संसदभित्र बलात्कारको विषय प्रवेश

संसदभित्र बलात्कारको विषय प्रवेश

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आठ वर्षअघि बलात्कृत युवतीलाई न्याय दिन माग गर्नुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा उहाँले घटनामा संलग्न दोषीलाई कारबाही गरी त्यो बेलाकी किशोरी र अहिलेकी युवतीलाई न्याय दिलाउन माग गर्नुभएको हो । उहाँले बलात्कारबारे उजुरी गर्न कानुनमा रहेको हदम्यादको व्यवधानमाथि पुनर्विचार गर्नुपर्नेतर्फ संसदमा कुरो उठाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हिजो साँझ घर जाँदा श्रीमती र दुईवटी सानी छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको भिडियो हेरिरहेका थिए । भिडियोमा आठ वर्ष अगाडि आफूलाई बलात्कार गरेको घटनाबारे उनले बताइरहेकी थिइन् ।

त्यो हेरिरहेको,त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको,मेरी छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु । त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिले सम्माननीय सभामुखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले उक्त विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सोसम्बन्धमा तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू