अब त छर्लंग देखियो नि हैन त साथी !

अब त छर्लंग देखियो नि हैन त साथी !

– नरेन्द्रजंग पिटर

मिश्रका राजज्योतिष हुसे फिरात ताराका गति, दिशा र प्रभाव अध्ययन गर्दै गर्दा एक्कासि गहिरो इनारमा खसेछन् । उद्धारका लागि गुहार लगाइरहेका वृद्ध मनिषीलाई एकाबिहानै पानी लिन गएकी पँधेर्नीले देखेर डोरीको सहायताले इनारबाट निकालेपछि भनेछन्, ‘म फराओ अखनातेनको त्रिकालदर्शी राजज्योतिषी हुँ । युद्धमा जाँदा वा शुभ कार्य गर्दा हरेकचोटि फराओले मैसँग मुहुर्त निकाल्ने गर्छन् । मेरो उद्धार ग¥यौ, भन ..तिमीलाई के दिऊँ ?’

पँधेर्नी : तिमी को हौ ? के गर्छौ त्यो त मलाई थाहा छैन तर एक पाइला सामुन्नेको इनार नदेख्नेले अरुको के भविष्यवाणी गर्न सकौला ? के दिन सकौला ? भन्ने लाग्छ । पहिला आफु अगाडिको ठम्याउ, अनि मात्र अर्काको भविष्य भन !

तिनै त्रिकालदर्शी ज्योतिषझैँ सामुन्नेको चुनौती र सम्भावनाको आकलन गर्ने अवसर समयले सर्वज्ञता अहंकारग्रस्त कम्युनिष्टलाई दिएन । उनका सारा पूर्वानुमान ध्वस्त भए । पार्टी फुटे, कमरेडहरु नै शत्रु बने, गाली शास्त्रका महाकाव्य बने, जगहँसाइ भयो, मलाई नभए तँलाई पनि ध्वस्त गर्दिन्छु भनेर वर्ग संघर्षको हाँक लगाउन थालियो । पशुपति र रामजी गुहारियो ।

यी सबै कुरा कम्युनिष्टकै नाममा हुन थाल्यो । स्थानीय चुनावले भने सबैको औकात र अहंकार ह्वाह्वार्ती र छ्याङछ्याङती देखाइदियो । अझ अहंकार र तुष्टिकरणको खेलका कारण आफु नांगिएर अरुको बेइज्जत गर्ने कमरेडहरू नै सर्वांग भए । लाज छोप्न अन्तरघात वा धाँधलीका नयाँ तर्क कोरल्न थालियो । सबैले आ–आफ्ना हित अनुसारका तर्क उमार्छ । तर, तर्क र नियति परिणाममा आएर ठोक्किनेबित्तिकै सत्यको सामना गर्नुपर्ने हुन्छ ।

संघर्षले नै समाजको ठूलो मान्छे, आन्दोलनको प्रतीक व्यक्तित्व अनि क्रान्तिकारी महानायकको पनि सौन्दर्यकरण गर्छ । अवसर नपाइञ्जेल बनेका महानता र आदर्श मौका पाउनेबित्तिकै पानीका फोका, समुद्रका लहरजस्तै बिलाउँछन् । इतिहासले खलपात्रको रूपमा सम्झन पुग्छ । अझ सबभन्दा छिटो बजारको लिलामीमा बुद्धिजीवी चढ्छन् । त्यसैले शक्तिले कज्याउँछ । आन्दोलनले व्यक्तिलाई बिक्ने हैसियतको बनाइदिन्छ । बजारसँग किन्ने र बेच्ने ठूलो शक्ति हुन्छ ।

अहंकार ध्वस्त हुन तयार हुन्छ तर झुक्न सक्दैन । पराइसँग जति लम्पसार परे पनि आफन्तसँग लचिलो हुँदैन । भक्तजनको घेरामा रहेपछि संसार आफ्नै इशारामा चल्छ भन्ने भ्रम हुन्छ । रक्सीभन्दा सत्ताको नशा भयंकर हुन्छ, गद्दीबाट नउत्रेसम्म नशा टुट्दैन । भुइँका मान्छेहरू सिंगमरमरमा हिँड्न थालेपछि औकात बिर्सिएर चिप्लन्छन् । कमरेडहरूलाई आउने संसदीय चुनावको संकेत र सन्देश स्थानीय चुनावी रुझानले दिएकै छ ।

कम्युनिष्टहरू चर्चा र बहस गर्दा अन्तरिक्ष, सूर्यमण्डल, इतिहासको द्वन्द्ववादी व्याख्या, समाजशास्त्र र जीवविज्ञानको मानवदेखि मनेरासम्म, राजनीतिक अर्थशास्त्रका हरेक आयाम, दर्शन, राजनीतिक व्याख्या विश्लेषण त गर्छन् तर सामुन्नेका न सम्भावनाको आकलन गर्छन् न चुनौतीको लेखाजोखा । आदेशले समाज परिवर्तन हुन्छ भन्ने मान्यता राखेर मतदाता पनि हुकुमका दास सोच्न पुग्छन् ।

राजनीतिसँगै राजनीतिक संस्कृति नजोडिएपछि नेता मालिक र कार्यकर्ता पछुवा बनेर संगठनले व्यावसायिक चरित्रसम्म धान्न सक्दैन । तब संगठनको चालक शक्ति सिद्धान्त नभै स्वार्थ हुन्छ, स्वार्थले हैसियत कब्जा गरेर आर्थिक लाभमा पहुँच पु¥याउँछ । सबै किसिमको आर्थिक क्षेत्रको केन्द्र राजनीतिक सत्ता भएकाले नेतृत्वको चाकरी गरेर पदको सुरक्षा गर्ने जीवन लक्ष्य बनाएका हुन्छन् । आलोचनात्मक चेत नेता, कार्यकर्तामा हराएर निर्देशनले मत पाउने अपेक्षा गरिन्छ । तर, मतदाता हुकुमले चल्दैनन् ।

चुनावले निर्मम समीक्षा गर्ने आदेश कम्युनिष्टहरूलाई दिएको छ । तर, अहंकारले चेतनालाई विषालु बनाइदिएकाले ऐना हेर्नसक्ने हिम्मत भने उनीहरू राख्दैनन् । सिद्धान्तको राजनीतिक हितअनुसार व्याख्या हुन थालेपछि सुविधाअनुसार मित्र र सहयात्री छान्ने छुट भयो । आफन्त जारभन्दा टाढाका पराइमा फेरिए । सैद्धान्तिक, राजनीतिक र व्यावहारिक रुपमा पराइलाई आफन्त मानियो । त्यसले गठ त भए तर बन्धनमा बाँध्ने नैतिक साङ्लो भने भएन । आन्दोलन गर्न जान्ने तर सत्तामा पुग्नेबित्तिकै या त महाभ्रष्ट बन्ने या अहंकारले आफ्नै सिद्धान्तको धरहरा ध्वस्त भएको ख्यालै नगर्ने अवस्थामा पु¥याएको छ ।

सिद्धान्तहीन दुईखाले गठबन्धन नै कम्युनिष्ट हराउने लक्ष्य लियो । आवेग र आक्रोश बढाइयो । कम्युनिष्ट पार्टी फुट्नु र अझ चुनावमा गठबन्धनसमेत नहुनु संयोग मात्रै थिएन । यसै पनि सिद्धान्तहीन अभ्यास गर्दै रहेका नेपाली कम्युनिष्टहरू इतिहासका उत्तराधिकारी हैनन् ट्रेडमार्कका दावेदार मात्रै हुन् । उनको वर्ग र सोचप्रति टाढाको पनि साइनो छैन । त्यसको छनक आर्थिक नीति र साँस्कृतिक अभ्यासमा देखिन्छ । अझ चुनावमा मज्जैले नांगिएको छ ।

यो प्राविधिक कमजोरी र अज्ञानताको उपज मात्रै थिएन, सैद्धान्तिक विचलनले पैदा गर्ने अर्को रूप पनि हो । संगठन व्यापारीलाई, राजनीति गुण्डालाई बुझाउने र ट्रेडमार्किया बनेको पार्टीलाई कार्यकर्ताबाट जिन्दावाद र मूर्दावाद भनाउने हुकुम जनताले पत्याएनन् । कार्यकर्ताले विश्वास गरेनन् । नेतृत्वको रुखो बोली, मुढे तर्क र जिद्दी स्वभावले जनता मात्रै हैन कार्यकर्तासमेत वाक्कदिक्क बनेका थिए । निराशाको उदाहरण मतदान प्रतिशत र स्वतन्त्र उम्मेदवारको उपस्थिति हो ।

राजनीति व्यवसाय बनेकाले कांग्रेस र कम्युनिष्ट छुट्टिन सकेनन् भने दलबदल सहज र सरल बन्यो । दलबदलसँगै राजनीतिक व्यवसायीले इतिहासलाई भुल्न थाले तर इतिहासले भने उनलाई भुलेन । चुनावसम्म पुग्दा तर्क र आवेगले खडा गरेका अहंकारी भ्रमित सिसाका पर्दा तीतो यथार्थसामु झ¥यामझुरुम्म भए ।

चुनावसँगै मान्छेको स्तर पनि छताछुल्ल भयो । संगत र बसाइ फेरिएसँगै मान्छेका सोच र सपनालाई पनि असर पर्छ । परिस्थिति र मनस्थितिले सपनाका क्षेत्रफल फैलिन्छन् वा साँघुरिन्छन् । सुन्दरता, सत्य, विश्वास, मान्यता परिमार्जन वा खुम्चने गर्छन् । आग्रह, कुण्ठा, प्रतिक्रिया, गाली, औकात, धैर्य, घृणा, लालसा, चाकरी, गुलामी, बौद्धिकता, मूर्खता, निष्पक्षता, पक्षधरता, पाखण्ड, राजनीति व्यवसाय, क्षमता सबै ह्वाङह्वङती र छयाङछयाङती छ ।

आखिर यति कम मतदान कसरी भयो ? देशमै ६५ प्रतिशत र सबभन्दा शिक्षित भनिएको राजधानीमा भएको ५२ प्रतिशत मतदानले दिने सन्देश के हो ? ठूला दलका सामने भर्खर चर्चामा आएका नवप्रत्यासीले दिएको चुनौतीलाई के मान्ने ? एकातर्फ मतदाता निरास, अर्कातर्फ चुनावी बजारको गर्मी र महँगो चुनावले के सन्देश दिन्छ ? भोको पेट, अपमानित स्वाभिमान, अनिश्चित भविष्य, टुटेका सपना, ध्वस्त भएका व्यवसायीले जब राजनीतिक पार्टी र नेताका तामझाम र नाटक देख्छन् औधी आक्रोशित जनमतले या त मतदान नै गर्दैन या नानीमैयाँलाई जिताउँछ ।

अझ त्यो आक्रोश सडकमा पोखिएमा सत्ताका डण्डा त्यान्द्रो बराबर हुन्छन् । सम्मान बचाउन पनि ज्ञानीजन गौरवतालाई घृणा उम्रिने मौका दिँदैनन् । अहंकारले सत्यको सामना गर्न सक्दैन भने लालदासहरू शक्तिसँग राय बझाउन सक्दैनन् । संकेतले चेत्ने मान्छे हुन्छ भने परिणामले पछुतो मान्ने त पशु हुन्छ ।

टिप्पणीहरू