ज्योतिषले ओली र देउवालाई यसरी जोडेपछि

ज्योतिषले ओली र देउवालाई यसरी जोडेपछि

एकातिर सरकारले जननेता मदन भण्डारी मारिएकै दिन जेठ ३ गते संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । अर्कातिर, ‘ज्योतिष’ का नाममा देशमा अर्को राजनीतिक फण्डा भित्रिएको छ ।

जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते आर्थिक वर्ष ०७९/८० का लागि बजेट आउने कार्यसूची तय भएको छ । माधव नेपालसहितका सांसदहरुमाथि कारवाहीको माग राख्दै एमालेले जारी राखेको संसद अवरोध जेठ ३ गतेदेखि फेरि शुरु हुने हो भने नीति तथा कार्यक्रम कसरी पेश होला ?

के नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति संसदमा उपस्थित हुनुहोला ? यस्ता प्रश्न उठिरहँदा केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटासँग सोध्नुभयो, ‘नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति नआए के गर्ने ?’ भनिन्छ, प्रधानमन्त्रीले सभामुखसँग गर्नुभएको यो परामर्शबारे बालुवाटारबाट योजनावद्ध रुपमा सूचनाको चुहावट गरियो ।

यसभित्र फरक नियत लुकेको केही नेताको बुझाई छ । त्यसो त नीति तथा कार्यक्रम प्रस्तुत गर्नु राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिको संवैधानिक दायित्व नै हो । तर, कथंकदाचित इतिहासमै पहिलो पटक उहाँ अनुपस्थित भइदिनुभयो र बजेटसमेत पेश हुनबाट बिथोलिने अवस्था आयो भने यो सरकारले संसद विघटन गरेर ६ महिनापछि आम निर्वाचनको मिति तोक्न सक्छ । त्यसो हुँदा बजेट अध्यादेशबाट ल्याउनुपर्ने हुन्छ ।

संसदको विघटनलाई फेरि पनि संविधानले स्वीकार्ने ठाउँ छैन । त्यति नै सत्य कुरा हो, मंसिर १० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकै हुनुपर्छ । त्यो स्थितिमा निर्वाचनको मनोनयन पत्र दर्ता भएकै दिनदेखि संसद स्वतः निस्क्रिय हुने संवैधानिक व्यवस्था छ । संसद राखे पनि, विघटन गरे पनि यही वर्षको मंसिर १० मा आम चुनाव त गर्नैछ ।

यदि, अनुमानका कुराहरु अनुमानमै सिमित रही नीति तथा कार्यक्रम र बजेट पेश भए भने पनि अहिलेको प्रतिनिधिसभा बैठक असार दोस्रो साताभित्र अन्त्य हुने स्थिति छ । विनियोजन विधेयकमाथि हुने दफावार छलफलपछि बजेट निर्णयार्थ पेश हुन्छ । त्यो पारित हुनासाथ सरकारले पाँच महिनापछि (मंसिर) मा हुने निर्वाचनको मिति घोषणा गरिदिन्छ । त्यसपछि विशेष परिस्थितिबाहेक संसदको बैठक बसिरहनुपर्ने कुनै महŒवपूर्ण कार्यसूची हुँदैन । त्यसैले बजेट पेश सहजै पेश हुन सक्यो भने पनि त्यसपछिको स्थिति संसदको विघटनप्रायः नै हुने हो ।

राजनीतिक बृत्तमा यी तमाम आशंकाहरुको जन्मचाहिँ एकजना ज्योतिषका कारण भइरहेको छ । झापाको वर्गशत्रु सफाया आन्दोलनका सूत्रधार तथा त्यतिबेलाका कट्टर कम्युनिष्ट केपी ओलीलाई समेत धर्म, ग्रहदशा, नक्षत्रका कुराले तरंगित बनाउन सक्ने उनै प्युठानी ज्योतिष पण्डित सुरेशचन्द्र रिजाल हुन्, अहिलेको चुनावका मुखमा देशकै भविष्यवाणी गराउने पात्र, यिनले २३ सीट जितेर बसेका शेरबहादुर देउवालाई सातपटक प्रधानमन्त्री बन्ने योग रहेको बताएका थिए ।

अहिले ती ज्योतिषका पछाडि स्वयं देउवा त लाग्ने नै हुनुभयो, एमाले अध्यक्ष केपी ओलीले पनि तिनलाई ‘सुँघ्न’ भ्याइसक्नुभएछ ! केही दिनअघि एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले देउवातर्फ इंगित गर्दै ‘आफ्नै ज्योतिषलाई सोध्नु नि…!’ भन्नुसँग अहिले विकसित परिचर्चा आधारित छन् ।

कालोपुलतिर बस्ने र गत चैतमै यो गठबन्धन ध्वस्त हुने बताएर फ्लप खाइसकेका रिजालले ओलीसँग पनि १७ गते देशको राजनीतिमा उलटपुलट हुन्छ भनेका रहेछन् । बुझिएअनुसार, प्रधानमन्त्री देउवाको राशी ‘कुम्भ’ हो । उक्त राशीको गुरु नक्षत्र उल्टो हुँदा दुःख पाउने योग देखिन्छ । ओली अहिले ‘शनि’ को घेरामा हुनुहुन्छ । ज्योतिष विज्ञानअनुसार शनिको साढेसाति र अढैया दशाबाट मुक्त भएपछि मान्छेले प्रगतिको बाटो समात्छ । ओलीको यो दशा असारको १७ गते सकिने कुरा ती ज्योतिषले बताएका रहेछन् ।

दशा सकिने बेलामा ‘शुभ’ हुने र त्यसैले फलिफाप गर्ने मान्यता छ । त्यसैले देउवाका हकमा गुरु नक्षत्र उल्टो हुनु, ओलीका हकमा शनिको साढेसाती र अढैया मुक्त हुनुसँग देशको राजनीतिक तरंगले अर्थ राख्छ भनेर यावत विषय चर्चामा छन् । गुरु नक्षत्र उल्टो हुनु, अर्थात समय उल्टोसँग चल्नु भनेको गठबन्धन भत्किनु हो भनेर ओलीले पत्रकार सम्मेलनमा अथ्र्याउन खोज्नुभएको थियो ।

तर, ‘मैले देउवाकै ज्योतिषलाई सोधेको हुँ’ भन्दा लाज हुने कारण उहाँले ‘आफ्नै ज्योतिषलाई सोध्नु नि’ भन्नुभएको एक एमाले नेता बताउँछन् । स्मरणीय छ, ओली आफैँ पनि ज्योतिषपुत्र हुनुहुन्छ । उहाँका बुबा मोहनप्रसाद ज्योतिषकर्ममा संलग्न हुनुहुन्थ्यो ।

भनिन्छ, पर्सि ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन त्यही मितिमा गर्नका लागि देउवालाई उनै ज्योतिष रिजालले भनेका थिए । त्यसो त उनै ज्योतिषले पाँचदलीय गठबन्धन अघिल्लै महिना भत्किने बताएका थिए । तर, त्यसपछि गठबन्धन झनै बलियो भयो, भत्किएन । ज्योतिषले भनेको सबै कुरा पुरा हुने भए शाहवंशका राजाले प्रत्येक काम र साइत ज्योतिषलाई हेराएरमात्र गर्थे । तर, उनीहरुको वंशपरम्परा नै समाप्त हुन पुग्यो ।

ज्योतिषकै भर परेर नेपालका सेना र प्रहरीका नेपालभुषण चन्दलगायत थुप्रै उच्चपदस्थ हाकिमले संगठनको प्रमुख हुनका लागि पशुपतिमा ‘खुर्सानी पूजा’ गरे । तर, ती बीचैमा घर गए । ज्योतिषले एउटा राशीफलको मान्छेलाई कुनै दिन ‘शुभ’ भनेको हुन्छ र यात्रा गर्न उपयुक्त भन्छ, उही सवारी साधनमा यात्रारत अर्को यात्रुको हकमा ‘अशुभ’ दिन पर्नसक्छ ।

तर, ‘शुभ’ र ‘अशुभ’ यात्रु एउटै साधनमा यात्रा गर्छन्, नहुने भएपछि कुनै घटना हुँदैन । हुने भएपछि कसैले टारेर टर्दैन । त्यसैले भनिन्छ पनि, सबै कुरा ज्योतिषले भनेकै हुने भए वा तिनैले सबै कुरा पत्ता लगाउने भए सरकारले गुप्तचर किन राख्नु ? कर्मचारी खटाएर किन सम्भावित घटना निवारणको विधि खोज्नु ?

टिप्पणीहरू