एक साथ, चारैतिर बज्रपात

एक साथ, चारैतिर बज्रपात

भन्न सजिलो, ‘देशभर एकसाथ निर्वाचन !’ तर, गर्न कति गाह्रो छ ? यो कुरा सुरक्षाकर्मीले बुझेका छन् । चुनाव हुन्छ, विभिन्न राजनीतिक दलका नेतालाई जनप्रतिनिधि बनाउनका लागि । जिते उनै खुशी, हारे पनि उनै दुःखी हुनुनपर्ने हो । तर, तिनले जिते पनि, हारे पनि दुःख बोक्नुपर्छ सुरक्षाकर्मीले ।

राजनीतिक दलका नेताहरु निर्वाचन भइरहँदा त्यसलाई शान्तिपूर्ण र सुचारु गर्न हैन, मतपत्र जलाउन, च्यात्न, बाकस छोप्न र लुट्न अह्राउँछन् । अर्थात्, चुनाव उनीहरुलाई चाहिने, तिनका लागि सुरक्षाकर्मीले दुःख पाउनुपर्ने ! यसपछि सुरक्षानिकायले गोली हान्नुप¥यो । उदयपुरमा एकजनाको ज्यान जाने स्थिति बनेको पनि यस्तै कारणले हो ।

दलका नेता, कार्यकर्ताले चुनावमा उठिदिए पुग्छ । मतदानको व्यवस्थापन, मत सुरक्षा र गणनाका काममा यस्तो व्यवहार छ कि, मानौँ चुनाव उनीहरुले जितेर शासन उनीहरुले गर्दै छैनन्, सब सुरक्षाकर्मीका लागि हो ।

जस्तो– भौगोलिक विकटताका कारण पश्चिम रुकुमको मतपेटिका भोलिपल्ट बिहानमात्रै सदरमुकाम पुग्यो । त्यसका लागि सुरक्षाकर्मीले रातभरि बाकस कुर्नुप¥यो । भोलिपल्ट दलका प्रतिनिधि उल्टै प्रहरीसँग चर्काचर्की गर्दै थिए, ‘किन ढिला गरेको ?’

यति गर्दा पनि यसचोटिको निर्वाचनमा सुरक्षाकर्मीलाई अतिरिक्त सुविधा दिइएन । जबकि, अफिस बसीबसी काम गर्ने निर्वाचन आयोगका कर्मचारीले १ सय २१ प्रतिशत भत्ता पाएका छन् ।

त्यसो त एउटा कर्मचारीले सरकारले अह्राए, खटाएको काम गर्नैका लागि जागिर खाएको हुन्छ । उसलाई कुनै काम विशेषमा अतिरिक्त भत्ता दिइयो कि दिइएन भन्ने प्रश्न उठ्नु हुँदैन । तर, विगतका निर्वाचनहरुमा अतिरिक्त भत्ता दिएर बानी बिगारियो ।

खासमा यसचोटि सुरक्षाकर्मीको जनशक्ति कम भयो । एकैचोटि निर्वाचन गर्दा प्रभावकारी परिचालन हुन सकेन । ०७४ मा स्थानीय निर्वाचन तीन र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन दुई चरणमा भएका थिए । त्यसैले सुरक्षाकर्मी खटाउन सहज थियो ।

तर, ७ सय ५३ पालिकामा एकैचोटि निर्वाचन गर्दा यसचोटि भद्रगोल भयो । फलतः पाँच प्रहरी भएको र १५ प्रहरी भएकोमा फरक परिहाल्ने भयो । सशस्त्रलाई सामान्यदेखि अति संवेदनशीलसँग जोडिएका काममा पनि खटाइयो ।

नेपाल प्रहरीको ७० हजार स्थायी जनशक्ति र एक लाख म्यादी प्रहरी थियो । सशस्त्रसँग जम्मा ३७ हजार । त्यसमध्ये निर्वाचन परिचालनमा मुश्किलले २२ हजार जनशक्ति फिल्डमा खटिएको थियो ।

त्यहीमध्येको जनशक्ति सबै पालिकामा पु¥याइएको छ । ६ जनाको एउटा मोबाइल टिम छ । थोरै सुरक्षाकर्मी भएपछि दलका कार्यकर्ताले पनि हेप्ने र त्यहीअनुसार व्यवहार गर्ने भए । त्यही भएर ठाउँ–ठाउँमा गोली चल्यो । फौज कम भएका कारण बढी मान्छेको घेराऊमा परेपछि फायर खोलेर मास तितरवितर गर्नुपर्ने अवस्था भएको एक सुरक्षा कमाण्डर बताउँछन् ।

अफिसरको कमी हुँदा कतिपय ठाउँमा हवल्दार, वरिष्ठ हवल्दारको कमाण्डमा फौज परिचालित भयो । त्यसमाथि समयमा बजेट आएन । सात दिनका लागि गाडी लिने भनियो । उनीहरुले एक महिनाअघि टोली पठाउन पाएको भए ठाउँ चिन्थे, मान्छे चिन्थे र कामको परिणाम पनि त्यहीअनुसार निकाल्थे ।

त्यसमाथि घरपायक परिचालनले अर्को समस्या ल्याएको पूर्वेली एक कमाण्डरको अनुभव छ । आफ्नो गाउँठाउँ भएपछि चिनेजानेका उम्मेदवार हुन्छन् । सबैसँग समान व्यवहार गर्नुपर्ने कर्मचारीले निश्चित व्यक्तिहरुसँग हिमचिम गरेजस्तो देखिँदा अर्को पक्षका राजनीतिक कार्यकर्ता आक्रोशित हुने नै भए ।

टिप्पणीहरू