको छ । कतै त जम्मा एकभोटले हारेको छ, कतै दुई भोटले पछि परेको छ, कतै एघारले त कतै गोला तानेर पनि हारेको छ । यसरी किन एक्लिनुपर्ने खण्डखातिर आइलाग्यो त भने एमालेले आफ्नो वास्तविक हैसियतलाई चिन्न सकेन । उसले विभाजनले उत्पन्न गर्ने वा गर्नसक्ने राजनीतिक परिस्थितिको सही आकलन गर्नै सकेन ।

यस्तो गलत राजनीतिक बुझाइले एमालेको दम्भ र घमण्डलाई धरहराभन्दा अग्लो बनाउन सहयोग ग¥यो । उसले अरुलाई कमिला जत्ति पनि गनेन । उसै त बुहारी, भटमास खाएकी । यस्तो दम्भी र घमण्डी व्यवहार देखेपछि इमानदार, स्वाभिमानी र निष्ठामा बस्ने मानिस असहमत हुनु, चित्त दुखाउनु स्वाभाविक हो ।

कुनै मान्छेको नाम उच्चारण गरेर कुल्ला गर्छु भन्नु संस्कारगत भाषा हुन सक्छ ? सैद्धान्तिक, बैचारिक आँखाबाट हेर्दा त यो विचलनको भाषा हो, विचलनको प्रमाण हो र घोर अपमानित भाषा हो भन्ने नै देखिन्छ । यस्तो प्रकारको बोलीवचनको नकारात्मक प्रभाव तलसम्मै पर्छ । यसले आफ्नै छिमेकमा विरोधी पैदा गराउँछ । यसरी अरुलाई होच्याउने काम रोकिनुपर्छ ।

चुनावी नतिजा कस्तो आउनेछ भनेर अनुमान गर्न अब गाह्रो छैन । साठीदेखि सत्तरी प्रतिशत जीतको दावा गर्नेहरूले पैंतीस प्रतिशत मात्रै पनि नतिजा आफ्नो पक्षमा पारेभने त्यसलाई ठूलो उपलब्धि माने हुन्छ । तर यति पनि आउन सकेन भने यस्तो भन्नेहरूले जिम्मेवारी लिनुपर्छ हारको । हामीले पुँजीवादी भनेर गाली गर्ने देशमा पनि यदि कुनै दलको नेताले आफूले भनेअनुसारको नतिजा चुनावमा ल्याउन सकेन भने तत्काल पदबाट राजीनामा दिन्छ ।

एमाले पनि एउटा माक्र्सवादी कम्युनिष्ट पार्टी भएको नाताले नेतृत्वले पनि हारेको अवस्थामा जिम्मेवारी लिँदै नैतिकता प्रदर्शन गरेर पदबाट राजीनामा दिई नयाँ संस्कार प्रदर्शन गर्ला त ? विषालु सर्प भनिएका माधव नेपालले ०६४ को चुनावमा हारेपछि यो नजिर कायम गरेको हैन र † यस्तो भयो भने फेरि पनि वाम एकता हुन सम्भव हुन्छ र त्यो एकताले अहिले गुम्न पुगेको वाम बर्चश्व पुनः प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू