नयाँ आइजिपीको ध्यानाकर्षण,मध्यराती किन पिस्तोल तेर्स्याउँछन् प्रहरी ?

नयाँ आइजिपीको ध्यानाकर्षण,मध्यराती किन पिस्तोल तेर्स्याउँछन् प्रहरी ?

‘सत्य,सेवा,सुरक्षणम्’ नेपाल प्रहरीको नारा हो यो । यही नारा आत्मसात गरी सत्य र न्याय रक्षाको कसम खाएका एक प्रहरी अधिकारीले राजधानीको केन्द्र ठमेलमा उध्दण्डता मच्चाएको सिसिटिभी फुटेज यतिबेला जनआस्थामा आइपुगेको छ ।

सिंगो प्रहरी संगठनकै बद्नाम हुने गरी मध्यराति जाँडले मातेर सर्वसाधारणलाई बन्दुक तेर्स्याउने उध्दण्ड प्रहरी हुन् उपत्यका अपराध अनुसन्धान महाशाखा,मीनभवन नयाँ वानेश्वरका सई राजन खड्का । उनले वैशाख २४ गते राती करिव साढे १ बजेतिर ठमेलको स्कुटी लाउन्ज बारमा पसेर हतियार देखाउँदै ‘मारिदिन्छु’ भनी त्यहाँ रहेका मानिसलाई हप्कीदप्की गरेका थिए ।

सिसिटिभी फुटेजमा खड्काले लाउन्जबारमा तोडफोड गरेको प्रष्टै देखिन्छ । टेबलमा लात्तले हान्दै हिँडेका उनले वरपरका मान्छेलाई औँलो ठड्याएर हप्कीदप्की गरेका थिए । आफूलाई रोक्न आउनेहरुलाई ठेलठाल गर्दै खड्काले बारमा त्राहिमाम पारेको भिडियोमा देख्न सकिन्छ ।

जानकारहरुका अनुसार बर्दीको आडमा गुण्डागर्दी गर्दै आएका सई खड्काको यस्तो हर्कत यो नै पहिलो होइन । ठमेललगायत काठमाडौँका विभिन्न बारमा पसेर सित्तैमा रक्सी खाँदै त्यहिँ धम्क्याउने उनको दैनिकी नै हो भनिन्छ । सिसिटिभी फुटेजमा पनि खड्काले उध्दण्डता मच्चाउन थालेपछि वरपर रहेकाहरुले ‘निहुँ खोज्नलाई नै आएको’ भनेर आपसमा कुरा गरेको सुनिन्छ ।

खड्काले अत्ति गरेपछि उनलाई समातेर सोह्रखुट्टे प्रहरी कार्यालय पुर्याइएको थियो । तर,प्रहरीले उनलाई त्यसै छोडेको आरोप छ । हुन त खड्कालाई चिनेका, नजिकबाट संगत गरेका र सँगै काम गर्ने प्रहरीहरु नै उनको उध्दण्ड हर्कतका कारण आजित छन् । उनीसँगै काम गर्ने एक सइले उक्त घटनालाई गैह्रअनुशासनको हद भने ।

सई खड्काले पटक-पटक त्यहाँका व्यापारीलाई तर्साउने गरेको प्रहरीहरु नै बताउँछन् । उनको गुण्डागर्दी शैलीले वाक्क भएका ठमेलका व्यापारीहरु भने यसबारे खुलेर कुरा गर्न चाहँदैनन् । यस्ता कुरा बाहिर आउँदा थप हप्कीदप्की खप्नुपर्ने भएकाले व्यापारीहरु बोल्न नसकेको बताइन्छ ।

नागरिकको जिउ-धनको सुरक्षा दिने जिम्मेवारीमा रहेका प्रहरी अधिकारी नै यसरी रक्सीले फिट्टू भएर सर्वसाधारण तर्साउन हतियार तेर्स्याउँदै हिंड्न थालेपछि सिंगो प्रहरी संगठनकै बद्नाम भएको छ ।

टिप्पणीहरू