हाम्रो जिन्दगी कति जटिल छ है दोस्त !

हाम्रो जिन्दगी कति जटिल छ है दोस्त !

लाग्छ, नियतीले ठगेपछि कसैको केही लाग्दैन । जुम्ल्याहा हौं हामी । जन्मियौं झापाको सेरेडाँगेमा ४३ वर्षअघि । परिवारको जेठो छोरा म आधा घण्टापछाडि जन्मिएको हो ऊ भाइ । अहिले साउदी अरबमा गाडी कुदाउँछ । मचाहिँ सडकतिर ‘साउण्ड बक्स’ घन्काउँछु । आधा घण्टाको फरकमा जन्मिएको भाइ राम्रोसँग आँखा देख्छ । तर, मलाई थाहा छैन यो संसार कालो छ कि रंगीन ? तर, मलाई दुवै वस्तु उस्तै लाग्छ । बाहिरी संसार नदेखेर के भो र ! भित्री संसारमा त सबै कुरा झलझली नियालिरहेको छु ।

जिन्दगीमा असन्तोष र गुनासो छैन केही कुराको । कहिलेकाहीँ फ्ल्याव्याकमा सम्झन्छु बालापन । पूर्वाञ्चलको ज्ञानचक्षु विद्यालय, श्री शहीद दशरथ माध्यमिक विद्यालय । जहाँ ब्रेललिपिमा अध्ययन गरेको थिएँ । ज्ञानचक्षुमा कक्षा आठसम्म अध्ययन गरें । त्यसपछि प्रवेशिका परीक्षा श्री शहीद दशरथ माध्यमिक विद्यालय धाइजन–६ झापाबाट दिएँ र उत्तीर्ण भएँ दोस्रो श्रेणीमा । एसएलसी तहसम्मको अध्ययन झापाबाटै भयो । फलामे ढोका पार लगाएपछि मोडियो जीवनको यात्रा ।

उच्च तह अध्ययनका लागि बिर्तामोड कन्काई बहुमुखी क्याम्पससम्म पुगेँ । त्यतिबेला क्याम्पस प्रमुख जयनारायण ढुंगाना हुनुहुन्थ्यो । छात्रवृत्तिको व्यवस्था पनि भयो । त्यतिले मात्रै अध्ययन खर्च कहाँ पुग्थ्यो र ? पैसा सस्तो र अरु चिज महँगो भइसकेको मुलुकमा । थप खर्च घरबाट पनि मगाउँथें । अनेकै हण्डर खेप्दै,ठक्कर खाँदै कन्काईबाट उच्च तह उत्तीर्ण गरें ।

बूढापाकाहरू भन्थे, बर्मा गए नि कर्मसँगै । जहाँ पुगे पनि, जता पाइला राखे पनि दुःखले छायाँझैं पछ्याउँदो रहेछ । अहिले पनि कहिलेकाहीँ बालापनको दुःख पीडाले सताउँछ । भुइँ मान्छेका जिन्दगीमा खुश भन्नु त दुई दिनको पाहुना न रहेछ । एक मन त लाग्छ, दुःख र सुख भन्नु पनि मनै हो । जन्मजात दृष्टिविहीन । सानो छँदा सबैले ‘अन्धो अन्धो’भनेर हेप्थे । साथीभाइसँग घुलमिल हुन पनि गाह्रो । मन लाग्थ्यो साथीहरूसँगै खेलौं । तर, सबैको उपेक्षा । सबैबाट तिरस्कार ।

लाग्थ्यो बाँच्न नसकिने रहेछ । एक्लै खेल्थें । मेरो साथी भन्नु नै कुकुर थियो । उसलाई नै डो¥याएर गाउँ डुल्थेँ । पछि सम्झिन्थें, पाँच कक्षाको पुस्तकभित्रको सन्तु र उसको कुकुरको कथा । मेरै कथा लेखेजस्तो लाग्थ्यो । पछि कुकुर पनि म¥यो । गाउँलेले नानाथरी कुरा काट्थे ।

अग्रजहरूको वचनले यसरी पोल्थ्यो कि अहिले पनि मन चसक्क हुन्छ । उहाँहरू भन्नुहुन्थ्यो ‘यस्तो जिन्दगी त के जिउनु ! बरु नजन्मिनु नै जाति ।’ कतिपयचाहिँ कुरामा कुरा मिलाउँदै भन्थे– यस्ता सन्तान जन्माउनुभन्दा बरु गर्भ बाँझो भएको बेस । लाग्थ्यो, परिवारको पनि बोझ भइयो । कर्मलाई धिक्कार्थें, दैवलाई धिक्कार्थें । गर्न त के नै सकिन्थ्यो र अरु ? तर, सृष्टिकर्ताले हरेक मान्छेलाई केही फरक उद्देश्यसहित धर्तीमा पठाएको हुन्छ । आँखा नदेखेर के भयो मनको आँखा तेजिलो छ । आँखा देख्नेहरूले झैं पढ्न थालेँ । राम्रै नम्बर ल्याएर उत्तीर्ण हुँदै गएँ । आफसे आफ टालियो अग्रजहरूको मुख ।

पढाइप्रतिको लगाव र मेरो तेज देखेर होला कुरा काट्न छाडे । बरु उनीहरूबाट माया र स्नेह पाउन थालें । विस्तारै साथीहरू बन्न थाले । जब साथ पाउन थालें, बाहिरी र भित्री संसार दुबैतिर उज्यालो छ । स्नातक तह उत्तीर्ण गरेसँगै परिवारको बोझ बनिरहन चाहिनँ । राजधानी भित्रिने सोच आयो । काठमाडौंमा दिदी–भिनाजु हुनुहुन्थ्यो । कीर्तिपुरमा बस्नुहुन्थ्यो । काठमाडौं आउँदै छु भनेँ । सुरुमा त हिच्किचाउनुभयो तर निकै कर गरेपछि कुनै आनाकानी गर्नुभएन । केही समय उहाँहरूसँग बसें । तर, बोझ थप्न मन लागेन बालकुमारीतिर सरें ।

केही बन्नका लागि र केही गर्ने उद्देश्य बोकेर राजधानी छिरेको पनि २० वर्ष बितिसकेछ । हातमा सर्टिफिकेट थियो स्नातक तह उत्तीर्ण गरेको । तर, आँखा नदेख्ने हामीजस्ता मान्छेलाई कुन मनकारीले रोजगारी दिँदा रहेछन् र ? केही अघि मात्र एनएमबी क्यापिटलको म्यानेज्मेन्ट ट्रेनी पदमा नाम निकालेका २६ वर्षीय सौरभ कार्कीमाथि यस्तै विभेद गरेको सुनियो । माष्टर्स डिग्रीमा फष्र्ट डिभिजन र फाइनान्स स्पेसलाइजेसनको माग रखिएको सो पद किंग्स कलेजबाट एमबिए (फाइनान्स) ३.९७ जिपिएका साथ उत्तीर्ण भएका सौरभलाई एनएमबीले रिजेक्ट गर्नुको कारण रहेछ अपांगता ।

यो शहरले हामीजस्ता अपांग, दृष्टिविहीनहरूलाई कहाँ प्रेम गर्छ र ? कुनै मनकारी भेटिएनन् । सर्टिफिकेट बोकेर जागिर खोज्दै कहाँ–कहाँ मात्र पुगिएन ? माइतीघरस्थित युनाइटेड मिसन टु नेपालको कार्यालयमा पुगेँ । त्यहाँ नारायण कार्की हुनुहुन्थ्यो । त्यसपछि त कति ठाउँमा पुगेँ, पुगेँ । आफैँलाई थाहा छैन ।

नेत्र संगीतमा पनि गीत गाउन गइयो तर फेल भइयो । त्यसपछि पुस्तक, लप्सीको अचार, चियापत्ती, साबुन, धुप, कलम बेच्न थालें । अहिले सडकमा गीत बेचिरहेको छु चोकमा कहिले नारायण गोपालका गीत, कहिले राजेशपायल राई, रामकृष्ण ढकाल, यशकुमार परियारको गीत पनि गाउँछु । उनीहरूको ठाउँमा मै छु जस्तो ‘फिल’ गर्छु । तर, त्यो हुन चाहेर पनि सम्भव छैन ।

जीवन जिउने साहरा बनेको छ लठ्ठी । त्यसैको सहारामा एक्लै जहाँ पनि पुग्छु । बाटोमा हिँड्दै गर्दा कतै लडेँ भने देख्ने जो –कोहीले सहयोग गर्नुहुन्छ । कहिलेकाहीँ सम्झन्छु २० वर्षअगाडि काठमाडौँ आउँदाका कहानी । तिहारमा रातभर देउसी भैलो खेलेर काठमाडौं भित्रिएको हुँ । आखिर जीवन भन्नु नै सास अड्याउनु रहेछ । नियतीले नै ठगेपछि कसको के लाग्छ र ! तर, भगवानसँग कुनै बिलौना छैन । जे छु ठीकै छु ।

सायद पूर्वजन्मको सजायँ पो भोगिरहेको छु कि ! कहिलेकाहीं भाइसँग आफूलाई तुलना गर्छु । उसले बिहे गरिसकेको छ । एउटा छोरा र छोरी छन् । गुडियाजस्तै पो छन् त ! बाहिरी आँखाले उनीहरू कस्ता होलान् त्यो कसरी देखुँ ! सम्झन्छु सँगै पढेका साथीहरू । कोहीले डिग्री पास गरे । कोही अमेरिका, हङकङ पुगे । मचाहीँ यही शहरको उही सडकमा छु । कहिले चाबहिल पुग्छु, कहिले पुतलीसडकतिर आइपुग्छु । यही शहरका कुनाकन्दरामा गीत गाउँदै हिँड्छु । आफ्नो भाग्य नै रहेनछ भन्ने सोच्छु ।

आखिर हरेकले जीवन गुजार्ने भनेकै दुःखैले रहेछ । जीवन सिँगार्ने भनेको दुःखैले रहेछ । बालापनमै आमा बित्नुभयो । बेला–बेलामा बुवालाई भेट्न जान्छु । बृद्ध बुवाको म साहरा बन्नुपर्ने तर मेरै अवस्था यस्तो छ । मलाई नै डो¥याउनुपर्छ । उहाँलाई यहाँ ल्याएर आफूसँगै राख्न मन लाग्छ । हरेक दिन उहाँकै वरिपरि रहन मन लाग्छ । तर, मेरै अवस्था यस्तो छ, उहाँलाई कसले डो¥याउने ?

मान्छेहरू भन्छन्– शहर स्वार्थी छ । यो शहरमा कोही मायाले हेर्छन्, कोही दयाले । आखिर दया–मायामा पनि कति धेरै अन्तर हुँदो रहेछ । हो, यहीं मैले एक जना मनकारी आमा भेटें । हामी सबै सीता आमा भन्छौं । उनैले खाना दिन्छिन् । लुगा पनि धोइदिन्छन् । उनै हुन् मेरी आमा । ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि भेट भयो । र, हामी सँगै बस्न थाल्यौँ । सडकको छेउछाउतिर गीत गाउने क्रममा भेट भएको हो । कोरोना कहरमा उनकै आश्रयमा म हुर्किरहेको छु ।

आखिर जीवन भन्नु पनि सहयोग न रहेछ । त्यही संयोगले उनीसँग भेटिएको हो । आफ्नालागि मात्र होइन, हामीजस्तै समस्या भएका दृष्टिविहीनका लागि बाँच्ने प्रण गरेर बुद्ध दृष्टि अपांग आश्रम दर्ता गराएका छौं । म सो संस्थाको भाइटल पोस्टमा छु । जसका अध्यक्ष छन् मदन राई । सीते आमा सो संस्थाको सदस्य हुन् । अहिले हामी एउटै संस्थाका पदाधिकारी पनि हौँ । संस्थाको सबै कामकारबाही उनैले गर्छिन् । । यसरी हामी एकअर्काबीच सुख, दुःख साँटिरहेका छाँै । खुशीसँगै बाँचिरहेका छौं । अरुका लागि पनि बाँच्ने प्रयास गरिरहेका छौं ।

– हेम, हाल कपन

टिप्पणीहरू