आफ्नै अध्यक्ष केपी ओलीको गृहनगर पनि गुमायो एमालेले

आफ्नै अध्यक्ष केपी ओलीको गृहनगर पनि गुमायो एमालेले

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजयको घोषणा हुनै लागेको छ । एक हजार मत गणना हुन बाँकी छँदा राप्रपाका मेयर उम्मेदवार राम थापाले एमाले उम्मेदवारलाई ५३४ मतले पछाडि पारेका छन् ।

अब केहीबेरमा घोषणा हुन लागेको दमक नगरपालिकाको अन्तिम परिणामले एमाले र उसका अध्यक्षलाई अर्को पाठ सिकाउने राप्रपाको बुझाई छ । दमक र पूरै झापामा स्थानीय तहको निर्वाचन र आगामी प्रदेश तथा संघीय संसदको निर्वाचनसम्म गठबन्धन कायम राख्न नेपाली काँग्रेस,राप्रपा र माओवादीबीच लिखित सहमति भएको छ ।

यसअघि २०७४ को संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग तालमेल गर्नुभएको थियो । त्यो बेलाको तालमेलअनुसार ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले सहयोग गर्ने र राजेन्द्र लिंगदेनको क्षेत्रमा एमालेले सहयोग गरेर चुनाव दुई जनाले जितेका हुन् । त्यहि सहमतिको बलमा ओलीले संसदको निर्वाचनमा विजय हासिल गरेको आगामी मंसिरमा पाँच वर्ष पुग्दैछ ।

“एक हजार मत गणना हुन बाँकी छँदा राप्रपाका मेयर उम्मेदवार राम थापाले एमाले उम्मेदवारलाई ५३४ मतले पछाडि पारेका छन् ।”

स्थानीय तहको निर्वाचनअघि ओलीका प्रियपात्र तथा मेडिकल माफिया झापाका दुर्गा प्रसाईं उर्फ मार्सीले अहिलेको निर्वाचनमा माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई एउटा पालिकामात्रै जितेर देखाउन चुनौति दिएका थिए भने ओली स्वयंले यो चुनावबाट एकीकृत समाजवादी खरानी हुने ठहर गर्नुभएको थियो । उहाँले ठाउँ ठाउँमा भन्नु पनि भयो-देशभरबाट एक सीट मात्रै भए पनि जितेर देखाउनु तर भैदियो के भने माधव नेपालले एक्लै लडेर आफ्नो गृहनगर रौतहटका तीन वटा नगरपालिका जिताउन सक्नुभयो । कलम चिन्हका उम्मेदवार मतदान अगावै दुई वटा पालिकामा निर्विरोध भए ।

मार्सीले नेकपा एकीकृत समाजवादीले एउटा पालिका जितेमा आफू सबै श्रीसम्पत्ति छाडेर काशी जान तयार रहेको बताएका थिए । एमालेमा प्रवेश गरेका नवधनाढ्यहरुको चुरीफुरीले पार्टीभित्रका इमान्दार कार्यकर्ता र नेताहरु अप्ठेरोमा पर्दै गएको प्रसाईंका अभिव्यक्तिले समेत त्यतिबेलै पुष्टि गरेको थियो ।

टिप्पणीहरू