राजेन्द्रको हल्दिबारी गाउँः अरु दललाई छैन ठाउँ !

राजेन्द्रको हल्दिबारी गाउँः अरु दललाई छैन ठाउँ !

-लक्ष्मी काफ्ले

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जीत हात पारेको छ । अध्यक्षमा रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित भएका हुन् ।

लिङ्देनले एमालेका उम्मेदवार डम्बरबहादुर गिरीलाई २ हजार १ सय ९० मतान्तरले पराजित गरे । लिङ्देनले ६ हजार ८ सय ५६ र गिरीले ४६ सय ६६ मत प्राप्त गरे । लिङ्देन दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा पराजित गिरी भने यसअघि गाउँपालिकाको उपाध्यक्ष थिए । अघिल्लो पटकको निर्वाचनमा राप्रपाले उपाध्यक्षमा पराजय बेहोरेको थियो ।

यसपटक उपाध्यक्षमा निर्वाचित राप्रपाकी मैनालीले एमालेकी शान्तादेवी गौतमलाई हारको स्वाद चखाइन् । ९ सय ७२ मतान्तरले मैनाली उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मैनालीले ५ हजार ७८ र गौतमले ४ हजार १ सय ६ मत प्राप्त गरिन् । यस गाउँपालिकामा राजनीतिक दलहरुले गठबन्धन नगरी एक्लाएक्लै निर्वाचनमा होमिएका थिए ।

हल्दिबारी गाउँपालिका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको स्थायी बसोबास भएको पालिका हो । अध्यक्षमा विजयी भएका रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्रका आफ्नै भाइ हुन् । तर, रविन्द्रलाई राजेन्द्रको भाइ भनेर चिनाइरहनु पर्दैन । शालीन स्वभावका विकासप्रेमी रविन्द्र स्थानीय जनतामाझ अति लोकप्रिय छन् ।

त्यसैले त यसपटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा रविन्द्रले अघिल्लो पटकको निर्वाचनमा भन्दा २ हजार ९ सय १३ मत बढी पाए । अघिल्लो निर्वाचनमा विजयी हुँदा उनले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका थिए । रविन्द्रले यसपटक मतान्तर पनि बढाए । अघिल्लो पटक ४ सय मतान्तरका साथ विजयी भएका उनले यसपटक २ हजार १ सय ९० मतान्तर बनाउन सफल भए ।

हल्दिबारीमा पाँचवटा वडाहरु छन् । जसमध्ये दुईवटा वडामा राप्रपा प्यानलसहित विजयी भएको छ । वडा नम्बर– १ र ४ मा राप्रपाका सम्पूर्ण उम्मेदवार निर्वाचित भए । अघिल्लो पटकको निर्वाचनमा राप्रपाले गाउँपालिका अध्यक्ष र एउटा वडाध्यक्ष मात्र जितेको थियो । बाँकी वडाहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले जितेका थिए । अल्पमतमा परेका कारण अध्यक्ष रविन्द्रले खुलेर काम गर्न पाएका थिएनन् । यो कुरा राम्रोसँग बुझेका स्थानीय मतदाताले यसपटक भने उनलाई काम गर्न सक्नेगरी मत दिएका छन् ।

टिप्पणीहरू