झापामा यसपालि देखिएको झमेला

झापामा यसपालि देखिएको झमेला 

-लक्ष्मी काफ्ले

झापामा १५ स्थानीय तह छन् । त्यहाँ दलहरुले आफू अनुकूलताका आधारमा समीकरण, गठबन्धन र सहकार्य गरेका छन् । कतिपय समीकरण नेताको व्यक्तिगत स्वार्थका कारण भएको देखिन्छ भने कतिपयमा सिङ्गो पार्टीले अपनत्व लिएको पाइन्छ । बन्द निषेधित क्षेत्रमा रहेको झापाको कनकाई नगरपालिका यसपटक स्थानीय तह निर्वाचनमा निकै चर्चामा रह्यो । मेयर एमालेले जित्यो भने यसपटक उपमेयर काङ्ग्रेसले फुत्कायो । यसअघि दुवै पदमा एमाले बिजयी भएको थियो ।

निर्वाचन आउन केही समय रहँदा कनकाईका मेयर राजेन्द्र पोखरेल एउटा विवादमा मुछिए । पाँच महिने कृषिसम्वन्धी तालिमका लागि कोरिया पठाएका युवाबाट नगरपालिकाले बढी रकम लिएको भन्दै काङ्ग्रेसले नारा लगायो । माओवादी पनि काङ्ग्रेसको पक्षमा उभिएर मेयरको राजीनामा माग्न तयार भयो । नगरपालिकाको नीतिगत निर्णयबाहेक पोखरेलको आफ्नो कुनै स्वार्थ र महत्वकांक्षा थिएन । उनी डगमगाएनन् । असल र इमान्दार जनप्रतिनिधिको छवि बनाएका पोखरेलले निर्वाचनको मुखमा आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमा खण्डन गरे । यो विवाद त्यत्तिकै सेलायो ।

विवादका बीच एमालेले विश्वास गरेर पोखरेललाई मेयर र उपमेयर रहिसकेकी मञ्जु प्रसाईलाई दोहोर्याएर टिकट दियो । एमाले नेता अग्नि खरेलले उनीहरुलाई दोहोर्याउनु पर्ने अडान राखे । खरेल यतिबेला एमाले झापाका इञ्चार्ज छन् । एमाले अध्यक्ष ओलीका विश्वासपात्र मध्येका खरेल र मेयर पोखरेलको राम्रो मित्रता छ । विपक्षीले लगाएका आरोपको पृष्ठभूमिबाट उठेर पोखरेल दोस्रो कार्यकालका लागि जन अनुमोदित भए । जनताको विश्वास र मतका अगाडि विपक्षी आरोपको जोर चलेन । जनताले उनलाई ‘क्लिनचिट’ दिए ।

खुश्बुका बाबु राप्रपा प्रवेश

मेयर–उपमेयरलाई पुनः दोहोर्याउने एमालेको निर्णयमा आपत्ति जनाउँदै चर्चित मोडल खुश्बु ओलीका बाबु श्यामसुन्दर ओलीले निर्वाचनको मुखमा एमाले परित्याग गरेको घोषणा गरे । उनी एमालेबाट मेयरका आकांक्षी थिए । एमाले त्यागेलगत्तै राप्रपामा प्रवेश गरे ।

राप्रपाले ओलीलाई मेयरको टिकटसहित स्वागत गर्यो । एमाले र राप्रपाको सबै मत आफैँलाई आउने विश्वास राखेर हौसिएका ओलीलाई जनताले अपेक्षाकृत रुपमा पत्याएनन् । यति भइरहँदा पनि उनले आफ्नै जोडबलमा २ हजार २०५ मत ल्याउँदै चौथो बन्ने अवसर पाए । केही एमाले कार्यकर्ताको मत ओलीलाई गयो ।

राप्रपा झापाका अध्यक्ष केशव ओझा पनि कनकाई नगरका बासिन्दा हुन् । पार्टीको जिल्ला सचिव हुँदासम्म एक सरकारी विद्यालयको हेडसर थिए । जिल्ला अध्यक्ष भएपछि चाहिँ जागिर छाडे । तर,जिल्ला अध्यक्षको नगरमा राप्रपाले एउटा वडा सदस्यसम्म पनि जित्न सकेन । राप्रपा र माओवादी केन्द्र यहाँ ‘निल’ भए ।

कनकाईमा मेयरको टिकटको विषयलाई लिएर काङ्ग्रेसमा झन् ठूलो रडाको मच्चियो । झापामा चलेका निर्माण व्यवसायी शेरबहादुर थापा कनकाईको मेयरका लागि तीव्र आकांक्षी थिए । लामो समयदेखि उनको सामाजिक अभियान कनकाईमा चलिरहेको थियो । कोरोना संक्रमणकालमा ज्यान धरापमा राखेर चामल र औषधि बोकी धेरै जनताका घरमा थापा दौडिएको विषय प्रशंसा गर्न लायक थियो ।

कनकाईमा मतदाता नामावली भए पनि थापाको घर भने बिर्तामोडको अतिथि सदनदेखि उत्तर एमाले नेता मनकुमार गौतमको नजिकै छ । यसपटक उनी कनकाईको मेयरको टिकट पाउनेमा ढुक्क थिए । तर, अन्तिम समयमा काङ्ग्रेसले टिकट दिएन ।

झापामा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाको आन्तरिक राजनीतिक द्वन्द्वबारे अधिकांशलाई थाहा छ । झापा काङ्ग्रेसको यो पुरानो रोग हो । मेयरको टिकटका आकांक्षी शेरबहादुर अहिलेका महामन्त्री विश्वप्रकाश निकट हुन् । शेरबहादुरले टिकट नपाउनुमा काङ्ग्रेस झापाका सभापति देउमान थेवेको हात रहेको कनकाई वृत्तमा सार्वजनिक चर्चा छ । पार्टी सभापतिको हैसियतमा जीत हारको नैतिक जिम्मेवारी देउमानको हो ।

जिल्ला सभापति थेवे कृष्ण सिटौलाका खास मान्छे हुन् । सिटौलानिकट सभापतिले शेरबहादुरलाई विश्वप्रकाश गुटको भएको कारण टिकट नदिएको सार्वजनिकरुपमा चर्चा हुँदै आएको विषय हो । आफूलाई नदिएर कनकाई–३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरियालाई काङ्ग्रेसले मेयरको टिकट दिएपछि शेरबहादुर बिच्किए । यसपटक काङ्ग्रेसभित्र कनकाई मेयरको टिकट किनबेच भएको स्वयम् कार्यकर्ता तहमा चर्चा छ ।

मेयरको टिकट नपाएपछि शेरबहादुरले स्वतन्त्र उम्मेदवारी दिए । असन्तुष्ट काङ्ग्रेस कार्यकर्ता र केही स्थानीयले पनि उनको यो निर्णयमा समर्थन जनाएपछि उनी उत्साहित थिए । उनले चुनाव चिन्ह पाए– जेब्रा । निर्वाचन सकेर मतगणना सुरु गरेपछि दुई दिनसम्म त चुनाव चिन्ह जेब्राले कमाल नै ग¥यो ।

स्वतन्त्र जेब्रा कुदेको कुद्यै गर्यो भन्दै सर्वत्र चर्चा पनि भयो । अन्य उम्मेदवारको पनि भोक तिर्खा उडेकै हो जेब्राको गतिले । तर, तेस्रो दिनदेखि जेब्रा थान्को लाग्यो । चुनाव चिन्ह जेब्राले ५ हजार ६९१ मत पायो । मेयरको प्रतिस्पर्धामा शेरबहादुर तेस्रो भए । वडाध्यक्ष हुँदै मेयरको टिकट पाएका काङ्ग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरिया ६ हजार ६६१ मत ल्याउँदै उपविजेता बने ।

मेयर एमाले,उपमेयर काङ्ग्रेस

यसपटक पनि कनकाईको मेयरमा एमालेले नै बाजी मार्यो । मेयरमा दोहोरिएका राजेन्द्रकुमार पोखरेल ८ हजार ६७३ मत ल्याउँदै निर्वाचित भए । तर, एमालेले यसपालि उपमेयरलाई भने जिताउन सकेन । अघिल्लो पटकको चुनावमा ८ हजार ५७६ मत ल्याउँदै उपमेयर बनेकी मञ्जु प्रसाईं यसपटक काङ्ग्रेसकी आशा शिवाकोटीसँग १ हजार ८६८ मतान्तरले पराजित भइन् ।

शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गर्दा मञ्जुले भने ८ हजार ८४५ मत पाइन् । ९ वटा वडा रहेको कनकाई नगरमा अघिल्लो पटक एमालेले ६ र काङ्ग्रेसले ३ वडाध्यक्ष जितेको थियो । यस पटकको निर्वाचनमा एमालेले ७ वडाध्यक्ष जित्दा काङ्ग्रेस २ वडाध्यक्षमा खुम्चिएको छ ।

टिप्पणीहरू