एमालेका मान्छेलाई सूर्यभन्दा हलो प्यारो ?

एमालेका मान्छेलाई सूर्यभन्दा हलो प्यारो ?

हेटौँडा उपमहानगरपालिकाको मतगणनामा अनेक थरिका मतपत्रहरु फेला परेका छन् । वडा नम्बर ४ को मतगणना गर्ने क्रममा मतपत्रमा ‘चोर नेता’ लेखेर ‘नो भोट’ को संकेत गरिएको थियो । सो घटना सार्वजनिक भइरहँदा मतपत्रमा लगाइएका स्वस्तिक छापले अनेकौं राजनीतिक अर्थ दिएको बताइन्छ ।

यसअघि लालकिल्ला बनेको हेटौँडा उपमहानगरपालिका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमेत मेयर भएर काम गरेको पालिका हो । तर, यतिखेर नेकपा एमाले फुटेपछिको निर्वाचनमा देखिएको मतपत्रमा एमालेजनले ‘हलो’ लाई मत हालेको अधिकाँश मतपत्रहरु हेरेर गणकहरु नै अचम्म मान्न थालेका हुन् । अप्रत्याशित रुपमा उम्मेदवार बनेका तर कमल थापाको समेत मत नपाएका राप्रपाका नेता दीपकबहादुर सिंहको मत देखेर गणकहरु नै छक्क परेका हुन् । यद्यपि उनी तेस्रो स्थानमा छन् ।

लामो समयदेखि हेटौँडामा नेकपा एमालेले जित्दै आएको थियो । यसपटक एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी, काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेर एमालेविरुद्ध मोर्चाबन्दी गरिएको थियो । गठबन्धनलाई धक्का दिन अध्यक्ष केपी शर्मा ओलीलाई समेत हुप्रचौरमा उतारेर एमालेले गरेको शक्ति प्रदर्शनलाई एमाले पक्षधर मतदाताले अस्वीकार गरेको पाइएको हो ।

हरेक वडाबाट मेयरमा हलो र बाँकी छ चिन्हमा सूर्य छाप भेटिएका मतपत्रहरु बग्रेल्ती भेटिएको छ । त्यसो त कम्युनिष्टसँग मिल्न हुँदैन भन्ने काँग्रेसजनले पनि पहिलो मत हलो र बाँकी मत रुखमा हालेको देखिन्छ । यसो हुँदा गठबन्धनकी उम्मेदवार मिना लामालाई निकै सहज भएको हो ।

आज साँझ ७ बजेसम्मको अवस्थामा हेटौँडा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी नेतृ लामाले अग्रतालाई कायमै राखेकी छन् । उनले नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई १२ सय ४५ मतान्तरले पछाडि पारेकी छन् ।

कूल ५७ हजार ७१५ मत गणना हुँदा लामाले अग्रता लिँदै १८ हजार ३० मत प्राप्त गरेकी छन् । एमालेका पौडेलले १६ हजार ८२८ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका दिपकबहादुर सिंहले १६ हजार १९५ मत पाएका छन् ।

कूल ७३ हजार ४१३ मत खसेकामा ५७ हजार ७१५ मत गणना भएको छ । अब १५ हजार ६९८ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १९ वटा वडा रहेको उपमहानगरमा काँग्रेसले सात वटा र एमालेले छ वटामा विजय हासिल गरिसकेको छ । अहिले वटा वडाको मतगणना भइरहेको कार्यालयले जानकारी दिएको छ ।

हेटौँडामा उपमेयरमा भने यसअघि ५ नम्बर वडामा वडाध्यक्ष रही काम गरेका राजेश बानियाँले ठूलो अग्रता लिइरहेका छन् । उनीविरुद्ध एमालेकी सुमित्रा काफ्लेलाई उभ्याइएको छ । उनीहरुबीचको मतान्तर सात हजार ३४४ छ । एमालेकी काफ्लेले १९ हजार १०२ र गठबन्धनका तर्फबाट काँग्रेसका बानियाँको २६ हजार ४४६ मत आएको छ ।

टिप्पणीहरू