झापाको दमक पनि गुमायो एमालेले,राप्रपाको जीत

झापाको दमक पनि गुमायो एमालेले,राप्रपाको जीत

-लक्ष्मी काफ्ले

राप्रपा नेता रामकुमार थापा दमक नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई ५५९ मतान्तरले पछि पार्दै मेयर जितेका हुन् ।

राप्रपा प्रदेश १ को अध्यक्षसमेत रहेका थापालाई दमकवासीले १७ हजार ५२५ मत दिएर मेयर चुनेका हन् । पराजित उम्मेदवार गीताकुमारीले १६ हजार ९६६ मत ल्याउन सकिन् ।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई विजयी भइन् । उनले एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालविरुद्ध ४९८ मतान्तरको जीत निकालेकी हुन् । रेगिनाले १७ हजार ७२ मत पाउँदा अम्बिकाले १६ हजार ५७४ मत बटुल्न सके ।

दमकमा यसअघि एमालेको दर्बिलो पकड रहँदै आएको थियो । यसपटक भने गठवन्धनविरुद्ध चुनावी मैदानमा जाँदा एमालेले मेयर तथा उपमेयर दुबै पदमा पराजय ब्यहोरेको हो । राप्रपा नेता थापा यसअघि पनि दमकको मेयरमा दुई पटक पराजित भएका व्यक्ति हुन् । एकपटक दमकको मेयर जितेरै छाड्ने उनको अठोट थियो । यसपटक सबैतिर राप्रपाले एक्लै निर्वाचन लड्ने निर्णय गरिसकेका बेला दमकमा भने गठबन्धन गरिएको थियो ।

दमकमा राप्रपाको राम्रो जनमत छ । यो कुरा बुझेरै कांग्रेस तथा माओवादी केन्द्रले थापालाई जिताउन गठवन्धन प्रस्ताव गरेका थिए । थापाले यो विषय केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुनाए । लिङ्देनबाट ‘ग्रीन सिग्नल’ पाएपछि दमकमा राप्रपा–कांग्रेस–माओवादी केन्द्र गठवन्धन बन्यो । राप्रपाले मेयर, कांग्रेसले उपमेयर तथा माओवादी केन्द्रले केही वडाध्यक्ष लिने समझदारी भयो ।

कांग्रेस–माओवादीले दमकमा राप्रपासँग गठबन्धन गरेपछि एमाले अध्यक्ष ओलीको मनमा ढ्याङ्ग्रो बजेको थियो । यसअघिकी उपमेयर रहेकी गीताकुमारीलाई मेयर जिताउन ओलीले अथक प्रयत्न पनि गरे । तर, ओलीको प्रयास सफल हुन सकेन ।

दमकलाई एमाले अध्यक्ष ओलीको गृहनगर भनिन्छ । तर, ओली स्थायी रुपमै काठ्माडौँ बस्छन् । ओलीले मतदाता नामावली पनि दमकबाट काठमाडौँ सारिसकेका छन् । उनी संसदीय निर्वाचन लड्न चाहिँ झापा नै आउने गरेका छन् । ओलीको दमकस्थित घरमा उनकै भतिजा रोमनाथ ओली बस्दै आएका छन् ।

भतिजा रोमलाई २०७४ को स्थानीय चुनावमा ओलीले मेयर बनाउन सफल भएका थिए । रोमनाथले अहिले मेयरमा निर्वाचित भएका राप्रपाका रामकुमार थापालाई ३ हजार १५१ मतान्तरले हराएका थिए । त्यसबेला थापा दोस्रो भए । रोमनाथले १० हजार ८०६ र थापाले ७ हजार ६५५ मत ल्याएका थिए ।

उपमेयरमा निर्वाचित कांग्रेसकी रेगिना भट्टराई अघिल्लो पटक पनि उपमेयरमै लडेकी थिइन् । त्यसबेला सबै दल एक्लाएक्लै लड्दा उनी उपविजेता भइन् । अहिले मेयरमा हारेकी गीताकुमारले त्यसबेला रेगिनालाई हराएर उपमेयर बनेकी थिइन् । २०७४ को चुनावमा गीताकुमारीले रेगिनालाई ३ हजार ७१३ मतले पछि पारेकी थिइन् । गीताकुमारीको १२ हजार ६२५ र रेगिनाको ८ हजार ९१२ मत आएको थियो ।

अहिलेको निर्वाचनमा एमालेले प्रमुख तथा उपप्रमुख पद गुमाए पनि वडाध्यक्षमा भने राम्रो मत ल्याएको छ । १० वटा वडा रहेको दमकमा राप्रपा–कांगेस–माओवादी केन्द्रको गठबन्धनसँग जुधेर पनि एमालेले ७ वडामा जीत निकालेको हो । कांग्रेसले २ र राप्रपाले एउटा वडामा जीत हात पारे । एमालेले वडा नम्बर–१, २, ३, ५, ६, ८, ९ को वडाध्यक्ष जित्दा कांग्रेसले वडा नम्बर ४ र १० तथा राप्रपाले ७ नम्बर वडामा वडाध्यक्ष जितेको छ ।

टिप्पणीहरू