एमाले नेत्री उषाले किन सम्झिइन् सौराहा ?

एमाले नेत्री उषाले किन सम्झिइन् सौराहा ?

स्थानीय निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भैरहेका बेला बुधवार एमाले केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले फेसबुकमा स्टाटस लेखिन् – “म सौराहा सम्झिरहेछु ।” गत मंसिरमा चितवनको सौराहामा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीको चाहना विपरित केन्द्रीय सदस्य निर्वाचित भएकी तिमिल्सिनाले पार्टीले हार व्यहोरिरहेका बेला सौराहा सम्झेपछि एमाले वृत्तलाई तरंगित बनायो ।

नुवाकोट घर भएकी तिमिल्सिना एमालेमा ‘१० बुँदे समूह’ की नेतृ हुन् । अध्यक्ष ओलीमाथि प्रश्न उठाउनेहरु किनारामा परेको दशौँ महाधिवेशनमा उनलाई भने सोच्दै नसोचेको केन्द्रीय सदस्य आइलागेको थियो । सौराहामा ओलीले वाचन गरेको केन्द्रीय सदस्यको लिष्टमा उनको नाम थिएन । ओलीको लिष्टमा सहमति नजुटेपछि चुनावी प्रक्रियामा जाँदा तिमिल्सिना पनि केन्द्रीय सदस्य उठेकी थिइन् । मतदान भएको भए भीम रावलले र घनश्याम भुसालले जस्तै उनले पनि हार्ने निश्चित थियो । तर,भैदियो के भने महिला कोटातर्फ ओलीको लिष्टमा नाम परेर पनि एक जनाले उम्मेदवारी दर्ता नगराएपछि उनी निर्विरोध निर्वाचित भइन् ।

त्यसरी केन्द्रीय सदस्य बनेकी तिमिल्सिनाले ०७४ सालको चुनावमा २९५ स्थानीय तह जितेर पहिलो पार्टी बनेको एमाले कम्तिमा सय सिट गुमाउने स्थितिमा पुगेका बेला सौराहा सम्झिनुको अर्थ महत्वपूर्ण छ । चुनावअघि अध्यक्ष ओली र निकट नेताहरुले गरेको ७० प्रतिशत स्थानीय तह जित्ने दाबी फेल खाएपछि ‘बा’ भन्नेहरु नै असन्तुष्ट भैरहेका बेला झन् बढी अर्थपूर्ण हुने नै भयो । जे होस्,महाधिवेशनका दौरान नेतृत्व चयनका सन्दर्भमा भएका अभ्यासको परिणाम अहिले चुनावी नतिजामा प्रकट भएको स्टाटसको संकेत बुझ्न सकिन्छ ।

“चुनावको केही दिनअघि एउटा अनलाइनसंगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘हामी ४० देखि ५० प्रतिशत जित्ने स्थितिमा छौँ, हाम्रो ट्रिक सफल हुँदा त्यो बढेर ६० प्रतिशत पनि पुग्न सक्छ ।’ तर, परिणाम ? भोटको ट्रेन्ड हेर्दा उनको पार्टी २० देखि ३० प्रतिशतमा थन्किने निश्चित छ । “

महाधिवेशनमा फरक विचार राख्नेहरुलाई ‘कत्लेआम’ गरिएको कतिपय एमाले नेताहरु अहिले पनि स्मरण गर्छन् । एमाले बनाउन लामो समय रगत,पसिना बगाएका र आन्दोलनमै लागेर कपाल फुलाएका नेताहरुलाई ‘दूधमा परेको झिंगा’ फ्याँकेझैँ पन्छाइएको थियो । केपी ओलीभन्दा तीन वर्ष बढी (१७ वर्ष) जेल बसेका झापा आन्दोलनका नेता नरेश खरेल,पुराना नेताहरु मनकुमार गौतम,टँक कार्की,भाष्कर काफ्ले,धर्मराज निरौला,सुरेन्द्र मानन्धरजस्ता,अनुभवी र खारिएका नेताहरु ‘बा’ प्रवृतिको कोपभाजनमा परेर अहिले एमालेको जिम्मेवारीमा छैनन् ।

पुराना नेताहरूलाई छानीछानी ‘कत्लेआम’ गरिँदा नवप्रवेशी र विवादित पात्रहरू भने रोजाइमा परेर केन्द्रीय जिम्मेवारीमा पुगेका छन् । पुराना र राजनीतिक चरित्र बोकेकालाई मिल्काएर कम्युनिष्ट आन्दोलनमा सुको योगदान नगरेका विवादित पात्रलाई पार्टीमा भित्र्याई चुनाव जित्ने केपी ओलीको रणनीति फेल भएको अर्थमा पनि एमालेको पराजयलाई विश्लेषण गरिएको छ ।

एमालेभित्रैबाट ओलीमाथि गम्भीर आरोप छ, ‘पार्टीलाई नितान्त प्राविधिक हिसाबले बुझ्ने र एक हुल मान्छे प्रवेश गरेपछि ‘चकाचक’ हुन्छ भन्ने मनोवृत्तिले यो दुर्दशा आइलागेको हो । माधव नेपाल, झलनाथ खनालहरुको बहिर्गमनको क्षतिपूर्ति ‘सुर्जेकुमारी’ हरुबाट गराउने ओलीको ‘ओभर कन्फिडेन्स”को शिकार बनेको गुनासो गर्नेहरु एमालेमा धेरै छन् ।

“जिल्ला पार्टीले पुराना नेता गणेश पण्डितको छोरा राजकुमार पण्डितलाई दुप्चेश्वर गाउँपालिकाको टिकट कन्फर्म गरिसकेको थियो । तर,माथिको निर्णय भनेर उनलाई ब्याक गराई नवप्रवेशीलाई टिकट दिइयो । “

१० बुँदेवाला एक नेता भन्छन्,”बिचार र राजनीति छोडेर चुनावलाई प्राविधिक विषय बनाइएपछि हार्ने नै हो । यो हुँदैछ भन्ने हामीलाई पहिले नै थाहा थियो ।’ चितवन महाधिवेशनबाट राजनीतिक व्यक्तिहरुको ठाउँमा प्राविधिक मान्छे भित्र्याइएका कारण पनि एमाले कमजोर बनेको उनको निष्कर्ष छ । ‘पवित्रा निरौलाहरूको ठाउँमा कोमल वलीहरु विश्वासिला भए । राजनीतिक सरसल्लाह भीम रावलहरुसँग हैन दुर्गा प्रसाईंहरुसँग गर्न थालियो अनि पार्टी कसरी बलियो हुन्छ ?’, ती नेता भन्छन्, ‘जब राजनीतिक मान्छेलाई विश्वास नगरेर बाहिरी मान्छे टिप्न थालिन्छ भने त्यसको परिणाम के हुन्छ ?’

त्यसो त, चुनावी रणनीति बनाउन बसेको एमाले केन्द्रीय कमिटी बैठकमा प्रदेशका संयोजकहरुले ७० प्रतिशतको हाराहारीमा स्थानीय तह जित्ने आकलनसहितको रिपोर्ट राखेका थिए । त्यतिबेलै केही नेताले ओलीलाई खुशी पार्न अवस्तुवादी रिपोर्टिंग आएको भन्दै असन्तुष्टी जनाएका हुन् । अध्यक्षलाई प्रसन्न बनाएर आफ्नो राजनीतिक भविश्य सुरक्षित पार्ने धरातलीय यथार्थभन्दा बाहिर गएर रिपोर्टिंग गर्नेहरुले हारको जिम्मेवारी लिनुपर्ने आवाज पनि एमालेका नेता-कार्यकर्ताहरुले उठाउन थालिसकेका छन् ।

जिल्लाका नेताहरुसँग सामान्य सोधनीसमेत नगरी काल्पनिक रिपोर्ट सुनाउनेहरुले टिकट वितरणमा पनि हालीमुहाली गरेको एक जना केन्द्रीय सदस्यले बताए । ‘ज-जसले ७० प्रतिशत जित्ने आधार देखाएर ओलीलाई हौस्याएका थिए,टिकट वितरणमा पनि तिनीहरुले नै ओलीलाई प्रभावमा पारे । र आफ्नालाई दिलाए’, सुनाउँछन्, ‘म पार्टीको केन्द्रीय सदस्य छु तर मेरै वडामा कसले टिकट पाउँदैछ भन्ने मलाई थाहा थिएन ।’

पार्टी फुटेको अवस्थामा पनि दुई तिहाइले जित्ने आकलन आफैंमा हावादारी थियो नै । यस्तो हावादारी आकलन प्रदेश अध्यक्षहरुले मात्र होइन,केपी ओलीका राजनीतिक सल्लाहकार तथा उपमहासचिव विष्णु रिमालले पनि गरेको सुनिएको थियो । चुनावको केही दिनअघि एउटा अनलाइनसंगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘हामी ४० देखि ५० प्रतिशत जित्ने स्थितिमा छौँ,हाम्रो ट्रिक सफल हुँदा त्यो बढेर ६० प्रतिशत पनि पुग्न सक्छ ।’ तर, परिणाम ? भोटको ट्रेन्ड हेर्दा उनको पार्टी २० देखि ३० प्रतिशतमा थन्किने निश्चित छ ।

अहिलेसम्म चुनाव नलडेका तर,उच्च राजकीय भूमिकामा पुगिसकेका रिमालको आकलन उनकै जिल्लामा पनि नराम्रोसँग फेल खाएको छ । नुवाकोटका १२ मध्ये ६ वटा स्थानीय तह जित्ने उनको विश्लेषण थियो । तर,माओवादीसँग तालमेल गरेको किस्पाङ्ग गाउँपालिकामा अध्यक्ष बाहेक अन्त कतै पनि एमालेले जित्न सकेन । यसअघि जितेका ३ वटा पालिका जोगाउन सहज नरहेको वस्तुगत यथार्थलाई नबुझिकन चुनावी रणनीति बनाएकाले नुवाकोटमा लज्जास्पद हार व्यहोर्नुपरेको त्यहाँका नेताहरु बताउँछन् ।

आफ्नो संगठनको भर नगरी बाहिरको टिप्न खोज्दा खल्तीको कसरी पोखिन्छ भन्ने उदाहरण पनि छ नुवाकोटमा । जिल्ला पार्टीले पुराना नेता गणेश पण्डितको छोरा राजकुमार पण्डितलाई दुप्चेश्वर गाउँपालिकाको टिकट कन्फर्म गरिसकेको थियो । तर,माथिको निर्णय भनेर उनलाई ब्याक गराई नवप्रवेशीलाई टिकट दिइयो । निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका काँग्रेस नेता योविन्द्र तामाङलाई एमालेमा प्रवेश गराएर हाताहाती टिकट थमाइएको थियो । बिहान कैलाशको हेलिकप्टरबाट बालकोट पुगी एमालेको टीको लगाई त्यहाँबाट टिकट लिएर नुवाकोट फर्केका उनले दिउँसो मनोनयन दर्ता गराएका थिए । तर,त्यहाँ एमालेले चुनाव जित्न सकेन,लज्जास्पद हार व्यहोर्यो ।

‘यसले के देखाउँछ भने जनता व्यक्तिका नाममा भोट हाल्न तयार छैनन्,बरु हामीले गरेका कामको मूल्यांकन गरिरहेका हुँदा रहेछन्’, अर्का एक एमाले नेताले भने । केपीलाई ‘बा’ भन्नेहरुले पार्टीमा फरक मत राख्नेहरुलाई गरेको असहिष्णु व्यवहारका कारण कतिपय ठाउँमा अन्तर्घात भएको पनि अनुमान गरिएको छ । ओलीका आलोचकहरुमाथि झम्टिने गोकुल बाँस्कोटा,विशाल भट्टराईका वडा र पालिकामै एमाले हार्नुमा यस्तै प्रवृत्तिहरु कारक रहेको बताइन्छ ।

टिप्पणीहरू