झापामा अचम्मको मत परिणाम

झापामा अचम्मको मत परिणाम

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा उदेकलाग्दो परिणाम आएको छ ।

शिवसतासी नगरपालिका झापामा मुचुल्कामा लेखिएको भन्दा कम मत प्राप्त हुँदा पनि मतगणना गराइएको थियो । ५४ मत कम भएको ठाउँमा एक जना ११ मतले विजयी भएपछि कानुनी र व्यवहारिक गाँठो परेको हो ।

उक्त नगरपालिकाको एउटा मतदान केन्द्रमा त्यस्तो घटना भए पनि निर्वाचन अधिकृतले मुचुल्कामा अंक उल्टो लेखिएकाले त्यस्तो हुन गएको जवाफ दिएका थिए ।

स्थानीय राजनीतिक दलका नेता,कार्यकर्ताले वार्ड नम्बर १ को मुचुल्कामा तीन हजार ८२ मतपत्र लेखिएको बताएका छन् । जहाँ २१ प्रतिशत मत बदर भएको छ । गठबन्धनको उम्मेदवारी र धेरै मतचिन्ह भएकाले मतदाताले नबुझेर मतदान गरेको पाइएको हो ।

उक्त वडामा मतपत्र गन्दा तीन हजार २८ मात्र पाइएको थियो । ११ मतले जितेपछि एमाले उम्मेदवार र समर्थकले जुलुस निकाले । अरु दलले विरोध गरे । उनीहरुले ५४ मत कम हुँदाहुँदै कसरी ११ मतको आधारमा विजयी घोषणा गर्न पाइन्छ भने पनि निर्वाचन अधिकृतले मुचुल्कामा तीन हजार २८ लेख्नुपर्नेमा गल्तीले तीन हजार ८२ लेख्न पुगेको आफ्नै तर्क दिएका हुन् ।

अब सबै दल मिलेर उक्त निर्णयविरुद्ध उजुरी दिने बताइएको छ । उनीहरुले पुनः मतदानको माग गरेका छन् । यो घटनाले झापाबाट कामको सिलसिलामा विदेशमा पुगेका उक्त वडाका वासिन्दालाई समेत उद्देलित बनाएको छ ।

टिप्पणीहरू