विचार, पत्रकार र समाचार

विचार, पत्रकार र समाचार

– दीपक खनाल

संस्कृतमा एउटा भनाइ छ, याद् भवम् तद् भवति । अर्थात् जस्तो सोच्यो त्यस्तै हुन्छ । चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिका नायक माओ त्सेतुङका अनुसार कुनै पार्टी वा संगठनको सफलता, असफलता उसले लिने विचारले नै निर्धारण गर्छ । धेरैअघि आध्यात्म विज्ञानले पनि मानिसले लिने विचारले उसको अघिको यात्रा निर्धारण हुने बताएको छ । हाम्रा धर्मशास्त्रमा विचारलाई महान् र शक्तिशाली मानिएको छ । विचार सकारात्मक र नकारात्मक वा सही र गलत हुन्छ । यी दुवै विचारहरू उत्तिकै प्रभावशाली हुन्छन् ।

जस्तोः चोर्ने विचार लिने मान्छे कालान्तरमा चोर नै बन्छ । भ्रष्टाचार गर्ने कर्मचारी महाभ्रष्ट बनेर निस्कन्छ । विचारका आधारमा वाणी प्रस्फुटन र व्यवहार प्रदर्शन हुन्छ । त्यो वाणीमा निकै ओज हुन्छ । जस्तो : ओम् एउटा अक्षर हो । तर यसको उच्चारण गर्दा सिंगो ब्रह्माण्ड गुञ्जायमान हुन्छ । यसले मानिसको मस्तिष्कदेखि शरीरभित्र नै हलचल ल्याइदिन्छ । यस्तै आध्यात्मिक गुरुहरू विचारमा खानाको समेत प्रभाव पर्ने र खानाअनुसार विचार निर्माण हुने बताउनुहुन्छ । जस्तो शाकाहारी र मांसाहारीको स्वभाव, व्यवहार एउटै हुँदैन ।

यस्तै सरसंगत, पारिवारिक पृष्ठभूमि आदिले विचार निर्माणमा भूमिका खेल्दछ । संगतले त विचार निर्माण मात्र हैन, जीवनकै बाटो मोडिदिन्छ । जस्तै ः अंगुलीमाल गौतम बुद्धलाई नभेट्दासम्म नामुद डाँकु, हत्यारा थिए । एक दिनको कुरा हो, ९९ मानिसको हत्या गरेपछि बुद्धसँग भेट भयो । उनी बुद्धलाई मारेर सयौँ औँलाको माला बनाउने सोच्दै थिए, बुद्धको वाणी सुनेर टक्क रोकिए । उनले उठाएको तरबार चल्न, चल्मलाउन सकेन । बुद्धको विचारका कारण जीवनले काँचुली फे¥यो ।

उनी बुद्धका प्रतिभावान भिक्षुको रूपमा स्थापित भए । यहाँनिर यस घटनालाई दुई कोणबाट बुझौँ । एक बुद्धको विचारको शक्तिका कारण अंगुलीमालको जीवनले १८० डिग्रीकै फन्को मा¥यो । अर्काे अंगुलीमाललाई कसैले दिएको गलत विचारका कारण उनी सयजना मानिसको हत्या गरेर औँलाको माला लगाउने गलत बाटो हिँडेका थिए । मान्छे त्यही हो, दुई फरक विचारले कहाँबाट कहाँ पु¥याउँदो रहेछ एउटै जीवनलाई ! विचार सकारात्मक नकारात्मक, गलत, सही जे भए पनि बलियो नै हुँदोरहेछ । राम र रावण दुवै विद्वान् हुन् ! रावण त धन, सम्पत्ति, बल, सैन्य शक्तिमा रामभन्दा निपूर्ण थिए तर सीताप्रति लिएको गलत विचारका कारण उनी मात्र हैन, राज्यकै पतन भयो ।

पत्रकारको विचारको प्रभाव समाचारको विषय छनोटदेखि सम्प्रेषणसम्म मात्र होइन, समाज रहँदासम्म दीर्घकालीन रूपमा पर्दछ । त्यसैले भनिन्छ विचारको कहिल्यै अन्त्य हुँदैन । राम्रा, नराम्रा सबै विचार ब्रह्माण्डमा अभिलेख भएर बसेको हुन्छ । आज बीपी कोइराला र मदन भण्डारी छैनन् तर पनि मुलुकका दुई ठूला पार्टी उनीहरूकै विचारका आधारमा टिकिरहेका छन्, बिकिरहेका छन् । ऋषिमुनिहरू छैनन् तर समाजमा उनीहरूको प्रभाव छ । माक्र्सवाद आजको विश्वमा पाच्यात्य मुलुकले समेत स्वीकार्नेे सबैभन्दा प्रभावशाली विचार हो ।

पत्रकार आफैँमा स्वतन्त्र होइन र हुँदैन पनि ! ऊ पनि यही जगतको प्राणी भएको हुँदा माथि भनिए झैँ उसको विचार सामाजिक अवस्थाबाट बन्दछ । त्यसैले होला ऊ आफूलाई कानुनभन्दा माथि मान्छ । के के न ठान्छ । विश्वको पत्रकारिता र यहाँको अभ्यासबाट प्रष्ट हुन्छ कि पत्रकार, समाचार माध्यम पूर्ण स्वतन्त्र हुन्छन् भन्ने कुरामा व्यक्तिगत रूपमा मलाई विश्वास छैन । भए पनि त्यो स्वच्छन्दतावादी बनिदिन्छ । १५ वर्षे सक्रिय पत्रकारितामा कहिल्यै पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति भएन । झण्डै २० बटा समाचार माध्यममा काम गर्दा कहिल्यै आफ्ना समाचार, विचार, आलोचनालाई विना सेन्सरसिप छाप्न पाइएन ।

लगानीकर्ता वा सञ्चालकलाई एकछिन बिर्सने हो भने खासगरी सम्पादक वा पत्रकारको बुझाइमा एजेण्डाहरू सेट हुन्छन् । किनकि मिडिया र पत्रकार एजेण्डा सेटर पनि हुन् । एजेण्डा सेट सकारात्मक, नकारात्मक दुवै किसिमबाट गरिन्छ । त्यो सही वा गलत, सन्तुलित वा पूर्वाग्रहीपूर्ण हुन सक्दछ । पत्रकार, सम्पादकले कसलाई हान्ने, कसलाई मान्ने भनेर समाचार कक्षमा गोप्य सल्लाह गर्छन् । पत्रकार र सम्पादकको ज्ञान, विचार, संकीर्णता, पूर्वाग्रह, आग्रह, अनुग्रहका आधारमा विषयवस्तुको छनोट हुन्छ । जस्तोः कम्युनिष्ट विचार लिने पत्रकारले पक्कै पनि कम्युनिष्टलाई फाइदा हुने विषय लिन सक्दछ ।

आज एउटा पार्टीलाई ठोक्ने हो, अर्काे पार्टीलाई बोक्ने हो, एउटालाई नंग्याउने हो, अर्काेलाई उठाउने हो भनेर माइन्ट सेट बनाउने पत्रकारले कसरी स्वच्छ पत्रकारिता गर्ला ? म पत्रकारलाई वाहवाह ठान्ने मान्छेलाई यो भ्रम नपरोस् भन्न चाहन्छु । ठुल्ठूला पार्टीसँग त पत्रकार पूर्वाग्रही नहुने कुरै भएन । काउन्सिल आएपछिकै कुरा हो । एकपटक गोरखापत्र दैनिकमा एंकर समाचार छापियो । शीर्षक ठ्याक्कै याद भएन तर त्यो सञ्चारसँगै जोडिएको विषय थियो ।

आचारसंहिता उल्लंघनको विषयमा त्यहाँको अधिकृत स्तरका कर्मचारी पत्रकारले दिउँसै रात पारे ! सूचना अधिकारी म छु तर तिनले मेरो पदसमेत अर्कै साथीलाई थपिदिएर सूचना अधिकारी भनी उनको भनाइ राखेछन् । स्नातकोत्तर गरेका ती पत्रकारलाई के भन्ने ? मसँग जोडिएको व्यक्तिगत विषय भएकाले कतै चर्चा गरिन । उनलाई सथ्य, तथ्य बंग्याउन हुन्न भन्ने थाहा नभएको होइन । गल्ती भएको भए सच्याउन साहस गर्ने थिए । तर त्यो सरासर पूर्वाग्रही भएर तयार पारिएको समाचार थियो । सायद मेरो पूर्ववत् पृष्ठभूमिलाई लिएर उनी मप्रति वायस भएका थिए । जबकि काउन्सिल छिरेपछि म कुनै सक्रिय राजनीतिमा संलग्न नभएको विषय घामजत्तिकै छर्लङ थियो ।

मेरै जिल्लाका धेरै साथी काठमाडौँ बसेर पत्रकारितामा गर्छन् । कोही टिभी पत्रकार छन् । एकपटक आचारसंहिताका विषयमा बाइट लिन परेछ । भन्नाको कारण । किनकि मेरो बाइट लिँदा सबैले मलाई चिन्छन् रे ! जिल्ला, गाउँमा उनीभन्दा म चर्चित हुन्छु रे ! सामान्य मानिसको विषयमा त यी यति पूर्वाग्रही हुन्छन् भने राष्ट्रिय राजनीति, ठुल्ठूला फाइदा, घोटालाका विषयमा कस्ता हुँदा हुन् ?

समाजलाई सही विचार दिनुको सट्टा गलत विषयको प्रचार गर्ने व्यक्ति आज पुरस्कृत हुने गरेको छ । हरेक क्षेत्रमा उथलपुथल भइसक्यो । नयाँ–नयाँ प्रतिभाहरू जन्मिसके । तर हाम्रो मूल प्रवाहका मिडियामा यति सिण्डिकेट छ कि तिनीहरूमा दशौँ, बिसौँ वर्षदेखि उही पुरानै अनुहारका विचारले मात्र स्थान पाउँछन् । चलचित्र, साहित्यिकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले हाच्छिउँ गरेको विषयलाई नै के के न समाचार बनाएर अडियन्सलाई जवजस्ती लाद्ने गरेको पाइन्छ ।

समाचार र विचार फरक फरक विषय हुन् पत्रकारिता क्षेत्रकै । समाचारको ठाउँमा विचार मिसाउनु भनेको मीठो खाने कुरामा बैरोध्य खाने कुरा मिसाएर खाने कुरालाई विषाक्त बनाउनु जस्तै हो । हो, साप्ताहिक, मासिक मिडियाले विश्लेषणात्क समाचार दिन सक्छन् । तर यसरी दिँदा पनि सत्य, तथ्य, तथ्यांकलाई तोडमोड गर्ने अधिकार कुनै पत्रकारलाई हुँदैन । हामीकहाँ अहिले दैनिक मात्र होइन अनलाइन मिडियामा सम्म समाचारलाई विचारजस्तो बनाएर प्रस्तुत गर्ने तीव्र प्रतिस्पर्धा छ ।

पत्रकारका विचारलाई छुट्टै स्थानमा दिन सकिन्छ तर पत्रकारले त्यसो नगरी समाचारमै विचार, धारणा दिँदा र विभिन्न रेडियो, टिभीका कार्यक्रममा यथार्थ भन्दा एकोहोरो भाषण गरिँदा त्यसले सही सूचना ग्रहण गरेर स्वतन्त्र धारणाा बनाउने अडियन्सको अधिकारको हत्या भइरहेको छ । समाजमा यस्ता व्यक्ति नेताभन्दा बढी हाइहाइ हुनुको कारण यही हो किनकि सत्य, तथ्यमा नपुगी नेताहरूले बोलेका भाषण, अभिव्यक्ति तथा क्रियामा टेकेर मिडियाबाट एकोहोरो चिच्याउनु कुन ठूलो बहादुरी हो र ? यसलाई कस्तो पत्रकारिताको दर्जा दिने ? दर्जा दिनै परेको अवस्थामा यसलाई प्रतिक्रियावादी पत्रकारिता भनिदिऔँ न !

सारमा हुनुपर्ने पत्रकारिता राम्रो र नराम्रो, ठीक र बेठीक, त्यो हुन सकेको देखिएन । राम्रोभन्दा हाम्रो पत्रकारिता कायम रहयो । पत्रकारले पुराना विषयलाई पृष्ठभूमिमा त राख्न सक्छ, त्यसलाई नयाँ झैँ बनाएर गलत सन्देश जाने ढंगले पस्किने होइन । जस्तै बाँदरमुढे, टाउकाको मोलका प्रसंगलाई अहिले बारम्बार उठाएर राजनीतिक समझदारीलाई अन्त मोड्ने होइन । राणाकाललाई इतिहास सम्झेर बोध गर्ने हो त्यसलाई अहिले पनि निरंकुश ठानेर अहिलेका राणाका सन्तानलाई टाउकोमा हान्ने होइन ?

पञ्चायत र ज्ञानेन्द्रको रिसले ह्रदयेन्द्रको दाँत झार्ने हो र ? भ्रष्टाचारीसँग हात मिलाएर, सँगै पिएर, बसेको पत्रकारले कसरी स्वच्छ, स्वस्थ, समाचार सम्प्रेषण गर्छ ? स्रोत सँगसँगै बसेर पिउने, विदेश सयर गर्ने, उस्तै परे सुरा सुन्दरीमा संलग्न हुने पत्रकारले गल्ती गर्दा पनि कसरी समाचार बनाउला ?

टिप्पणीहरू