पाल्पा र सुनसरीमा परेको गाँठो अझै फुकेन, फर्जि र हस्ताक्षर नभएको मतको रडाको

पाल्पा र सुनसरीमा परेको गाँठो अझै फुकेन, फर्जि र हस्ताक्षर नभएको मतको रडाको

पाल्पामा शनिबारदेखि रोकिएको मतगणना कार्य अझै सुचारु भएको छैन । रम्भा गाउँपालिकामा स्थगित मतगणना खुलाउन गरिएको प्रयास अझै सार्थक नभएको हो ।

प्रारम्भिक परिणामप्रति सत्ता गठबन्धनमा सामेल दलहरुको असहमतिका कारण रम्भा गाउँपालिकाको मतगणना रोकिएको हो । गठबन्धन दलहरुले पुनः मतदानको माग गरेपछि शनिबारदेखि रोकिएको गणना अहिलेसम्म सुरू नभएको हो ।

पाल्पाका १० मध्ये नौ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । रम्भा–५ ताहुँको गतगणनाको क्रममा ७४ वटा फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको छ ।

उता धरान उपमहानगरपालिकाको मतगणनाको अन्तिम परिणाम घोषणामा व्यवधान उत्पन्न भएको छ । नेपाली काँग्रेसका पदमबहादुर लिम्बु चार मतको अन्तरले विजयी भएको घोषणाको तयारी गरिरहेको बेलामा एकाएक उक्त कार्य रोकिएको हो ।

मतपेटिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको १८ वटा मतपत्र भेटिएपछि स्थानीयवासी आन्दोलित हुँदा मतपरिणाम सार्वजनिक गर्न सकिएको छैन । यसबारे सुनसरी र धरानमा सम्बन्धित अधिकारीहरुले केही पनि बताउन चाहेका छैनन् ।

टिप्पणीहरू