प्रधानमन्त्रीको दैलो नजिकैको मतदान केन्द्र नै अस्तव्यस्त

प्रधानमन्त्रीको दैलो नजिकैको मतदान केन्द्र नै अस्तव्यस्त

प्रधानमन्त्रीको सरकारी निवास र मुलुकको केन्द्रीय बैंकको सामुन्ने रहेको मतदानस्थलको अवस्था अस्तव्यस्त पाइएको छ ।

चार वटा मतदान केन्द्र राखिएको उक्त मतदानस्थलमा चार हजार बढी मतदाता छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मतदान केन्द्रमध्ये ‘ग’ केन्द्रमा सबैभन्दा बढी समस्या देखिएको त्यहाँ मतदान गर्न गएका मतदाताले बताएका हुन् ।

काठमाडौंका अन्यत्र मतदान केन्द्र र त्यहिँका ‘क’, ‘ख’ र ‘घ’ केन्द्रमा बढीमा २० मीनेटमा मतदाताले मतदान गरे पनि ‘ग’ केन्द्रमा भने बिहानैदेखि लाइन नसरेको हो । मध्यान्हको समयमासमेत उक्त केन्द्रमा कम्तीमा ५० मीनेट लाइन बस्नु परेको उनीहरुको गुनासो छ ।

‘ग’ केन्द्रकी सहायक मतदान अधिकृतका कारण लाइन ढिलो भएको अन्य कर्मचारीले बताए । मतपत्र च्यातेर दिने सहायक मतदान अधिकृतले अधिकांश मतदातालाई मतदाता शिक्षामा झैँ पढाएपछि लाइन नसरेको हो ।

त्यसैगरी उक्त केन्द्रमा अधिकांश मतदाताको नामावलीमा क्रमसंख्या नमिलेको कारण धेरै ढिलो भएको राजनीतिक दलका प्रतिनिधिहरुले बताए ।

बालुवाटार ४ नम्बर वडा कार्यालय र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा राखिएको मतदानस्थलमा बृध्दबृद्धा र अशक्तहरुको लागि कुनै विशेष व्यवस्था गरिएको पाइएन । उनीहरुलाई पर्याप्त बस्ने स्थान नभएको, ‘घ’ मतदान केन्द्रमा जाने जो कोहीले सिँढी चढ्नुपर्ने र ओर्लंदासमेत सिँढीबाट ओर्लेर फेरि पूर्वतर्फको अर्को सिँढीबाट सडकमा ओर्लंदा उनीहरुलाई निकै असुविधा भएको बताइन्छ ।

त्यसैगरी मतदान गरेर बाहिर निस्कने सबैलाई तोकिएको बाटोमा पनि सिँढीबाट ओर्लनुपर्ने भएकाले विशेषगरी बृध्दवृद्धा र अशक्तहरुको निम्ति निकै अप्ठेरो देखिएको हो । एक जना बृद्ध मतदाताले भने,‘मतदान गर्न कोठाभित्र पर्याप्त उज्यालोसमेत थिएन ।’

टिप्पणीहरू