बालेनको अग्रतामा किन न्यानो महसुस गर्छन् दरबारियाहरु ?

बालेनको अग्रतामा किन न्यानो महसुस गर्छन् दरबारियाहरु ?

बालेन शाह एक सामान्य र्‍यापर गायक थिए केहि महिना पहिलासम्म । अहिले उनको चर्चा दिन दुई गुणा रात चार गुनाको हिसाबले चुलिँदो छ,अहिले त मुलुकमा उनलाई नचिन्ने सायदै होलान् । के बृध्द बृध्दा,के बालबालिका उनलाई सबैले मन पराएका छन् ।

कुनै पनि राजनीतिक पार्टीले नपत्याएर वास्तै नगरेका स्वतन्त्र उम्मेदवारले काठमाण्डौ महानगर पालिकाको मेयर पदमा शुरुदेखि नै अग्रता लिइरहेका छन् । ठूला दलहरुको लागि बालेन चुनौती बनेर राजनीतिमा उदाएका देखिन्छन् । किन स्वतन्त्र उम्मेदवारलाई जनताले पहिलो प्राथमिकतामा राखे ? पुराना दलहरुबाट जनताले किन विकल्प रोज्दैछन् भन्ने विषयमा राजनीतिक पार्टीले गम्भीर समीक्षा र सुध्रिनु पर्ने चुनौती थपिएको छ।

ईन्जिनियर पृष्ठभूमि भएका साहले ५ बर्षदेखि काठमाण्डौ महानगरको मेयरमा निर्वाचन लड्ने तयारी गरेको बताउँदै आएका थिए। शुरुमा त कसैले पत्याएनन्न खिसी ट्य़ुरी गर्दै उडाए,उनको पश्चिमी संस्कार झल्कने र्याप गीतलाई लिएर आलोचना गर्नेहरु पनि धेरै थिए तर बालेन आफ्नो राजनीतिक यात्राको बारेमा नडगमगाई मतदातामाझ जान थाले । अन्तत: उनलाई मतदाताहरुले पत्याउने वातावरण पनि बन्यो ।

बालेनको थर साह भएकै कारण पनि केहि आलोचकले उनलाई दरबारसङ्ग जोडेर आलोचना गर्ने गरेका छन्,राजनीतिमा आउँदै गर्दा पारिवारिक पृष्ठभूमिको बारेमा धेरै कुराहरु सार्वजनिक भएका थिए। बालेनका बुबा दरबारका आयुर्वेदिक डाक्टर हुन् भन्ने समाचार बाहिर आएपछि उनलाई दरबारबाट परिचालित हो भनेर पनि चित्रण गर्न थालियो।

एकथरि दरबारियाले त हाम्रै उम्मेदवार हो पनि भन्न भ्याए । राजा र बिशुध्द हिन्दू धर्मको कुरा गर्ने राप्रपाले उनको काठमाण्डौ महानगरमा भएको अग्रताको न्यानो ताप्न थालेको छ। यतिसम्म कि बालेनलाई हाम्रै चुनाव चिन्हबाट लड्न सुझाएको पनि भनिएको छ । स्वतन्त्र व्यक्तिलाई जबर्जस्त कुनै न कुनै राजनीतिक दलको हिलो छ्याप्ने काम केहीले गर्न थालिसकेका छन् ।

आफ्नो पार्टीको न राजनीतिक आधार,न सांगठानिक गतिविधि,न टेक्ने भुइँ,न समाउने हाँगोजस्तो बनेको राप्रपा ज्ञानेन्द्रको सहयोगबाट कति समय चल्ने हो त्यो देखिँदै जाला । अभियन्ताको नाममा करोडौँ कमाएर चोखो हुनलाई राप्रपाको अनौ समाउन पुगेकाहरु आज भ्रामक कुराको प्रचारबाजी गर्दै छन्।

मरेको लाशलाई काखी च्यापेर सोझो लिम्बुको छोरोलाई नागार्जुनले देश दौडाएको पत्तो छैन लिङ्गदेनलाई । आफ्नै काँधमा बन्दुक राखेर पड्काउँदा पनि झुम्म भएर बसेको त्यो जनजातिको छोरो ब्युँझिसकेको छैन । तर पनि केहि बाठाहरु बालेनको स्वतन्त्रतासंग जश लिन खोजिरहेका छन् ।

बालेन शाहको राजनीतिमा जसरी प्रवेश र चर्चा भयो त्यस्तैगरी उनको आत्मविश्वासले पनि आम जनताको मन जितेको छ । म जित्छु भन्ने उनको दृढता देख्दा हँसिमजाक जस्तै ठान्नेहरु पनि बग्रेल्ती थिए बजारमा ।

अझ अर्को रोचक पक्ष त कति मत ल्याएर जित्नु हुन्छ भन्ने जो कोहीको प्रश्नमा उनको एउटै जवाफ हुन्थ्यो- ९० हजार ८ सय ३५ । म ईन्जिनियर हुँ,मैले मतदाताबाट पाउने मतको पनि राम्रोसंग डाटा निकालेको छु,म जित्छु भन्ने उनको महत्वकांक्षालाई सुन्नेहरु पागलपनको दोष लगाउँथे तर आज उनले भनेको कुरा मिल्दै जान लागेको छ ।

हुन त अझै पनि नतिजा उल्टिदैन भन्न पनि सकिन्न तर उनको अग्रता र गणना भएको मतको आधारमा हेर्ने हो भने अब दोस्रो प्रतिस्पर्धीले उछिन्ने सम्भावना भने कमै देखिन्छ।

टिप्पणीहरू