लोकसेवा दिनेहरुको आज सर्वोच्चमा लाइन

लोकसेवा दिनेहरुको आज सर्वोच्चमा लाइन

निजामती कर्मचारी भर्ना,पदपूर्ति र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको पेशी सरेको सर्यै गरेपछि लोकसेवाको जाँच दिएर नतिजा कुरेका परीक्षार्थीहरुले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने भएका छन् । आजका लागि तोकिएको पेशी स्थगित हुनसक्ने भन्दै ‘लोकसेवा पीडित’ उनीहरुले लोकसेवा पढ्नेहरुलाई अदालतमा आउन निम्ता गरेका हुन् ।

सर्वोच्चमा मुद्धा परेका कारण ९ महिनाअघि लोकसेवाको जाँच दिएका विद्यार्थीहरुको नतिजा प्रकाशित भएको छैन । पटक-पटक पेशी सर्दा रिजल्टको पर्खाइमा बसेका परीक्षार्थीहरु मर्कामा परेको भन्दै उनीहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराउन लोकसेवा पढ्नेहरुलाई बिहान ९ बजे सर्वोच्च अदालत अगाडि आउन भनेका हुन् ।

‘लोकसेवासम्बन्धी मुद्दाको आजलाई तोकिएको छ । तर, मुद्दा संधै स्थगित भइरहन्छ । सरकारी वकिल अदालतमा आउँछन् र मुद्दा स्थगित गराएर जाने गर्छन् । त्यसैले दबाब दिन सरोकारवालाहरुलाई बोलाएका हौं ‘,पीडित परीक्षार्थी बिज्जन भण्डारीले भने ।

९ महिना पहिले सर्वोच्चमा कर्मचारी समायोजनविरुद्ध रिट परेको थियो । उक्त रिटमा सर्वोच्चले अफिसर र सुब्बाको हकमा निर्णय गरेपनि खरिदारहरुको सम्बन्धमा मुद्धा अड्किएको अड्कियै छ । सर्वोच्चको अघिल्लो फैसलालाई नजिर मानेर लोकसेवा आयोगले नतिजा निकाल्न मिल्ने भए पनि त्यसो नगरिएको भण्डारीले गुनासो गरे ।

‘रिजल्ट कुर्दाकुर्दै ९ महिना भैसक्यो, कतिको उमेर ३२/३३ वर्ष पुगिसकेको छ । अरु एक-दुई वर्ष यसैगरी मुध्दा लिङ्गरिङ्ग हुँदै जाने हो भने जागिर खाने उमेर नै कटिसक्छ । कहिलेसम्म कुर्ने ?’, उनले दुखेसो पोखे । एकातिर मुद्दाको पेशी सरिरहने,अर्कोतिर लोकसेवाले सर्वोच्चको यसअघिको फैसलाका आधारमा रिजल्ट प्रकाशन नगर्ने, दुवैतिरबाट आफूहरु मारमा परेको उनको भनाइ छ।

विगतमा अधिकृत र सुब्बा तहका परीक्षार्थीले पनि नारा, जुलुस गरेर सुनुवाईका लागि दबाब दिएका थिए । मुद्धा किनारा नलागेकै कारण लोकसेवाका परीक्षाहरु रोकिएको छ ।

टिप्पणीहरू