उपमेयरमा जितेलगत्तै कोसँग बिहे गर्दै छिन् सुनिताले ?

उपमेयरमा जितेलगत्तै कोसँग बिहे गर्दै छिन् सुनिताले ?

काठमाडौं मात्रै होइन, स्थानीय निर्वाचनको जारी मतगणनासँगै मुलुकभर चर्चामा अहिले मुख्य गरी दुई जना देखिएका छन्, संघीय राजधानीको महानगरपालिकाको मेयर पदमा फराकिलो अन्तरले अघि बढिरहेका स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा विजयउन्मुख एमालेकी सुनिता डंगोल ।

पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर छ । नेपाली, अंग्रेजी र नेपाल भाषामा राम्रो दख्खल भएकी उनले केही वर्ष महानगरपालिकाकै सहायक विज्ञ भएर काम गरेकी थिइन् । एक दशकअघि मीस नेवाः पनि बनिन् ।

अहिले उपमेयर हुने पक्कापक्कीझैं मतगणनाको सर्वाधिक अग्रस्थानमा देखिएकी छन् । उनै सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको छ । पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन् ।

उनी तीन चार वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका हुन् । जेठमा उपमेयर बनेपछि आगामी संघीय संसद्को निर्वाचनताका विवाह गर्ने योजना छ ।

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् । सुवोधले फुर्सदमा गीत गाउँछन् भने रेडियो क्यापिटलसँग पनि जोडिएका छन् ।

सशांकको फेसबुक प्रोफाइलमा सुनिताको फोटो र चुनावी प्रचारका भिडियो भरमार देख्न पाइन्छ । हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ । कीर्तिपुरको घर भाडामा लगाइएको छ ।

टिप्पणीहरू