भाइ बितेपछि प्रधानमन्त्री देउवा अहिले लुम्बिनीबाट फर्कँदै

भाइ बितेपछि प्रधानमन्त्री देउवा अहिले लुम्बिनीबाट फर्कँदै

हिजो लुम्बिनीमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा निकै अस्थिर र तनावग्रस्त देखिनुभयो । उहाँका अनेक अस्वाभाविक फोटो र भिडियो भाइरल भए तर,लामो समयदेखि वीर अस्पतालमा उपचाररत भाइको अन्तिम अवस्थाको खबरले उहाँ अनिदो र अस्थिर हुनुभएको बताइन्छ ।

आजै उहाँका भाइको निधन भएको छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कारको कार्यक्रम राखिएको छ । प्रधानमन्त्रीका भाइको नाम प्रेमबहादुर देउवा हो ।

अस्ति अपरान्ह लुम्बिनी पुग्नुभएका प्रधानमन्त्री राति अबेरसम्म सुत्न नपाउनुको यौटा कारण यो पनि थियो । राति अबेरसम्म मन्त्री र सचिवका बथानको बृफिङ्ग,छ वटा सम्झौताको तयारी,भारतीय दूतावासका कर्मचारीहरुको आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम तालिकासम्बन्धी जाहेरी जस्ता कारणले कासाइ होटलमा राम्रोसँग निदाउन नपाएको र यता भाइको स्वास्थ्य अवस्था खस्कँदै गएका कारण उहाँ हिजो आयोजित धार्मिक कार्यक्रममा निकै बेचैन देखिनुभएको बताइन्छ ।

त्यसैगरी नयाँ हलमा आयोजित कार्यक्रममा हाम्रा प्रधानमन्त्रीले बोलेको केही पनि बुझिएको थिएन । साउण्ड सिष्टमको व्यवस्थापन निकै कमजोर रहेकाले हलमा इको आएको हो ।

लुम्बिनीको बारेमा भारतीय पक्षबाट बेलाबखत नकारात्मक टिप्पणी हुँदै आएको सन्दर्भमा हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतमबुद्धको जन्मस्थान लुम्बिनी नै हो भनिदिएपछि तत्काललाई उक्त विवादको अन्त्य भएको देखिन्छ । भारतीय प्रधानमन्त्रीले दुई देशमा रहेका बुद्धसँग सम्बन्धित तीन वटा महत्वपूर्ण स्थानलाई जोडेर बुद्ध सर्किट बनाउने कुरो गरेकाले त्यहाँका व्यवसायीहरु धार्मिक पर्यटन फस्टाउन सक्ने विश्वासमा देखिएका छन् ।

टिप्पणीहरू