ओलीले किन थाप्नुभयो असार १७ को अत्तो ?

ओलीले किन थाप्नुभयो असार १७ को अत्तो ?

एमाले अध्यक्ष केपी शर्मा ओली एउटा–एउटा छर्रा छाडेर राष्ट्रिय राजनीतिको ध्यान आफूतिर खिच्न सिपालु राजनीतिज्ञका रूपमा चिनिनुहुन्छ । राजनीतिका खास–खास परिस्थितिमा ‘एकातिर बन्दुक तेस्र्याएर अर्कोतिर पड्काउने’ उहाँको रणनीति हुने गर्छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ओलीले फ्याँकेको ‘असार १७’ को छर्राले यतिबेला धेरैको मथिंगल घुमाइदिएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले निकै ढुक्कसाथ पाँचदलीय सत्ता गठबन्धन बढीमा असार १७ सम्म जाने किटान गरिदिनुभयो । ‘असार १७ मा गठबन्धन नरहने आधार के हो ?’ भन्ने पत्रकारको प्रश्नमा उहाँले प्रष्ट जवाफ दिन सक्नुभएन । बरु द्वन्द्वात्मक भौतिकवादलाई आत्मसात् गर्ने कम्युनिष्ट पार्टीका अध्यक्षले प्रश्न सोध्ने पत्रकारलाई ज्योतिषसँग बाँकी कुरा बुझ्न सल्लाह दिनुभयो । असार १७ गते गठबन्धन टुट्ने कुरा आफूले भनेको नभई ज्योतिषले भनेको उहाँको तर्क थियो ।

‘असारपछि यो गठबन्धन रहँदैन, यो मेरो भनाइ होइन, ज्योतिषीहरूको हो’, ओलीको भनाइ थियो, ‘यो राजनीतिक र अन्य ज्योतिषीले भनेको हो । विश्वास लाग्दैन भने आफूले विश्वास गरेको ज्योतिषीसँग सोध्नुस् भनेर देउवाजीलाई भन्न चाहन्छु ।’

कुनै विश्वासिलो तथ्य र प्रमाणबिनै ओलीले दाबीसाथ असार १७ पछि राजनीतिले कोर्स परिवर्तन गर्ने किटान गरिदिएपछि ‘राजनीतिका मै हुँ’ भन्नेहरू पनि हैरान भएका छन् । दुई–दुई पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति, मुलुकको सबैभन्दा ठूलो पार्टीको अध्यक्षले नै दाबीसाथ भनेका कुरालाई ‘केही होइन’ भनेर टार्न पनि भएन । आखिर के हो त असार १७ को फण्डा ? धेरैले ओलीको भनाइलाई चुनावपछि सत्ता गठबन्धन टुट्ने र वाम गठबन्धनको बिजारोपण हुने अर्थमा बुझेका छन् । चुनावपछि फेरि एमाले नै शक्तिशाली भएर उदाउने आमसन्देश प्रवाह गर्न अमूर्त घटनालाई अघि सारेर मतदाताको मनोविज्ञानमाथि खेलेको अर्थ लगाउनेहरू पनि छन् ।

यसबारे हामीले एकजना वाम राजनीतिक विश्लेषकलाई सोध्यौँ – के चुनावपछि सत्ता गठबन्धन टुट्दै छ ? उनका अनुसार ओलीले एकैसाथ दुई वटा सन्देश दिन असार १७ को फण्डा निकाल्नुभएको हो । एउटा, गठबन्धनको भविष्य अन्धकार देखाएर आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्ने । आफ्नो एजेण्डाका भरमा भोट पाउने सम्भावना कम देखेर यस्ता फण्डाको सहारा लिएको हुन सक्ने उनले अड्कल लगाए ।

‘चुनावको परिणाम गठबन्धनका लागि सुखद नहुने र त्यसैका आधारमा गठबन्धन भाँडिने भएकाले एमाले नै निर्विकल्प शक्ति हो भन्ने पार्नु छ उहाँलाई । त्यसका लागि माहोल बनाउनुप¥यो । रेल, पानीजहाज र राष्ट्रवादका नारा अब नबिक्ने देखेर उहाँले नयाँ फण्डा निकाल्नुभएको हुन सक्छ । नत्र, ठ्याक्कै असार १७ गते यसो हुन्छ भनी कसले मिति तोकेर भन्न सक्छ ?’, उनी भन्छन् ।

एमालेनिकट भनेर चिनिएका केही वाम बुद्धिजीवीले पनि गठबन्धनको झगडा देखेर अध्यक्ष ओली हौसिएको र गठबन्धनको भविष्य लामो नरहेको सन्देश दिन सांकेतिक रुपमा त्यसो भनेको अनुमान गरेका छन् । ओलीको भनाइलाई चुनाव जित्ने कन्फिडेन्सले प्रकट गरेको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने उनीहरूको भनाइ छ । ‘जुनस्तरमा सत्तारुढ पाँचदलीय गठबन्धनले तालमेल गर्ने भनेका थिए त्यसअनुसार नहुँदा एमालेको पक्षमा माहोल बनिरहेको र त्यसले ओलीमा ‘कन्फिडेन्स बढाएको देखिन्छ’, एक वाम बुद्धिजीवी भन्छन्, ‘राम्रोसँग तालमेल गरेको भए एमालेको हालत खराब हुनेवाला थियो ।’

हुन पनि ओलीको ‘प्रतिगमन’ विरुद्ध बनेको भनिएको गठबन्धन चुनावी तालमेलसम्म आइपुग्दा भद्रगोल अवस्थामा पुगेको छ । पहिलो कुरा त देशैभर गठबन्धनका दलबीच तालमेल हुनै सकेन । तालमेल भएका ठाउँमा पनि गठबन्धनभित्रैबाट बागी उम्मेदवारको बिगबिगी छ । ६ वटा महानगरमध्ये काठमाडौँ र ललितपुरबाहेक सबैतिर बागी परेका छन् । रोल्पा, रुकुमलगायत कतिपय स्थानीय तहमा गठबन्धनकै कार्यकर्ता कुटाकुट गरिरहेका छन् । केन्द्रीय निर्णयविपरित गठबन्धनमा आबद्ध दलले एमालेसँग पनि तालमेल गरेका छन् ।

यसको नकारात्मक प्रभाव अहिले नै देखिन थालिसकेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका पालिका र वडाका उम्मेदवार नै एमालेमा प्रवेश गरिरहेका छन् । एकीकृत समाजवादीका तर्फबाट पर्वतको फलेवास नगरपालिकामा उपमेयरका उम्मेदवार, माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्षका उम्मेदवार, काठमाडौँलगायत ठाउँमा वडाध्यक्षका उम्मेदवार आफ्नो उम्मेदवारी नै त्यागेर एमालेमा गएका छन् । यसले स्वाभाविक रुपमा ओलीलाई हौस्याएको त छँदै छ साथसाथै गठबन्धनको निरन्तरतामाथि आमरूपमा पनि आशंका गरिएको छ ।

जेठ १५ मा बजेट पास गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको सरकारलाई संसद् चलाएर देखाउन चुनौती दिएको अर्थमा पनि ओलीको अभिव्यक्तिलाई लिइएको छ । चुनावको मुखमा संसद् चल्न नदिने कुराले नकारात्मक सन्देश जाने हुँदा सरकार र गठबन्धनका दलमाथि मनोवैज्ञानिक दबाब दिएको हुनसक्ने विश्लेषण कतिपयको छ । संविधानतः जेठको पहिलो हप्ताभित्र नीति तथा कार्यक्रम र १५ गते संसद्बाट बजेट पास गर्नुपर्छ । तर, एमालेले सदन अवरुद्ध गरिरहेकाले सहजै पास हुने अवस्था छैन । यसलाई देखाएर सत्ता गठबन्धनलाई प्रतिरक्षात्मक बनाउन खोजेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

‘ओलीजी भद्रगोलमा गोल हान्न सिपालु हुनुहुन्छ, सायद जेठ १५ को त्रास देखाएर मंसिरको चुनावका लागि बार्गेनिङ गर्नुभएको हो कि ?’ माओवादी केन्द्रका एक नेताले आशंका गरे । उनका अनुसार चुनावको समग्र परिणाम गठबन्धनको पक्षमा आउँदैन भन्नेमा ओली ढुक्क हुनुहुन्छ । त्यसपछि गठबन्धन टुट्ने र मंसिरमा हुने चुनावी सरकारको नेतृत्व आफूले लिने गरी संसद् खोल्न ओलीले सौदावाजी गर्नसक्ने उनको अनुमान छ । ओलीको अभिव्यक्ति तीनै तहका बजेट असार १० सम्म पास गरिसक्नुपर्ने संवैधानिक दायित्वमा रहेको सरकारलाई धम्क्याउने रणनीतिप्रेरित रहेको उनको बुझाइ छ ।

‘ताली बज्छ भनेपछि दिमागमा जे आयो त्यही बोलिहाल्ने उहाँको नेचर हो तर त्यही कुरामा अरुले दिमाग घुमाइरहेका छन् । वास्तवमा असार १७ को फण्डा एमसीसीका बेलाजस्तै गठबन्धन टुटाउने एउटा प्रयासबाहेक अरु केही हो जस्तो लाग्दैन’, उनको अर्को आशंका छ । कतिपयले चैँ ओलीको अभिव्यक्तिलाई शक्ति केन्द्रको चासोसँग पनि जोडेर हेरेका छन् । एमालेकै ओलीइतर खेमाका एक नेताले नाम नलेख्न आग्र गर्दै भने, ‘राष्ट्रिय परिस्थितिसँगै अन्तर्राष्ट्रिय चासो पनि हुन सक्छ ।’ केपी ओली प्रधानमन्त्री हुँदा दक्षिणतिरको शक्तिले मिति नै तोकेर सरकारको आयु तोकिदिएको स्मरण गर्दै उनले आशंका गरे, ‘अहिले पनि त्यस्तै पो हो कि !’

०७४ सालको आमचुनावमा वाम गठबन्धनका पक्षमा परिणाम आएपछि अत्तालिएका भारतीयहरू माओवादी–एमाले एकता रोक्न चाहन्थे । त्यसका लागि प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको त्यतिबेला चर्चा थियो । स्वयं प्रचण्डले नै कैयौँ पटक आफूले प्रधानमन्त्रीको अफर त्यागेर ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको बताउने गर्नुभएको छ ।

त्यतिबेला प्रचण्डले खुट्टो टेकेकै कारण ओली प्रधानमन्त्री बनेको र दुई पार्टीको एकता सम्भव भएको भन्ने गरिएको छ । तर, त्यतिबेला बाहिर नआएको एउटा तथ्य के हो भने प्रचण्डले ओलीलाई बोकेपछि रुष्ट भएको भारतले मिति नै किटेर सरकारको आयु तोकिदिएको थियो । त्यही आसपासमा ओली सरकार ढल्यो । यसलाई संयोग मात्रै नमान्ने हो भने खास राजनीतिक परिघटनाले नेपाली राजनीतिमा वैदेशिक शक्ति केन्द्रका चासो रहने गरेको पुष्टि हुन्छ ।

‘नेकपाको सरकार बन्नुभन्दा अगाडि प्रचण्डलाई केपी ओलीलाई समर्थन नगर्नु र पार्टी एकता पनि नगर्नु भन्ने लाइनबाट कुरा आउँथ्यो । तर, उहाँले नटेरेपछि सरकारको आयु दुई वर्ष भनियो । आखिर त्यस्तै भयो, अहिले उहाँले भनेको असार १७ पनि कतै त्यस्तै केहीको संकेत हो कि भन्ने आशंका गर्न सकिन्छ’, ती नेताले भने ।

टिप्पणीहरू