मतगणना स्थगित गराएर हिँडेका सिडिओमाथि कांग्रेस कार्यालयमा खाजा खाएकाे आरोप

मतगणना स्थगित गराएर हिँडेका सिडिओमाथि कांग्रेस कार्यालयमा खाजा खाएकाे आरोप

नेकपा एमालेले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रशासनसंग मिलेमतोमा नेपाली कांग्रेसले मतगणना स्थगित गराएको आरोप लगाएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ को मतगणना शुरु हुनै लाग्दा काँग्रेसका उम्मेदवारको चाहनाअनुसार गणना स्थगित गराएको एमाले गाउँ कमिटीको दाबी छ ।

अध्यक्ष धनकुमार पुर्जाले आज विज्ञप्ति जारी गर्दै मतगणना स्थगित भएकोमा सिडियोमाथि शंका गरेका हुन् । उनले मत गणनास्थल बाहिर हुलदंगा गरेर आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिविरुद्ध ज्यान मार्ने धम्की दिइएको पनि बताएका छन् ।‘वडा नं. १ देखि ३ सम्मको गणना सम्पन्न भैसकेको छ । ४ को मत गणनाका लागि राजनैतिक दलका उम्मेदवार र प्रतिनिधिको सहमतिबाट मतपेटिका रुजु गरी खोली बिटाहरू समेत बनाई मतगणना शुरु हुनै लाग्दा एक्कासी मतगणनास्थल बाहिर गेटमा धाँधली भएको आरोप लगाउँदै हाम्रो पार्टीका उम्मेदवार तथा दलका प्रतिनिधि,नेता,कार्यकर्ताको व्यक्तिगत चरित्रहत्या गर्ने,नारा लगाउने तथा ज्युज्यान मार्ने धम्की दिंदै हुलदंगा भयो’, विज्ञप्तिमा भनिएको छ ।

आफ्नै अगाडि मतगणनामा बसेका कर्मचारीमाथि कांग्रेसका जिल्ला नेताले हातपात गर्दा पनि सिडियो मूकदर्शक भएर बसेको पुर्जाको आरोप छ । घटनापछि गणना स्थागित गराएर उठेका सिडियो काँग्रेस अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा गई बसेको र लामो समय त्यहाँ बिताएर बेनी फर्किएको भन्दै उनले आशंका गरेका हुन् । विज्ञप्तिमा हिजोदेखि स्थगित मतगणना कानुन र विधिसम्मत ढंगले पुन: शुरु गर्न आग्रह गरिएको छ ।

यस सम्वन्धमा बुझ्न खाेज्दा प्रजिअ चिरन्जीवी रानाले वडा नम्बर ३ सम्मकाे गणना सकिएपछि ४ काे शुरू गर्न लाग्दा अनधिकृत व्यक्तिकाे प्रवेश भन्दै नारावाजी हुन थालेपछि माथिकाे आदेशमा मुचुल्का उठाई बाँकी प्रकृया स्थगन गरेर निस्किएकाे बताए । उनका अनुसार त्यतिबेला पानी परिरहेकाे, डेढ दुई सय मान्छेकाे भीड रहेकाे, हाेटलहरू भरिभराउ भएकाे अवस्थामा बेलुका पार्टी अध्यक्षकाे आग्रहबमाेजिम उहाँकाे कार्यालयमा सबै जना गएर खाजा खाएकाेसम्म यथार्थ हाे, बाँकी राजनैतिक स्टन्टबाजी मात्रै हाे ।

(9856012509 धनकुमार पुर्जा एमाले अन्नपूर्ण अध्यक्ष, 9857627777 सिडिओ चिरञ्जीवी राना)

टिप्पणीहरू