असारुवारे ओलीले त्यसो भने पनि

असारुवारे ओलीले त्यसो भने पनि

 -लक्ष्मी काफ्ले

नेपालकै पुरानोमध्येको झापास्थित भद्रपुर नगरपालिकामा नेकपा एमालेले यसपटक हार ब्यहोरेको छ । अघिल्लो पटक मेयर तथा उपमेयर दुबै जितेको एमालेले यसपटक दुबै मुख्य पद जोगाउन सकेन ।

भद्रपुर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर हो । बुधवार साँझ सार्वजनिक मतपरिणामअनुसार यहाँ कांग्रेसले मेयर र राप्रपाले उपमेयर जितेको छ । निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पनि उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले पराजय ब्यहोरे । उनलाई राप्रपाकी महिला उम्मेदवारले हराइन् ।

अघिल्लो पटक नराम्ररी हार ब्यहोरेको कांग्रेसले यसपटक मेयर जितेपछि भने कांग्रेसी कार्यकर्ता उत्साहित देखिएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार गणेश पोखरेलले एमालेका असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गरे । मेयरमा निर्वाचित गणेश कांग्रेस नेता सिटौलाका अति नै प्रिय पात्र हुन् ।

गणेशले १२ हजार ५२५ र राजवंशीले ९ हजार ७५९ मत प्राप्त गरे । अघिल्लो पटकको निर्वाचनमा पनि सिटौलाले गणेशलाई नै मेयरमा उठाएका थिए । त्यसबेला उनी एमालेका जीवनकुमार श्रेष्ठसँग पराजित भएका हुन् ।

‘असारु र मेरो फोनमा, एसएमएसमा डाइरेक्ट कन्ट्याक्ट हुन्छ, ऊ काम गर्न सक्ने मान्छे हो, यसपटक असारुलाई जिताउनुस्,’

त्यसो त हाल मेयरमा पराजित एमालेका असारु पनि कम पहुँचवाला व्यक्ति होइनन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री छँदा उनले सचिवालयमा रहेर काम गरेका थिए । ओलीसँग उनको सीधा सम्पर्क छ । भद्रपुरमा निर्वाचनअघि आयोजित एमालेको सभामा स्वयम् ओलीले यो कुरा बोलेका हुन् । ‘असारु र मेरो फोनमा, एसएमएसमा डाइरेक्ट कन्ट्याक्ट हुन्छ,ऊ काम गर्न सक्ने मान्छे हो, यसपटक असारुलाई जिताउनुस्,’ ओलीले भनेका थिए । तर, भद्रपुरमा यसपटक ओलीको बोलीले जादु गर्न सकेन ।

मेयरको लडाइँमा अघिल्लो पटक चौथो बनेको राप्रपा अहिले तेस्रो बन्यो । राप्रपाका उम्मेदवार नवराज पनेरुले ६ हजार ३१० मत पाए । २०७४ को निर्वाचनमा कृष्ण सिटौलाले कांग्रेसबाट मेयरको टिकट नदिएपछि असन्तुष्ट भएर उनी राप्रपामा हामफालेका थिए । राप्रपामा स्वागत गर्दै राजेन्द्र लिङ्देनले त्यही चुनावमा पनि उनलाई मेयरको टिकट दिएका थिए ।

उपमेयरमा भने यहाँ राप्रपाले जादु ग¥यो । निर्वाचनमा एक्लै लडेको राप्रपाले कांग्रेस–माओवादी गठबन्धन र एमाले उम्मेदवारलाई पनि पराजित गरेको हो । उपमेयर निर्वाचित राप्रपाकी राधा कार्कीले ६९७ मतान्तरले गठबन्धन (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीलाई किनारा लगाइन् । राधाले ९ हजार २३० मत ल्याउँदा शिवकुमारले ८ हजार ५३३ मत प्राप्त गरे । उपमेयरमा पराजित शिवकुमार अघिल्लो पटक माओवादी केन्द्रबाटै मेयरमा लडेर तेस्रो भएका थिए ।

एमालेकी उपमेयर उम्मेदवार कौशल्या अधिकारीले ८ हजार ४०३ मत ल्याउँदै तेस्रो भइन् । उपमेयरमा निर्वाचित राप्रपाकी राधा भद्रपुरकी सकृय महिला नेतृ हन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो निर्वाचनमा पनि उनलाई नै उपमेयरमा उठाएका थिए । त्यसबेला उनी ३ हजार २७७ मतका साथ चौथो स्थानमा रोकिएकी थिइन् । यसपटक उनले अप्रत्यासित नतिजा निकाल्दा यहाँका राप्रपा कार्यकर्ता हौसिएका छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर–३ मा पर्छ, भद्रपुर । कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङ्देनको निर्वाचन क्षेत्र हो यो । वर्षौंदेखि यी दुई नेताबीचको सम्बन्ध अति नै चिसो छ । प्रतिनिधिसभा निर्वाचनमा लिङ्देनले सिटौलालाई निकै ठूलो मतान्तरका साथ पराजित गर्दै सांसद् बनेका थिए । अब भद्रपुरमा कांग्रेसका मेयर र राप्रपाकी उपमेयरले कसरी नगरको नेतृत्व गर्छन्, त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू