बुद्ध जयन्तीकै दिन बानियाँ हिरासतमा

बुद्ध जयन्तीकै दिन बानियाँ हिरासतमा

स्थानीय निर्वाचनको मतगणना भैरहेको हेटौंडा-२ सिध्दार्थ माविमा अत्याधिक मादक पदार्थ सेवन गरी होहल्ला गर्दै पसेका नेपाली काङ्ग्रेस मकवानपुरका सँगठन बिभाग प्रमुख शैलेन्द्रराज बानियाँलाई प्रहरीले समातेको छ ।

हुन त हेटौँडामा धेरैले यस्तो कुरा नपत्याउन पनि सक्छन्, मकवानपुर प्रहरीले पूर्व गृहराज्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको परिवारका सदस्यलाई कहिले समात्छ ? समात्दैन । समाते पनि भन्दैन, छोडिदिन्छ ।

तर सधैँ त्यस्तो हुँदैन, जस्तो आज सोमबार बिहान भयो एउटा घटना । शैलेन्द्रराज बानियाँलाई जब प्रहरीले पक्राउ गर्यो त्यसपछि नेपाली काङ्ग्रेसभित्र हङ्गामा नै मच्चियो । (बिहान) करिब ३ बजे मतगणनास्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा बानियाँ पक्राउ परेका हुन् ।

मकवानपुरका एसपी सुरेन्द्र गुरुङले यो कुरा पुष्टि गर्दै बानियाँ पक्राउ परेको र प्रहरी नियन्त्रणमा रहेको स्वीकार्नु भयो । गुरुङ्का अनुसार बानियाँ केहीबेरमा छुट्दै छन् । नेपाली कांग्रेस मकवानपुरको संगठन विभाग प्रमुखका अलावा गोरक्षेश्वर मावि व्यवस्थापन समिति अध्यक्ष पनि रहेका बानियाँ ईन्द्रबहादुर बानियाँ गृह राज्यमन्त्री हुँदा स्वकीय सचिव थिए ।

प्रहरीले निर्वाचन बिथोल्न खोजेको आरोपमा बानियाँलाई मुद्दा चलाउनु पर्ने भन्दै सामाजिक सन्जालमा आवाज उठ्न थालेको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको मान्छे हो भन्दैमा प्रहरीले छोड्न खोजेको हो भने त्यो राम्रो नहुने स्थानीयको भनाइ छ ।

टिप्पणीहरू