गोलघरभित्र देशभरबाट को–को गए ?

गोलघरभित्र देशभरबाट को–को गए ?

भिआइपी कैदीबन्दीको पहिलो रोजाइमा पर्ने डिल्लीबजारस्थित कारागारमा अहिले करिब आठ सय कैदी छन् । घाम र हावासमेत पर्याप्त मात्रामा नछिर्ने तीन सय क्षमताको कारागारमा झण्डै तीन गुणा बढी कैदी कोचाकोच गरेर राखिएको छ । क्षमताभन्दा बढी कैदी रहेको सय वर्ष पुरानो राणाकालीन भवन अत्यन्तै जीर्ण अवस्थामा छ ।

जीर्ण भवन मर्मत नहुँदा सदरखोरमा रहेका झण्डै आठ सय कैदीको ज्यान जोखिममा परेको हो । दुई वर्षअघि भीआईपी कैदी रहेको पुरानो भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा मध्यरात ट्रान्समिटर पड्किएर कोलाहल मच्चिएको थियो । त्यसअघि पनि कारागार भवन पटक–पटक भत्किसकेको छ । कारागार विभागका अनुसार नेपालका अधिकांश जेल राणाकालकै हुन् । केन्द्रीय कारागार र नख्खु जेलमा एउटा–एउटा नयाँ भवन बने पनि पुराना संरचना जीर्ण अवस्थामै छन् ।

राज्यको उपल्लो निकायमा प्रभाव र पहुँच राख्ने थुप्रै भीआइपीले सदरखोरका नामले समेत प्रख्यात डिल्लीबजार कारागारमा जेल जीवन बिताए तर त्यो ठाउँले मुहार फेर्न सकेन । भ्रष्टाचार मुद्दामा तत्कालीन कांग्रेसका नेताहरू चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र खुमबहादुर खड्का त्यहीँ बसेका हुन् । पूर्वसभामुख तथा माओवादी प्रवक्ता कृष्णबहादुर महरा पनि त्यहीं रहे । टीकापुर सामूहिक प्रहरी हत्याकाण्डमा जन्मकैदको सजायँ पाएका सांसद रेशम चौधरी अहिले सोही कारागारमै छन् ।

त्यस्तै, पूर्वआइजीपी रमेश चन्द, श्रीमती हत्याको आरोपमा जेल परेका पूर्वडिआइजी रञ्जन कोइराला, भ्रष्टाचार अभियोगमा थुनिएका तत्कालीन अख्तियार प्रमुख दीप बस्नेत पनि सदरखोरमै बसेका हुन् । सर्वसाधारणको करोडौँ ठगीका अभियुक्त सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ र उनका हर्ताकर्ता मामा केशवलाल श्रेष्ठ ‘भिआइपी जेल’ मै छन् । किष्ट ब्यांक घोटालामा परेका कमल ज्ञवाली पनि त्यहीँ छन् ।

उता, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारको हालत पनि उस्तै छ । त्यहाँको गोलघरमा ६ जना कैदीलाई राखिएको छ । ३३ किलो सुनकाण्डमा समातिएका गोरे भनेर चिनिने चुडामणि उप्रेती र चाल्र्स शोभराज जेलभित्रको पनि सानो सेलमा छन् । जबर्जस्ती करणीको मुद्दामा सिन्धुपाल्चोकबाट समातिएर वीर अस्पताल जाँदा चैत २९ गते भागेका राजेश तिरुवालाई सात दिनपछि वैशाख ६ गते मन्दिरबाट समातेर हालै गोलघरमा राखिएको छ । खुंखार कैदीलाई राखिने ६÷८ फीटको सानो फलामे कोठालाई गोलघर भनिन्छ । झापा आन्दोलनको पहिलो कमाण्डरका रुपमा चर्चित मोहनचन्द्र अधिकारीदेखि हालका एमाले अध्यक्ष केपी ओलीसम्म गोलघरमै बसेका हुन् ।

कारागार विभागका अनुसार अहिले देशभरका विभिन्न जेलमा करिब २६ हजार कैदी छन् । जसमध्ये सबैभन्दा बढी बलात्कार, त्यसपछि हत्या र लागुऔषध मुद्दाका छन् । कूल कैदीमध्ये करिब २५ प्रतिशतभन्दा बढी जबर्जस्ती करणी मुद्दामा सजायँ भोगिरहेका रहेको तथ्यांक छ । त्यसपछि कर्तव्य ज्यान र लागुऔषध कारोबार तथा ओसारपसारको संख्या छ ।

एकातिर कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा त्यहाँको व्यवस्थापनमा समस्या परेको छ भने अर्कोतिर कैदी पाल्नका लागि राज्यले अर्बभन्दा बढी वार्षिक खर्च गरिरहेको छ । एक जना कैदीलाई सरकारले सिदाबापत मासिक झण्डै तीन हजार खर्च गर्छ । यसका आधारमा २६ हजार कैदीलाई पाल्न मासिक सात करोड ८० लाख निकाश दिनुपर्ने हुन्छ । यो वार्षिक झण्डै एक अर्ब खर्च हो । कारागारमा खटिएका ५ सयदेखि ६ सय निजामती कर्मचारीको तलब–भत्ता, प्रहरी र अन्य प्रशासनिक खर्चसमेत जोड्ने हो भने कैदीका लागि मात्र वार्षिक अर्बौं रुपैयाँ राज्यले खर्चिनुपरेको छ ।

सरकारले हरेक वर्ष विभिन्न अवसर पारेर झण्डै एक हजारको कैद सजायँ मिनाहा गरेको छ । तैपनि, थुनिनेको चाप भने घटेको छैन । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल चालचलन भएकाहरूलाई प्रजातन्त्र दिवस, गणतन्त्र दिवस र दसैँमा गरी वर्षको ३ पटक सजायँ मिनाहा गरिँदै आएको छ । ज्येष्ठ नागरिकलाई पनि कैद छुटको व्यवस्था छ । ६५ वर्षदेखि माथिकालाई तीन उमेर समूहमा वर्गीकरण गरेर अधिकतम ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । विभागका अनुसार असल चालचलन भएका र ६५ पुगेका कैदी २५ प्रतिशत, ७० कटेका ५० प्रतिशत र ७५ माथिकाले ७५ प्रतिशत कैद छुट पाउँछन् ।

सन् २००३ देखि केन्द्रीय कारागारमा कैद सजायँ काटिरहेका ७८ वर्षीय चाल्र्स शोभराजले भने यस्तो छुट पाएका छैनन् । आफू ७५ वर्ष कटिसकेकाले कानुनअनुसारको छुटको सुविधा माग गर्दै उनले सर्वोच्चमा हालेको मुद्दा विचाराधीन छ । कारागार विभागले भने नेपाली नागरिकले मात्रै कैद छुटको सुविधा पाउने कानुनी व्यवस्था रहेको प्रष्ट पारेको छ ।

टिप्पणीहरू