काँग्रेस कार्यकर्ताद्वारा निर्घात कुटिएका एमाले कार्यकर्ताको ४ दिनपछि मृत्यु

काँग्रेस कार्यकर्ताद्वारा निर्घात कुटिएका एमाले कार्यकर्ताको ४ दिनपछि मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणनास्थलमै कुटिएपछि गम्भीर घाइते भएका छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको आज मृत्यु भएको हो ।

गत वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मतगणना भइरहेको बेला एमाले कार्यकर्तामाथि काँग्रेसका कार्यकर्ताले अकस्मात हमला गर्ने क्रममा तीन जना घाइते भएका थिए ।

घाइतेमध्ये शाही गम्भीर भएपछि हेलिकप्टरबाट उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगञ्जको भेरी अस्पतालमा पठाएको हो । तर, शल्यक्रिया गर्ने उपकरण नभएपछि नेपालगञ्जको नर्सिङ होम पठाइएको मृतक शाहीका आफन्तले जानकारी दिए ।

नेपालगञ्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृत्यु भएको मृतकका छोरा सागर शाहीले बताए । अन्य दुई जनाको भने अस्पतालमै उपचार भइरहेको छ । सोही घटनालाई लिएर नेकपा एमालेले खार्पुनाथ गाउँ कमिटीले शोक विज्ञप्ति निकालेको छ । घटनाको यथार्थ छानबिन गरी संलग्नहरूलाई कारबाही गर्न एमालेले माग गरेको छ ।

मृतकका आफन्तले सो घटनामा संलग्न नौ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन् । प्रहरीले जाहेरी आएको र अब घटनामा संलग्नहरुको खोजीकार्य सुरु भएको जनाएको छ ।

टिप्पणीहरू