सिन्धुपाल्चोकमा एमाले पहिलोबाट तेस्रोमा झर्यो

सिन्धुपाल्चोकमा एमाले पहिलोबाट तेस्रोमा झर्यो

१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोक जिल्लाका सात वटा पालिकाको प्रमुख जितेर अघिल्लो चुनावमा पहिलो दल बनेको नेकपा एमाले यसपटक तेस्रोमा खुम्चिएको छ । मतगणनाको सम्पूर्ण परिणाम सार्वजनिक हुँदा एमाले पहिलोबाट तेस्रोमा झरेको हो ।

एमालेले २०७४ को चुनावमा जुगल, त्रिपुरासुन्दरी,पाँचपोखरी,बलेफी र लिसंखुपाखर गरी पाँच गाउँपालिकामा अध्यक्ष जितेको थियो । मेलम्ची र बाह्रबिसेमा मेयर जितेको थियो । यसपटक इन्द्रावती, सुनकोशी र पाँचपोखरी थाङपाल गाउँपालिका मात्रै जितेको छ । अघिल्लो पटक जितेका सबै पालिका गुमाएको एमालेले नयाँ पालिकामा जीत हात पारेको हो ।

गत चुनावमा जम्मा तीन तह जितेको काँग्रेसले यसपटक पाँच पालिकामा नेतृत्व लिएको छ । यसअघि एउटै नगरपालिका जित्न नसकेको काँग्रेसले अहिले बाह्रबिसे र मेलम्ची नगरपालिका एमालेबाट खोसेको छ । भोटेकोशी,हेलम्बु र त्रिपुरासुन्दरी गाउँपालिका काँग्रेसले पाएको छ ।

नेकपा माओवादी केन्द्रले यसपटक चार वटा पालिका जितेको छ । अघिल्लोचोटी दुई तहमा सीमित माओवादीले यसपाली दुई पालिका थपेको हो । चौतारा साँगाचोकगढी नगरपालिका जोगाएको उसले भोटेकोशी गुमाएर बलेफी, लिसंखुपाखर र जुगल गाउँपालिका एमालेबाट खोसेको छ ।

जिल्लाका १०३ वडामध्ये काँग्रेसले ५३,एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।

चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा ९ हजार ७२६ मत ल्याएर निर्वाचित भएकी छन् । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

बाह्रबिसेको प्रमुखमा काँग्रेसका बालकृष्ण बस्नेत ७ हजार ७२८ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा नेपाली काँग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित भइन् । मेलम्ची प्रमुखमा काँग्रेसका आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी हासिल गरिन् । नगरपालिकामा काँग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो ।

जुगल गाउँपालिका अध्यक्षमा माओवादीका रेशम स्याङ्बो ५ हजार ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा कांँग्रेसका हिमालकुमार श्रेष्ठ ४ हजार ६८९ मत ल्याएर विजयी भए । पालिकामा माओवादी केन्द्र र काँग्रेसबीच तालमेल भएको थियो । त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेसका भक्तध्वज बोहराले ४ हजार २२९ मत ल्याए भने उपाध्यक्षमा काँग्रेसकै गीताकुमारी नेपाल ४ हजार १५६ मत ल्याएर विजयी भइन् ।

पाँचपोखरी थाङपालमा माओवादी र काँग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा टासी लामा पाँच हजार ६०८ र एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएकी छन् । यहाँ अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका हुन् ।

बलेफी अध्यक्षमा माओवादीका गंगाबहादुर तामाङले ४ हजार ६६६ मत प्राप्त गरे भने उपाध्यक्षमा काँग्रेसकी सरु लामा तामाङ ४ हजार ३९४ मत ल्याएर निर्वाचित भएका छन् । यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । भोटेकोसी अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले २ हजार ६०५ मत ल्याए भने उपाध्यक्ष काँग्रेसकै दिछेन शेर्पा २ हजार ७१२ मत ल्याई निर्वाचित भएका छन् ।

इन्द्रावती अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मत ल्याएर विजयी भए । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन् । लिसंखुपाखर अध्यक्षमा माओवादीका राजु लामा तामाङ ३ हजार ९२५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३२ सय ५१ मत ल्याइन् ।

सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याए । उपाध्यक्षमा काँग्रेसकी कान्छी लामा ५ हजार ९०५ मत ल्याई विजयी भइन् । पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । हेलम्बु अध्यक्षमा काँग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई फेरी दोहोरिए । उपाध्यक्षमा काँग्रेसकै अप्सरा लम्साल लामिछाने ५२ सय १४ ल्याई विजयी भइन् ।

टिप्पणीहरू