स्थानीय तह निर्वाचनका रोचक पक्ष

स्थानीय तह निर्वाचनका रोचक पक्ष

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आइरहेको छ । निर्वाचनमा भएका केहि रोचक र फरक प्रसंगलाई हामीले समेटेका छौं ।

फराकिलो मतान्तर

हालसम्मको नतिजाअनुसार भक्तपुर नगरपालिकामा उपप्रमुख जितेकी नेपाल मजदुर किसान पार्टीकी रजनी जोशीले हालसम्म सबैभन्दा फराकिलो मतले जितेकी छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाको भन्दा २६ हजार ९११ मत बढी ल्याएकी हुन् । सोही नगरपालिकाका मेयर सुनिल प्रजापतीले निकटतम प्रतिस्पर्धी रामप्रसाद कासुलाको भन्दा २५ हजार ८४८ मत बढी ल्याएका छन् ।

कम मतान्तर

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा मतअन्तर रोचक बन्यो । पालिका उपाध्यक्षकी उम्मेदवार कृष्णकुमारी कडरियाले प्रतिस्पर्धीले भन्दा एक मत बढी ल्याएर जीत हासिल गरिन् ।

त्यस्तै तनहुँनबन्दीपुरको उपाध्यक्षमा उम्मेदवार भएकी पञ्चमाया गुरुङ र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन आफ्ना प्रतिस्पर्धीभन्दा केवल दुई मत बढी पाएर निर्वाचित भएका छन् । उता मलंगवाकी उपप्रमुख शकुन्तला देवी साह प्रतिस्पर्धीको तुलनामा मात्रै चार मत बढी ल्याएर विजयी भइन् ।

कान्छो र पाको उमेरका जनप्रतिनिधि

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्षमा विजयी वशिष्ठकुमार हालसम्मका सबैभन्दा कम उमेरका जनप्रतिनिधि बन्न पुगेका छन् । जनता समाजवादी नेपालबाट प्रतिनिधत्व गरेका वशिष्ठ २१ वर्षका मात्रै छन् । उता काँग्रेसबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्षमा विजयी राम पदारथ साह तेली सबैभन्दा पाका उमेरका जनप्रतिनिधि हुन् । तेली अहिले ८० वर्षका छन् ।

महिला जनप्रतिनिधिमा हालसम्मका जेष्ठ प्रतिनिधि झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी लक्ष्मीदेवी मैनाली हुन् । उनी ७७ वर्षकी भइन् । केही पालिका, उपमहानगर र महानगरको नतिजा आउन भने बाँकी नै छ ।

टिप्पणीहरू