बराबरी मत आएपछि गोला तान्दा कैलेको जीत

बराबरी मत आएपछि गोला तान्दा कैलेको जीत

जम्माजम्मी ६५ सय ३८ जनसंख्या रहेको हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेमा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले ३ सय २० मत ल्याएका प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत प्राप्त गरेका । जम्मा ७ सय ११ मतदाता रहेको चामेमा ६ सय २० मत खसेको थियो ।
अघिल्लो स्थानीय निर्बाचनमा पनि उनै लोकेन्द्र पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामाले ३ सय २५ मत ल्याएर विजयी भएकी छन्। लामाको प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत प्राप्त गरिन्।

वडा तर्फ वडा १ मा एमालेका खड्कजंग गुरुङ र २ मा नेपाली कांग्रेसका मंगलसेब गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ३ मा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत प्राप्त गरेका थिए। वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत मात्रै प्राप्त गरे ।

वडा नम्बर ५ मा भने गज्जब भयो । एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले ३०र३० मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो । गोला प्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

उक्त वडामै खुला सदस्यमा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टले पनि २८र२८ मत प्राप्त गरे । दुवैको सहमतिमा गोलाप्रथा गर्दा एमाले कै समिरा गुरुङ विजयी भएका छन् । नार्पाभूमि गाउँपालिकामा भने कांग्रेसका कान्जो तेन्जिङ लामाले स्वतन्त्रका कृष्णबहादुर लामालाई ४७ मतान्तरले हराएका छन् । तेन्जिङ लामाले १ सय ५८ मत प्राप्त गरेका थिए भने स्वतन्त्रका कृष्णले १ सय ११ मत प्राप्त गरेका थिए । तेन्जिङ अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उपाध्यक्ष निर्विरोध निर्बाचित भएपछि कांग्रेस प्रवेश गरेका हुन् ।

-अञ्जनकुमार ।

टिप्पणीहरू