युएईका राष्ट्रपति शेख खलीफाको निधन उनकै भाइ बने नयाँ राष्ट्रपति

युएईका राष्ट्रपति शेख खलीफाको निधन उनकै भाइ बने नयाँ राष्ट्रपति

-अनुभव शर्मा (अवुधाबी)

संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख खलीफा बीन जायद अल नह्यानको ७३ वर्षको उमेरमा निधन भयो । स्वास्थ्यमा समस्या आएपछि पछिल्लो केही महिनादेखि उनको उपचार चलिरहेको थियो । राष्ट्रपति कार्यालयले शुक्रबार उनको निधन भएको पुष्टी गरेको हो ।

राष्ट्रपतिको मृत्युपछि युएई सरकारले ४० दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ । राष्ट्रिय शोकका कारण युएईका सबै निजी तथा सरकारी क्षेत्रलाई शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि बिदा दिइएको छ । राष्ट्रपतिको निधनप्रति अरवका अन्य राष्ट्र तथा विश्वका थुप्रै मुलुकले समवेदना व्यक्त गरेका छन् ।

सन् २००४ को नोभेम्बरमा पिता शेख जायद बीन सुल्तान अल नह्यानको निधनपछि उनलाई युएईको दोस्रो राष्ट्रपति बनाइएको थियो । उनका पिता १९७१ मा युएईको पहिलो राष्ट्रपति बनेका थिए । पिताको निधनपछि उनी युएईको दोस्रो राष्ट्रपति एवम् अवुधाबी प्रदेशको १६औँ शासक बनेका हुन् ।

सन् २०१९ मा उनी चौथोपटक युएईको राष्ट्रपति पदमा चुनिएका थिए । सन् १९४८ मा जन्मिएका उनी आफ्नो पिताको जेठो छोरा हुन् । फोब्र्सका अनुसार शेख खलीफाको सम्पति ८ सय ३० विलियन डलर छ । यस सम्पतिमा ९७.८ विलियनको कच्चा तेलको निजी भण्डार पनि समावेश छ ।

यूएईको राष्ट्रपति बनेपछि शेख खलीफाले सिंगो राष्ट्रको र अवुधाबी प्रदेशको सरकारमा थुप्रै सुधार गरेका थिए । उनको शासनकालमा युएईमा विकासको लहर निकै तीव्र भयो । उनकै सहमतिमा युएईले इस्लाम देशहरुको कट्टर दुस्मन मानिने इजरायलसँग पनि मित्रता अघि बढाएको थियो । उनले युएईमा काम गर्ने विदेशी कामदारको हितमा कानून बनाउन र विदेशी नीति निर्माणमा बढी ध्यान दिएका थिए ।

दुबईस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलीफाको नाम पनि उनकै सम्मानमा राखिएको थियो । त्यस भवनको नाम पहिले बुर्ज दुबई थियो । तर, शेख खलीफालाई सम्मान दिनका लागि यसको नाम परिवर्तन गरेर बुर्ज खलीफा बनाइएको हो ।

सन् २००९ मा दुबईको अर्थ व्यवस्था संकटमा पर्दा शेख खलीफाले अर्वौं डलर सहायता गरेर दुबईलाई उकासेका थिए । त्यसपछि दुबईका शासक शेख मोहम्मद बीन राशीद अल मख्तूमले शेख खलीफाको सम्मानमा त्यस भवनको नाम परिवर्तन गरेर बुर्ज खलीफा राखेका थिए ।

मोहम्मद बीन जायद नयाँ राष्ट्रपति

यसैबीच युएईको सातै प्रदेशको संयुक्त सर्वोच्च काउन्सिलले शनिबार शेख मोहम्मद बीन जायद अल नह्यानलाई नयाँ राष्ट्रपति चयन गरेको छ । राष्ट्रपति शेख खलीफाको निधनपछि उनको उत्तराधिकारी को होलान् भन्ने विषयमा चर्चा सुरु भइरहेका बेला काउन्सिलले उनका भाइलाई युएईको तेस्रो राष्ट्रपति बनाएको हो ।

६१ वर्षीय नवनियुक्त राष्ट्रपति शेख मोहम्मद बीन जायद अल नह्यान सन् २००४ देखि अवुधाबी प्रदेशको क्राउन प्रिन्स र यूएई सुरक्षा फौजको डेपुटी सुप्रीम कमान्डर थिए । अब उनी युएईको राष्ट्रपतिसँगै यहाँको सबैभन्दा ठूलो प्रदेश अवुधाबीको शासक बनेका छन् । सन् १९६१ मा जन्मिएका नवनियुक्त राष्ट्रपतिका चार छोरा र पाँच छोरी छन् ।

नवनियुक्त राष्ट्रपतिलाई दुबईका शासक शेख मोहम्मद बीन राशिद अल मख्तूमले बधाई दिएका छन् ।

टिप्पणीहरू