एमाले अध्यक्षको गृहजिल्लामा शून्य मत ल्याउने को को भए ?

एमाले अध्यक्षको गृहजिल्लामा शून्य मत ल्याउने को को भए ?

शुक्रवार दिउँसो दमक नगरपालिकाको मतपरिणाम सार्वजनिक भयो । यहाँ राप्रपाका रामकुमार थापा १७ हजार ५२५ मतका साथ मेयर बने । कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मत ल्याएर उपमेयर निर्वाचित भइन् ।

उनीहरु सर्वाधिक मत प्राप्त गरेकाले विजयी बने,दमकमा पराजित हुनेहरुमध्ये चाहिँ सबैभन्दा कम मत कसले पायो त ? हामीले निर्वाचन कार्यालयको वेबसाइटमा नजर डुलाउँदा दमकमा सबैभन्दा कम अर्थात् शून्य मत प्राप्त गर्ने दुईजना उम्मेदवार देखिए ।

उनीहरु दुबै स्वतन्त्र उम्मेदवार हुन् । भुइँकटहर चुनाव चिन्हवाली उपमेयरकी स्वतन्त्र उम्मेदवार रुक्मीणा बिष्ट अधिकारीले शून्य मत प्राप्त गरेको देखिन्छ । त्यस्तै, दमक–३ का लागि वडाध्यक्ष पदमा उम्मेदवारी दिएका खानेपानीको धारा चुनाव चिन्हवाला गणेशबहादुर थापाले पनि शून्य मत प्राप्त गरेको निर्वाचन आयोगको वेबसाइटले जनाएको छ ।

के उनीहरु आफैँले आफैँलाई पनि मत हालेनन् त ? यस विषयमा सर्वसाधारणको फरक फरक अनुमान छ । कोही भन्छन्, ‘उम्मेदवार स्वयमले हालेको एकमात्र मत पनि बदर भएको हुनसक्छ ।’

राजनीतिक दलले नै योजनावद्ध रुपमा स्वतन्त्र उम्मेदवारी दिन लगाएकाले पनि यस्तो भएको कसैको तर्क छ । ‘मतगणनास्थलमा प्रतिनिधि बढाएर बदर मतलाई पनि सदर पार्नका लागि दलले नै यस्तो योजना बनाएको हुन्छ,स्वतन्त्रझैं देखिए पनि उनीहरु राजनीतिक दलकै मान्छे हुन्छन्,’ विनोद सापकोटा नाम गरेका झापाका मतदाता भन्छन्, ‘स्वतन्त्र उम्मेदवारी दिएपछि मतगणनास्थलमा प्रतिनिधि भएर आफ्नो दललाई सहयोग पुर्याउने काम गर्छन् । उनीहरुले स्वयंलाई पनि भोट नहालेर दलका उम्मेदवारलाई नै हाल्छन्, त्यही भएर शून्य मत देखिएको हो ।’

टिप्पणीहरू