सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार,कानुन भन्छः हदम्याद नाघिसक्यो

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार,कानुन भन्छः हदम्याद नाघिसक्यो

हिजो सामाजिक सञ्जालमा एउटा भिडियो सनसनीपूर्ण बन्यो । एक युवतीले सामाजिक सञ्जालमा आफूमाथि बलात्कार भएको बताइन् । उनले सौन्दर्य प्रतियोगिताको नाममा बारम्बार बलात्कार भएको खुलासा गरेकी छन् । ती युवतीको यो भिडियो एकछिनमै भाइरल भयो ।

उनको यो भिडियोमा सेलिब्रेटी,पूर्व मिस नेपाल,फोटोग्राफरलगायत अन्यले थुप्रैले कमेन्ट गरेका छन् । यसको विरोधमा आज प्रदर्शन पनि गरिएको छ । उनको न्यायका निम्ति धेरै जना सडकमा उत्रिएका छन् । सँसदमा पनि आवाज उठेको छ । ती युवतीले आफूमाथि सन् २०१४ मा एक सौन्दर्य प्रतियोगिताका क्रममा आयोजकले जबरजस्ती करणी गरेको जनाएकी छन् । प्रतियोगिताकी फर्स्ट रनरअप उनलाई ‘सक्सेस पार्टी’ भन्दै एभरेष्ट होटलमा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ ।

‘पीडकले फोन गरी तिमी रेडी भएर आऊ,किनभने हामी सक्सेस पार्टीको आयोजना गरिरहेका छौ’ पीडितले भनेकी छन्,‘म उनले बोलाएअनुसार होटलमा जाँदा अरु कोही देखिनँ,अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौ,पार्टी ६–७ बजेदेखि छ भनेका थिए ।’

केही समयपछि एकजना वेटर लेमोनेड लिएर आएको उनको भनाइ छ । ‘वेलकम ड्रिँक’ भनेर लेमोनेड पिएको १०–१५ मीनेटमा आफू लठ्ठिएको उनी बताउँछिन् । ‘त्यसपछि मैले ती पीडकलाई म घर जान्छु भनेँ किनकि त्यतिबेला सहज महसुस गरिरहेकी थिइनँ’ उनी भन्छिन्,‘ उनले मलाई असाध्यै गाली गरे । उनले तिमी विजेता भएर यस्तो भन्ने ? मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न करकाप गरे ।’

पीडकले केटीहरुले सम्हाल्नै नसक्नेगरी धेरै पिउन सक्छन् भनेर एउटा कोठामा लगेको उनले बताएकी छन् । सबै आएपछि बोलाउँछु भनेका व्यक्तिले आफूमाथि जबरजस्ती करणी गरेको ती युवती बताउँछिन् । ‘म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’ उनले बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् । त्यसपछि ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर धम्काएको उनको भनाइ छ । ‘आफू जति स्ट्रङ नेचरको शिक्षित मान्छे बलात्कृत होला भनेर कहिले कल्पनै गरेकी थिइन,’ उनले भनेकी छन् ।

पीडकले कसैलाई यो कुरा भनेमा तस्वीर र खिचेको भिडियो पनि सार्वजनिक गरिदिने भन्दै धम्की दिने उनले बताइन् । आफैले ट्याक्सी बोलाएर त्यहाँबाट पठाएको भिडियोमा भनिएको छ । त्यसपछि पीडकले आफूसँग उनको भिडियो र नग्न फोटोहरू भएको भन्दै ‘ब्ल्याकमेल’ गरी ६ महिनासम्म पटक–पटक बलात्कार गरेको युवतीको भनाइ छ । पीडकले उनका साथीबाट पनि त्यस्तो कार्य गराएको आरोप युवतीले लगाएकी छन् । युवतीका अनुसार उनी त्यति बेला १६ वर्षकी थिइन् ।

हाल ती युवतीले पीडकको नाम खुलाएकी छैनन् । आफूसंग भएको प्रमाण पनि सन् २०१८ तिर डिलिट गरेको उनको भनाइ छ । आफू असहाय महसुस गरिरहेको बेलामा त्यतिखेरकी मिस नेपाललाई फोन गर्दा उल्टै हतोत्साही बनाउने गरी जवाफ पाएको आरोप लगाएकी हुन् । यद्यपि,ती युवतीले मिस नेपालको नाम भने खुलाएकी छैनन् ।

तर,यस प्रकरणमा पूर्वमिस नेपाल माल्भिका सुब्बा मुछिएकी छन् । महिला अभियन्तासमेत रहेकी पूर्वमिस नेपाल सुब्बाको यतिबेला सामाजिक सञ्जालमा आलोचना गर्नेहरुको लाइन लागेको छ । आफूमाथि घटेको अन्यायबारे पूर्वमिस नेपाललाई जानकारी गराउँदा झनै हप्काएको सार्वजनिक भिडियोमा छ । एउटी महिला भएको नाताले,अर्की बालिकालाई समर्थन गर्नुपर्ने होइन ? ती युवतीले भनेकी छन् । त्यतिखेर सुब्बा ३३ वर्ष भएको बताइएको छ ।

युवतीका अनुसार ती पूर्वमिस नेपाल उक्त सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर थिइन् । “म उहाँको सानैदेखि प्रशँसा गर्थेँ । किनभने, उहाँले यस्ता प्लेटफर्महरूमार्फत महिला अधिकारका आवाजहरू उठाउँदै आउनुभएको थियो ।

त्यसैले मैले उहाँलाई ममाथि भएका सबै घटनाबारे सुनाएँ । तर, उहाँले मलाई तिमी आफ्नो समस्या मलाई किन सुनाइरहेकी छौ, तिमी बलात्कृत हुनु भनेको तिम्रो समस्या हो, मलाई किन सुनाइरहेको भन्दै फोन काट्नुभयो,” युवतीले भिडियोमा भनेकी छन् । यता, पूर्वमिस नेपाल सुब्बाले यसघटनाप्रति क्षमायाचना मागेकी छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफूले पीडितलाई सहयोग नगरेर गल्ती गरेको भनेकी छन् । पीडितको तर्फबाट माफी पाउँछु भनेर पनि नसोचेको उनले बताइन् ।

पीडित आफूमाथि भएको हिंसाविरुद्ध बोलेपछि उनको पक्षमा सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ । ती युवतीको न्यायको मागसमेत गरिएको छ । यता नेपाली सेलिब्रेटीहरुले ती युवतीको हिम्मत बढाएका छन् । पूर्व मिस नेपाल श्रृङखला खतिवडा, अभिनेता आयुष्मान देशराज जोशी, प्रिंयका कार्कीलगायतले उनको हौसला बढाएका हुन् । भिडियोमा मुछिएका एक जना फोटोग्राफरले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । उनले उक्त भिडियोलाई आधार बनाएर उनको नाम र तस्बिर प्रयोग भएकोमा दुःखेसो पोखेका छन् ।

श्रीधर पौडेलले आफू पेशाले फोटोग्राफर भएको र फोटो खिच्नु आफ्नो धर्म भएको बताएका छन् । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले एउटा फोटोसुट गरिदिनुपर्यो भनेपछि अनलाइनखबरको स्टुडियोमा लगेर फोटो खिचेको उनको भनाइ छ । पौडेलले भनेका छन्,‘ यसमा मेरो संलग्नता भनेको स्टुडियोमा फोटो खिचिदिने र त्यसवापत पाण्डेसँग पारिश्रमिक लिने हो । एजेन्सी र क्लाइन्टवीच के कति पारिश्रमिकमा कुरा भएको हुन्छ त्यसमा मेरो सरोकार हुन्न ।’

प्रमाण भयो भने मुद्दा दर्ता हुन्छः वरिष्ठ अधिवक्ता

वरिष्ठ अधिवक्ता शशी अधिकारीले कुनै प्रमाण भएमा मुद्दा दायर गर्न सक्ने बताइन् । नेपालमा बलात्कारविरुद्ध कडा कानुन भएपनि हदम्याद नाघिसकेको हुनाले मुद्दा दायर गर्न नमिलेको उनको भनाइ छ । ‘कानुनी व्यवस्थामा एक वर्षको हदम्याद छ । पीडितले एकवर्षभित्र बलात्कृत भएको उजुरी दिइसक्नुपर्नेछ ’ वरिष्ठ अधिवक्ता अधिकारीले भनिन् । यो घटना घटेको धेरै वर्ष भइसकेकाले पनि कानुनी उपचार खोज्न अप्ठयारो परेको उनी बताउँछिन् ।

टिप्पणीहरू