युवा नेतृत्व र एनआईसी बैंकको कनेक्सन

युवा नेतृत्व र एनआईसी बैंकको कनेक्सन

युवा वर्गको सवल नेतृत्व र सक्षम व्यवस्थापनबाट के गर्न सकिँदैन भन्ने उदाहरण बनेका छन्, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशनकुमार न्यौपाने । ३८ वर्षको उमेरमा बैंकको सिईओ बनेका उनलाई त्यतिबेला धेरैले पत्याएका थिएनन् । अहिलेको प्रतिस्पर्धात्मक बैंकिङ क्षेत्रमा युवाले बैंकको कुशल व्यवस्थापन गर्नेमा धेरैले आशंका गरेका थिए ।

तर, त्यस्तो भ्रमलाई चिर्दै न्यौपानेले पाँच वर्षको अवधिमा बैंकलाई १ नम्बरमा पुर्याएको बैंकले दाबी गरेको छ । बैंकले आ.व. २०७८÷७९ को तेस्रो त्रैमासिक अवधिसम्ममा नौ लाखभन्दा बढी नयाँ खाता थप गर्दै ३७ लाख २८ हजारभन्दा बढी खातामार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको २०७८ फागुनको तथ्याङ्कअनुसार देशभरि खुलेका ‘क’ वर्गको वाणिज्य बैंकहरूको कुल खाताको १० दशमलब १२ प्रतिशत हिस्सा एनआईसी एसिया बैंकले ओगटेको पनि बैंकले उपलब्ध गराएको जानकारीमा उल्लेख छ । त्यसैगरी, केन्द्रीय बैंकको वित्तीय समावेशिता पोर्टलको सोही अवधिको तथ्याङ्कअनुसार कुल सक्रिय बचत खाताको झण्डै १४ प्रतिशत उक्त बैंकले ओगटेको हो ।

बैंकका अनुसार हाल मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको पनि बैंकले जानकारी दिएको छ ।

२०७८ चैत्र मसान्तसम्मको तथ्याङ्कअनुसार बैंकले तीन अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । जुन समग्र बैंकिङ्ग क्षेत्रकै उच्चमध्येको एक रहेको बैंकले जनाएको छ ।

‘हामी उत्तरदायी बैंकिङ्गमा विश्वास गर्छौं, बैंकको कारोबारको आधार विस्तार हुनु भनेको देशभित्र समग्र वित्तीय पहुँच पनि बढ्दै जानु हो,’ प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने । आक्रामक बैंकिङ्गमा उत्रिरहेको बैंकले ग्रामीण भेगदेखि उदाउँदा बजार, नगर र सहरी क्षेत्रमा ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत ३७ लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । ‘यो सबै न्यौपानेको नेतृत्वमा सबल व्यवस्थापन योजनासहित अघि बढेको परिणाम हो,’ बैंकका एक जना अधिकारीले भने ।

सन् २००८ बाट तत्कालीन बैंक अफ एसिया (हालको एनआईसी एसियामा मर्ज भएको) बैंकबाट करिअर सुरुवात गरेका न्यौपानेले थुप्रै अवार्डहरु हात पारिसकेको बैंकले बताएको छ । उनी हालैमात्र नेपाल व्यवस्थापन संघबाट ‘म्यानेजर अफ द इयर अवार्ड–२०२२ अवार्डबाट विभूषित भएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द इयर २०७८ र ग्लोबल बिजनेस आउटलुक (जीबीओ), लण्डनबाट ‘बैंकिङ सीईओ अफ द इयर– नेपाल २०२१’ बाट पनि सम्मानित भइसकेको बैंकले उपलब्ध गराएको विवरणमा समेटिएको छ ।

टिप्पणीहरू