चितवनमा ठूलो परिमाणको लागुऔषध समातियो

चितवनमा ठूलो परिमाणको लागुऔषध समातियो

चितवनमा गएराति लागुऔषसहित प्रहरीले दुई जनालाई पक्रेको छ । खैरहनी नगरपालिका वडा नम्बर ८, पर्साबजार चौबिसकोठीमा लागुऔषध ओसारपसार एवम् बिक्री वितरण भइरहेको भन्ने गोप्य सूूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २५ को विष्णुदेव अधिकारी र काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ को कृष्ण गुरुङ रहेको प्रहरीले जानकारी दिएको हो ।

उनीहरुको साथबाट लागुऔषध नाइट्राजेपाम २९ सय ७० ट्याब्लेट, औषधिजन्य ट्रामाडोल ११ सय चार क्याप्सुल लागुऔषध फेला परेको हो । प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा उक्त स्थानमा निगरानी गरी बस्दा बेलुकीको समयमा पैदल हिँड्दै आइरहेका कृष्ण गुरुङ र विष्णुदेव अधिकारीलाई नियन्त्रणमा लिई तलासी लिइएको हो ।

सो क्रममा कृष्ण गुरुङले लगाएको अण्डरवेयरभित्र, पाइन्टको भित्री भागमा र मोजा समेतमा लुकाइराखेको अवस्थामा दुई सय ४० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम फेला परेको थियो ।

त्यसैगरी विष्णुदेव अधिकारीले बोकेको कालो रंगको झोलामा २७ सय ३० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम र ११ सय ४ क्याप्सुल ट्रामाडोल फेला परेको थियो । निजहरु दुवैलाई लागुऔषध ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू