कर्मचारीको तलब हल्का बढाउने तयारी

कर्मचारीको तलब हल्का बढाउने तयारी

महङ्गीको अनुपातमा निजामती कर्मचारी,सेना र प्रहरीको तलब हल्का बढाउन भन्दै हिजो मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको छ । जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढाउने भन्दै बैठक डाकिएको हो ।

दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेको हो । दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको बुझिएको छ ।

सरकारले चुनाव अघि नै यस वर्षको बजेट भाषणमा कर्मचारीको तलब कम्तिमा दुई हजार रुपैयाँ बढाउने चर्चा गरेको थियो । अहिले त्यही चर्चालाई कार्यान्वयनमा ल्याउन लागिएको बताइएको छ ।

स्थानीय तहको चुनाव सकिएको र आगामी मंसिरमा प्रदेश र संघीय संसदको निम्ति अर्को आमनिर्वाचन हुने भएकाले कर्मचारी र तिनका परिवारलाई आकर्षण गर्न पनि बजेट बढाउन आवश्यक रहेको मन्त्रीहरुको भनाइ छ ।

तर बजारमा सबै वस्तु र सेवाको मूल्य बढेर आकाश छोएको छ । सर्वसाधारणको दैनिकी चलाउन पनि हम्मे हम्मे पर्न थालेकाले तलब बढाउँदा पुनः महँगी थपिने एकथरिको भनाइ छ । सरकारले पहिले बजारमूल्य नियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

टिप्पणीहरू