एमाले अध्यक्षको निर्वाचन क्षेत्रमा पहिरो, संकट गहिरो

एमाले अध्यक्षको निर्वाचन क्षेत्रमा पहिरो, संकट गहिरो

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट स्थानीय निर्वाचनमा पार्टीको अवस्था निकै कमजोर देखिएको छ । यसअघि जितेका कतिपय पालिका र वडा एमालेले गुमाएको छ ।

आगामी सात महिनापछि हुने प्रदेश तथा संघीय संसदको निर्वाचननिम्ति अहिलेको परिणामले एमाले नेतृत्वलाई झस्काइदिएको हुनुपर्छ । आफ्नै निर्वाचन क्षेत्रमा पार्टी अध्यक्षले विरासत कायम राख्न नसकेपछि उहाँनिकट नेताहरुले समेत गाईंगुईं गर्न थालेका छन् ।

गत शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा झापाको निर्वाचन क्षेत्र नम्बर ५ का केही पालिका र वडामा एमाले पराजित भएको छ । गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ नम्बर वडा एमाले अध्यक्षको निर्वाचन क्षेत्रमा पर्छ ।

दमक नगरपालिका

दमक नगरपालिका प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा १७ हजार ७ सय २५ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा नेपाली काँग्रेसकी रेगिना भट्टराई १७ हजार ७ मत ल्याएर विजयी बनिन् ।

एमालेले १,२,३,५,६,८ र ९ गरि सात वटा वडा अध्यक्ष जितेको छ भने काँग्रेसले ४ र १० नम्बर गरी दुई वटा वडामा अध्यक्ष जितेको छ । ७ नम्बर वडा राप्रपाको पोल्टामा गएको छ ।

कमल गाउँपालिका

कमल गाउँपालिका प्रमुखमा काँग्रेसका उम्मेदवार हुकुमसिंह राई पाँच हजार एक सय ६१ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपानेले जितेकी छन् । उनले चार हजार ४७ मत पाइन् ।

वडाहरुमध्ये १ नम्बरमा काँग्रेसले जितेको छ । २ नम्बरमा एकीकृत समाजवादीले जितेको छ । ३ नम्बरमा एमालेले जितेको छ भने बाँकी तीन वटा वडाको मत परिणाम निर्वाचन आयोगले साइटमा अपडेट गरेको छैन ।

गौरादह नगरपालिका

गौरादह नगरपालिका प्रमुखमा एमालेका छत्रपति सुवेदीले १० हजार ४ सय ९३ मत ल्याएर जितेका छन् । उपप्रमुखमा पनि एमालेकै जलवर्षा राजवंशी विजयी बनेकी छन् ।
वडा अध्यक्षहरुमा एमालेले ९ वटामध्ये ६ वडा जितेको छ भने काँग्रेसले २ नम्बर र ६ नम्बर गरी जम्मा दुई वटा जितेको छ । स्वतन्त्रले ३ नम्बर वडाध्यक्षमा जीत हासिल गरेको छ ।

गौरीगञ्ज गाउँपालिका

गौरीगञ्ज गाउँपालिका अध्यक्ष काँग्रेसका फूलावती राजवंशीले एक हजार छ सय चार मतले जितेका छन् । उपाध्यक्षमा एमालेका पुजन न्यौपाने एक हजार तीन सय ६१ मतले विजयी भएका छन् । एमालेले छ वटा वडामध्ये १,३,४,५ र ६ नम्बर गरी पाँच वटामा जितेको छ भने माओवादी केन्द्रले एउटा वडा हात पारेको छ ।

टिप्पणीहरू