इट्टा भट्टामा मान्छे पोल्ने नेताका छोराले मेयर जिते

इट्टा भट्टामा मान्छे पोल्ने नेताका छोराले मेयर जिते

जिउँदो मान्छेलाई आगोमा पोलेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल परेका पूर्वमन्त्री तथा काँग्रेस नेता मोहम्मद आफ्ताब आलमका कान्छा छोरा मेयर चुनिएका छन् । कांग्रेसबाट टिकट पाएका उनले रौतहट,राजपुर नगरपालिकाको मेयर जितेका हुन् ।

पिता जेलमा परेका बेला राजनीतिको लिगेसी सम्हाल्न मैदानमा उत्रिएका पुत्र मोहम्मद राजिक आलमले जसपाका उम्मेदवारलाई भारी मतले हराएका हुन् । निकटतम प्रतिस्पर्धी जसपाका मोहम्मद जैद आलमको भन्दा उनले साढे २ हजार बढी मत पाए । उनले ६ हजार ३३५ भोट पाउँदा जैदले तीन हजार ७५१ भोट ल्याएका थिए ।

उपमेयर पनि कांग्रेसकै उम्मेदवार जमिला असगरीले जितेकी छन् । उनले ६ हजार २६८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जसपाका चिन्ताकुमार कलवारले तीन हजार ६२९ मत पाइन् ।

नवनिर्वाचित मेयरका पिता आफ्ताब आलमविरुद्ध विस्फोटक पदार्थ प्रयोग गरी मान्छे मारेको अभियोग छ । पहिलो संविधानसभा चुनावका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए । घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

फौजदारी मुद्दामा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएपछि सांसद पद निलम्बनमा छ ।

टिप्पणीहरू