फोनमै गृहमन्त्रीले थर्काएपछि….

फोनमै गृहमन्त्रीले थर्काएपछि….

स्थानीय तह निर्वाचनका दौरान देशका विभिन्न भागमा छिटपुट अप्रिय घटना भए । यो गृह मन्त्रालयसँग जोडिने विषय हो । तर, चुनाव सकिएको भोलिपल्ट मन्त्री बालकृष्ण खाँणले उल्टै निर्वाचन आयुक्त ईश्वरी पौडेललाई फोन गरेर थर्काएको खबर छ ।

गृहमन्त्रीको खप्की खाएका ईश्वरीले उल्टै शान्ति सुरक्षाको स्थिति राम्रो नभएको भन्दै राजनीतिक दलहरुको संस्कार, क्रियाकलाप र शान्तिसुरक्षाको अवस्थाले सशंकित हुन बाध्य बनाएको भने ।

निर्वाचनको सुरक्षा व्यवस्थापनमा नेपाली सेना र सशस्त्र भनेको हतियारसहित देखाउने फौज हो । मतदाताको बीचमा पुग्ने, मतपत्र, मतपेटिका र मतदान स्थलको सम्पूर्ण रेखदेख र निगरानी गर्ने नेपाल प्रहरीले हो ।

तर, यसचोटिको निर्वाचनमा प्रहरीहरु जोखिम मोलेर कुनै काम गर्न तम्सिएनन् । उनीहरुले भीड नियन्त्रणका नाममा कसैलाई धकेल्नेसम्मको अग्रसरता देखाएनन् । कारण हो, न व्यवहारिक प्रोत्साहन, न त आर्थिक नै । उनीहरु जागिरका लागि जागिर खानमात्रै खटिए ।

फेरि चुनावी वातावरणमा कोहीमाथि केही गरिहालियो भने भोलि त्यही व्यक्तिसम्बद्ध दल लागेर जागिरमा दुःख देलान् वा हाकिमसँग बदला लेलान् भन्ने चिन्ता पनि हुने नै भयो ।

किनभने, ‘राम्रोजति आफूले गरेको, नराम्रोजति पुलिसले’ भन्ने चिन्तनको विकास हुँदा विगतदेखि नै प्रहरी कर्मचारी प्रताडित हुँदै आएका छन् । त्यसैले उनीहरु कुनै किसिमको जोखिम मोल्न समर्थ भएनन् ।

राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई बुथ लुट्न, मतपत्र च्यात्न, जलाउन निर्देशन दिइरहेका थिए । त्यस्ता मान्छेलाई तुरुन्तै पक्राउ गरेर पेश गर्न निर्वाचन आयोगले निर्देशन पनि दिएको छ ।

मतपत्र च्यात्नेलार्ई ३ वर्षसम्म थुन्न सकिने कानुन छ तर भरतपुरमा उतिबेला मत च्यातेर परिणाम उल्ट्याउनेलाई के नै भयो र बरु त्यस्ता मान्छे पक्राउ परे भने तिनलाई छुटाउनका लागि राजनीतिक दलले प्रशासनलाई दबाब दिने गरेका छन् ।

टिप्पणीहरू