समावेशिता भन्ने माओवादीमै महिला कम

समावेशिता भन्ने माओवादीमै महिला कम

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । धेरै मतदाता भएका केही ठूला नगर,उपमहानगर र महानगरका बाहेक अधिकांश ठाउँको परिणाम आइसकेको छ । मतदानको आठौँ दिन आज दिउँसोसम्म करिब साढे छ सय पालिकामा हारजीतको छिनोफानो भइसकेको छ ।

निर्वाचन परिणाम सार्वजनिक भइरहँदा स्थानीय सरकारमा महिलाको नेतृत्व निकै कमजोर देखिएको छ । हाल परिणाम सार्वजनिक भएका साढे छ सय स्थानीय तहमा जम्मा १८ जनामात्रै महिला प्रमुख निर्वाचित भएका छन् ।

संविधानअनुसार राजनीतिक दलले प्रमुख र उपप्रमुख फरक लिङ्गबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । तर, प्रमुख राजनीतिक दलहरुले महिलालाई विश्वास गरेर प्रमुखको टिकट दिन नचाहेकाले स्थानीय सरकारमा महिलाको मुख्य नेतृत्व कमजोर बनेको हो । गठबन्धन गरेर चुनावमा गएका प्रमुख राजनीतिक दलहरुले दुवै पदमा पुरुष उठाएकाले यसपटक उपप्रमुखमा समेत महिलाको सहभागिता कम भएको छ ।

हालसम्म एमालेका १८२ जना प्रमुख निर्वाचित हुँदा जम्मा आठ जना महिला छन् । २९४ प्रमुख पद जितेको काँग्रेसबाट छ जना र ११२ प्रमुख पाएको माओवादीका तीन जना महिला छन् । एकीकृत समाजवादीबाट पनि एक जना महिला उम्मेदवारले मात्र प्रमुख जितेकी छन् ।

एमालेले ११८ गाउँपालिकाको अध्यक्ष जित्दा चार जना महिला र बाँकी सबै पुरुष छन् । मोरङको कानेपोखरीमा राजमति इङ्गनाम, पर्वतको मादीमा हिरादेवी शर्मा, सिन्धुलीको पिक्कलमा पार्वती सुनुवार र पाल्पाको बगनासकाली गाउँपालिकामा सरस्वती दर्माली अध्यक्षमा चुनिएका हुन् ।

एमालेले जितेका ६१ नगरपालिकामा चार जना मेयर महिला छन् । चितवनको माडीमा ताराकुमारी काजी महतो,सुर्खेतको वीरेन्द्रनगरमा मोहनमाया भण्डारी, रौतहटको मौलापुरमा रिनाकुमारी साह र नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा विमला अर्यालले जितेका हुन् ।

सबैभन्दा बढी पालिका जितेको काँग्रेसबाट जम्मा छ जना महिलाले स्थानीय सरकारको नेतृत्व पाएका छन् । काँग्रेसले १८० वटा गाउँपालिका अध्यक्ष जित्दा चार र १०६ नगरपालिकाको नेतृत्व पाउँदा दुई जना महिलाले जितेका छन् ।

बागलुङको बडिगाडमा गण्डकी थापा अधिकारी,दैलेखको भैरवीमा रिताकुमारी शाही,नवलपुरको हुप्सेकोटमा लक्ष्मीदेवी पाण्डे र खोटाङ लिखुपिके गाउँपालिकाको अध्यक्षमा मीनादेवी कार्की विजयी भएका हुन् । काँग्रेसबाट नगरप्रमुखमा अछामको पञ्चदेवल विनायकमा अम्बिकाकुमारी चलाउने र सप्तरीको सुरूगामा गीता चौधरीले जितेका हुन् ।

आफूलाई समावेशिताको पक्षधर दाबी गर्ने नेकपा माओवादी केन्द्रले पनि यो चुनावमा महिलालाई पत्याएको देखिएन । माओवादीले २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ स्थानीय तहमा नेतृत्व लिँदा जम्मा तीन जना महिला उम्मेदवारले जितेका छन् । माओवादीबाट काभ्रेपलाञ्चोक चौंरीदेउरालीको अध्यक्ष रेनुका चौलागाईं,सिन्धुली सुनकोशीकी दिपा बोहोरा र खोटाङको जन्तेढुंगामा अरूणादेवी राईले चुनाव जितेका हुन् ।

टिप्पणीहरू