एमाले इञ्चार्ज आफ्नै वडामा परास्त, पिएले बढाए ५ भोट

एमाले इञ्चार्ज आफ्नै वडामा परास्त, पिएले बढाए ५ भोट

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इञ्चार्ज झपट बोहराले वडामै आफ्नो इज्जत जोगाउन सकेनन् । बोहराको वडा बान्नीगढी जयगढ गाउँपालिका ६, दर्नामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगतबहादुर थापा वडाध्यक्षमा विजयी भएका छन् ।

थापासहित गठबन्धन विजयी भएको छ । उनले ६९९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चंखबहादुर रावतले ५२२ मत प्राप्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा तत्कालीन माओवादीका तर्फबाट आर्थिक मामिला मन्त्री रहेका बोहरा माओवादीबाट एमाले प्रवेश गरेर अछाम जिल्ला इञ्चार्ज बनेका हुन् ।

जिल्ला अधिवेशनमा आफ्ना स्वकीय सचिव आदर्श साउदलाई पार्टी जिल्ला सचिवको उम्मेदवार बनाएका बोहराको त्यतिबेला चर्को आलोचना भएको थियो । बोहराको स्वकीय सचिव रहेका आदर्श साउदको वडा रहेको रामारोशन गाउँपालिकाको तालीमा ३०५ मतसहित नेकपा एमाले दोस्रो भएको छ । अघिल्लो निर्वाचनमा उक्त वडाबाट नेकपा एमालेले ३०० मत प्राप्त गरेको थियो । बोहराका स्वकीय सचिव साउदले ५ मत थपेको देखिन आएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली काँग्रेस,नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हो ।

बोहरा राजनीतिमा लाग्नुअघि आफूलाई बैंकर र व्यवसायी भनाउँथे । उनी कुनै समय काँग्रेस कार्यकर्ताको रुपमा सुदूरपश्चिममा चर्चित थिए । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भएलगत्तै माओवादीमा छिरेर एमालेले अघिल्लो निर्वाचनमा बहुमत ल्याउने छाँट देखेपछि त्यता लागेका हुन् । त्यसपछि प्रदेशको मन्त्री बने ।

केही समय मालिका विकास बैंककाे प्रमुख कार्यकारी अधिकृत र अर्को एउटा विकास बैंककाे अध्यक्ष बने । बोहरा नेपाल राष्ट्र बैंकबाट सबैभन्दा धेरै खप्की खाने विकास बैंकका अध्यक्ष र  प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

बोहराका अछामी समकालीनहरु भन्छन्, ‘उमेरमा उनी र हामी बम्बईमा गएर काम गरेका थियौं । खाइलाग्दो जीउ र हँसिलो अनुहार भएकाले उनी ढोकामा उभिन्थे,हामी पकाउने ठाउँतिर ।’

टिप्पणीहरू