सबै दलको निश्कर्ष: अपेक्षित परिणाम आएन

सबै दलको निश्कर्ष: अपेक्षित परिणाम आएन

सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभएको छ । आज पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको अवसरमा बोल्दै नेपालले गठबन्धनमा रहेका दलहरुबाट समेत आफ्नो दलले राम्रो सहयोग पाउन नसकेको दुःखेसो पोख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘निर्वाचन परिणाम हेर्दा यो हाम्रो पार्टीले प्राप्त गर्ने नतिजा नै होइन । कतिपय ठाउँमा राम्रै अवस्था छ तर हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं ।’ गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न नचाहेकाले पनि परिणाम यस्तो आएको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले निर्वाचन र गठबन्धनबीच भएको सहकार्यको गम्भीर समीक्षा गरिने वचन दिनुभएको छ । ‘हामी निर्वाचनको गम्भीर समीक्षा गर्ने छौं । हामीले गठबन्धनको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको चुरो निकाल्ने छौं,’ उहाँको भनाइ थियो ।

नेपालले पार्टीको राजनैतिक धरातल कमजोर भएको स्वीकार्दै कार्यकर्तालाई पार्टीको सांगठनिक काममा लाग्न निर्देशन समेत दिनुभएको छ ।

यता विपक्षी दल एमालेले पनि परिणाम अनपेक्षित भएको प्रतिक्रिया दिएको छ । माओवादी र काँग्रेसले खुलेर परिणामलाई राम्रो पनि भनेका छैनन् ।

टिप्पणीहरू