आफ्ना उम्मेदवार कृष्ण थापालाई हराउन एमाले नेताहरुवीच गोप्य सल्लाह (अडियोसहित)

आफ्ना उम्मेदवार कृष्ण थापालाई हराउन एमाले नेताहरुवीच गोप्य सल्लाह (अडियोसहित)

पोखराका एमाले नेताहरुले पार्टी उम्मेदवार कृष्ण थापालाई हराउन चुनावअगाडि बनाएको गोप्य रणनीति बाहिरिएको छ । सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यसँग रकम बार्गेनिङ गरेर थापालाई हराउन असन्तुष्ट खेमाका दुई नेताले गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।

१३ मीनेट ५४ सेकेण्डको उक्त अडियो संवादमा  हालसम्मका निस्कलंक हेभीवेट  आचार्यलाई भोट हालेर थापालाई हराउन योजनावद्ध तयारीका कुरा गरिएका छन् । धनराजसँग पैसा मागेर कलममा भोट खन्याउने र थापालाई देखाइदिने उनीहरुको योजना उक्त संवादमा प्रष्ट बुझिन्छ । दुईपक्षीय संवादमा फोनकर्ताको पहिचान खुलेको छैन भने अर्कोतिर एमालेबाट पोखरा महानगरको टिकटको आकांक्षी रहेका प्रदेश सांसद तथा युवा संघका पूर्वअध्यक्ष राजीव पहारीका पिए मनोज छन् । मनोजले फोन गर्ने व्यक्तिलाई कृष्ण थापा हराउन आफू जेसुकै गर्न तयार रहेको विश्वास दिलाएका छन् ।

“ऊ ६४ वर्षकाे भैसक्यो । कृष्ण थापा सिध्दिएपछि बाटो खुल्ने राजीव दाइकै हो । त्यो खगे चोर (खगराज अधिकारी) र थापा काजी (कृष्ण थापा) दुवैलाई थाहा छ मनोजले असहयोग गर्ने होला भनेर । त्यसैले त्यसलाई अप्ठेरो पर्दैन दाइ । खगराजले त्यो मनोजले असहयोग गर्छ भनेको रहेछ । “

संवादमा अर्को पक्षले धनराजसँग पैसा लिएर भोट हाल्दिने गरी कुरा अघि बढाउन मनोजलाई पटक पटक आग्रह गरेका छन् । गठबन्धनका उम्मेदवार धनराज काका पर्ने भएकाले आफूले सिधै पैसा माग्न नसक्ने बाध्यता सुनाउँदै उनले त्यसको जिम्मा लिइदिन मनोजलाई आग्रह गरेको संवादमा सुन्न सकिन्छ । कुराकानीका क्रममा उनीहरुले एमालेको पकड भएका वडामा अन्तर्घात गरेर थापालाई हराइदिने र राजीव पहारीलाई पोखराको राजनीतिमा हावी गराउने योजना बनाएका छन् ।

पोखराको प्रारम्भिक मतपरिणामले उनीहरुले साेचेकाे पुरा हुने संकेत पनि देखिएको छ । करिव १२ हजार ५९० मत गणना हुँदा धनराजले ५७ सय ४० र कृष्ण थापाले ५ हजार भोट पाएका छन् । उपमेयरमा भने एमालेकै मन्जुदेवी गुरुङ अगाडि छिन् । एमालेको गढ मानिएका ठाउँमै थापा पछि परेपछि एमालेहरुले अन्तर्घात भएको आशंका गर्न थालेका छन् । हाल पोखराको वडा नम्बर १,२,२३,२४ र २५ मा गणना भएको छ । जसमध्ये यसअघि एमालेले जितेका दुई वडा (१ र २ ) कांग्रेसले लिएको छ ।

“चुनाव जितिहाल्यो भने यिनीहरुले जिताएको हैन मैले नै जितेको हो भन्छ । हार्यो भने जसरी पनि दोष लगाउने हामीलाई नै हो । राजीव दाइलाई हो, पिएसलाई हो । माधव बाँस्तोला,मुनबहादुर गुरुङ,भीम कार्कीलाई हो ।”

देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको टिकट वितरणलाई लिएर एमालेमा चर्को लफडा भएको थियो । एमालेले दीपक पौडेललाई दिएको टिकट खोसेर थापालाई दिएपछि आन्तरिक द्वन्द्व चर्किएको हो । एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ पक्षका पौडेललाई दिइएको टिकट खोसेर संगठन विभाग प्रमुख खगराज अधिकारी निकट थापालाई दिएपछि त्यहाँ असन्तुष्टी बढेको हो ।

पौडेलले टिकट पाएलगत्तै ‘सुन चोरेको’ पुरानो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर पौडेलको बदनाम गराएको पिएस पक्षको आरोप थियो । यसले चुनावमा अन्तर्घात हुने अनुमान यसअघि नै गरिएको थियो । त्यसैको तुष फेर्न थापालाई हराउने रणनीति बनाएको उक्त अडियोमा पनि सुन्न सकिन्छ ।

यस्तो छ कुराकानी :

फोनकर्ता – मेयरको चुनावको के छ मेलोमेसो  ?

मनोज- वडा जित्नुपर्यो,मेयर त्यस्तै हो ।

फोनकर्ता – धनराज मेरा अङ्कल हुन्, पोलिटिकल्ली उनी बाहिरका हुन् । अहिले कांग्रेससंग मिले, हामीले बोल्न मिलेन । हाम्रो एउटा ग्रुप छ, डीजी सयपत्री युवा क्लव जुन मैले सम्हालेको छु । हामी साइलेन्ट बसेर धनराजलाई सहयोग गर्छौं भन्नुपर्यो । मैले त अंकललाई सहयोग गर्छु,पैसा ले‌ऊ भन्न मिलेन । त्यसको लागि कसरी गर्न सकिन्छ ?

मनोज – म कुरा गरौं कि भन्नेमा छु । उनीसँग मेरो व्यावसायिक रुपमा पनि सम्बन्ध छ ।

फोनकर्ता – तिमी हामी भन्दा दाइ (राजीव पहारी) ले कुरा गर्दिए मान्छन् ।

मनोज – ३३ बाट एमालेको कति भोट काट्न सकिन्छ ?

फोनकर्ता -बढी भन्न सक्दिन डेढ-दुई सय काट्न सकिन्छ । हामी उतातिर मिलियो भने त्यति काट्न सकिन्छ । ७० हाम्रै भोट छ । यताउति गर्दा २१०/२२० गर्न सकिन्छ ।

मनोज – म पैसाको कुरा पनि राख्छु, ल के गर्न सक्छौ भनेर कुरा राख्छु ।

फोनकर्ता – हाम्रो नाम नलिनु नि, नत्र बर्बाद पार्छन् ।

मनोज – कहाँ लिन्छु दाइ । लिन्न । मलाई त कारवाही गरे पनि डर छैन । पृथ्वीसुब्बा, पद्मा अर्यालले कारवाही गर्नुहुन्न । जिल्लाको इञ्चार्जले गर्नुहुन्न । त्यो भएपछि मलाई यिनको गुटको कुनै मतलब छैन । अर्को मान्छे हुन्थ्यो भने हामीले यो कुरा उठाउने पनि थिएनौं, त्यो अपराधी मान्छे (कृष्ण थापा) लाई पार्टीले प्रोत्साहन गर्दियो । क्रिमिनल वे प्रयोग गरेर टिकट लिएको हो उसले ।

फोनकर्ता – को कृष्ण थापा ?

मनोज – अँ कृष्ण थापा । यो मान्छेलाई पनिस गर्ने बेला यहि हो दाइ, त्यहि भएर म त बेस्सरी लागेको छु । वडा नम्बर २४ मा दुई सय बढी भोट काट्दैछु । अनि १९ का ले बाहिर खुलेर हिँडे पनि कुनै हालतमा सहयोग गर्दैनन् । आजसम्म पार्टीमा इमान्दार भएर लागियो पार्टीको सेकेन्ड म्यान भएकाले ईश्वर पोखरेललाई मैले नै लिएर गएको हो पुरनचौर । यसको (कृष्ण थापा) आफ्नै वडाबाट भोट आउँदैन भने अरुबाट कहाँ आउँछ ! एक मत चैं कलमलाई भनेर हामीले आफन्त, साथीभाइलाई भन्नुपर्छ । धनराज सरलाई जुनसुकै हालतमा जिताउने, कृष्ण थापालाई हराउने भनेर बेस्सरी लागेको छु,कसैले रोकेर पनि म रोकिनेवाला छैन ।

फोनकर्ता – सुन तिम्ले यसो गर्दा भोलि राजीव दाइलाई अप्ठेरो नपरोस् ।

मनोज – अप्ठेरो पर्दैन दाइ । किनभन्दा हामी वडाहरुमा कमजोर छैनौँ, वडा जिताउनुपर्यो । वडा जितेपछि मेयर मात्र हार्दा मान्छेले मेयरको क्यान्डिडेट बलियो नभएर हो भन्ने बुझिहाल्छ । यसले नचिड्याएको को छ र ! दलितका २० हजार भोट छन् यी सबै काटिन्छ ।
त्यसैले यसले गलत म्यासेज जाँदैन, पार्टीलाई पनि अप्ठेरो पार्दैन । मात्र एउटा कुरा अवैध गर्भाधानबाट जन्मिएको पार्टी भनेर हिजो आफैँले बोलिएको छ,धनराज सर त्यहि पार्टीको उम्मेदवार हुनुभयो । त्यति कुरामा मात्र हो । माधव नेपालको चुरीफुरी चम्किन्छ भन्ने मात्र हो । तर हामीलाई मतलब छैन । व्यावसायिक मान्छे, यहि भूगोलको मान्छे । ड्यासिङ,डाइनामिक मान्छे भनेर हो । मैले आफैँ कुरा गर्ने भएपछि कुरा मिलाएरै गर्छु । मानौँ कि उनले पैसा दिन मानेनन् भने पनि कृष्ण थापालाई हराउन सहयोग गर्नुपर्यो ।

फोनकर्ता – त्यसले राजीव दाइलाई अप्ठेरो नगरोस् । तिमी हामी त व्यवसाय गरौंला तर उहाँ पोल्टीकल मान्छे हो । राजनीति नै भनेर होमिएको मान्छे हो नि त ।

मनोज – कृष्ण थापाको त यो अन्तिम नै हो ।

फोनकर्ता – त्यो त हो कि तर राजीव दाइको अन्तिम नहोस् !

मनोज – ६४ वर्ष भैसक्यो । कृष्ण थापा सिध्दिएपछि बाटो खुल्ने राजीव दाइकै हो । त्यो खगे चोर (खगराज अधिकारी) र थापा काजी (कृष्ण थापा) दुवैलाई थाहा छ मनोजले असहयोग गर्ने होला भनेर । त्यसैले त्यसलाई अप्ठेरो पर्दैन दाइ । खगराजले त्यो मनोजले असहयोग गर्छ भनेको रहेछ ।

फोनकर्ता -फेरि मनोज बोल्यो भन्दा पनि राजीव बोल्यो भन्ने हुन्छ होला नि त मान्छेलाई

मनोज -मान्छेलाई त्यो पर्न त पर्छ तर त्यस्तो पर्दैन । धनराज सरसँग मेरो व्यावसायिक सम्बन्ध छ त्यो हिसाबले राजीव दाइसंग भन्दा पहिले चिनजान भएको हो । राजीव दाइको बोली भन्ने यिनीहरुको हकमा लाग्दैन, बरु अरुको हकमा लाग्छ दाइ । कहिलेकाही केही बोल्दा राजीवको बोलि रैछ भन्छन् । कृष्ण थापाले चुनाव जितिहाल्यो भने यिनीहरुले जिताएको हैन मैले नै जितेको हो भन्छ । हार्यो भने जसरी पनि दोष लगाउने हामीलाई नै हो । राजीव दाइलाई हो, पिएसलाई हो । माधव बाँस्तोला,मुनबहादुर गुरुङ,भीम कार्कीलाई हो । कुरा त क्लियर नै छ ।

फोनकर्ता -कृष्ण थापाले चुनाव जित्छ कि जित्दैन ?

मनोज – कुनै हालतमा जित्दैन । उसले नचिड्याएको व्यक्ति कोहि छैन । हिजो आफ्नो निर्वाचन क्षेत्र छोड्यो भन्ने छ । क्षेत्र नम्बर २ ख को ६ वटा वडामा, २ को क को पाँच वटा वडामा हिजो हामीलाई ढाँटेको भन्ने परेको छ । सांसद भएपछि काम गरेन भन्ने परेका छन् । ३२ सालदेखि पार्टीमा अर्को कोहि रैनछ भन्ने परेको छ । दलितको भोट सबै काटिन्छ । दिपक सरलाई सिध्याएर क्रिमिनल वेबाट टिकट ल्यायो भन्ने सबैले बुझेका छन्,भोट दिंदैनन् । लेखनाथमा हाम्रो पार्टीबाट उपमेयर छैन । गठबन्धनले उपमेयर त दिएको छ नि त त्यो भएर कृष्ण थापा हार्ने आधारहरु आफैंमा धेरै छ ।

फोनकर्ता – राजीव दाइको कत्तिको साथ् सहयोग छ ?

मनोज – यी कुरा भेटेरै भनौला दाई । आफूसंग जोडिएका कुरा म नडराई भन्छु । अरुसँगको कुरा भेटेर भनौला ।

फोनकर्ता – ल ल भेटेर कुरा गरौला ।

मनोज – भेट्नलाई बोलाइरहेका छन् । यो कुरामा सिरियस्ली लाग्नु है दाइ । यो अपराधीलाई कुनै हालतमा जित्न दिनु हुँदैन ।

फोनकर्ता – ल ! ल !

मनोज – धनराज सर मेयर हुनैको लागि उता जानुभएको हो । उहाँको मेयर बन्ने हबी नै हो,एम थियो । धनराज पोखरा बनाउन भनेर आउनुभएको हो । भोलि गर्नुहोला, नगर्नुहोला । यिनीहरुले त सात अर्ब देखेका छन् । यहाँका स्रोत साधन प्रयोग गरौंला, विदेश घुमौला भन्ने छ । अख्तियारले छापा हान्यो भने सबैभन्दा बढी भ्रष्टाचार रुपामा भएको छ । त्यो खगे (खगराज)ले त्यस्तो गराएको छ । कृष्ण थापालाई मेयर बनाउँला, भोलि मुख्यमन्त्री आफू हौंला अनि सत्तामा भएपछि ११ वटा जिल्लाका मान्छे पछि लागाएर पिएसलाई सिध्याउँला भन्ने उद्धेश्य छ । सबै मान्छेलाई यसैगरी बुझाएर हिंडेको छु । यो दुई दिन सुतिन्न दाइ !

टिप्पणीहरू