कांग्रेससामु अनि कमरेड लम्पसार

कांग्रेससामु अनि कमरेड लम्पसार

एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई ‘विजातीय गठबन्धन’ भनिरहँदा उहाँकै पार्टीका मान्छेहरु जग्गा दलालीको नातामा त्यस्तो गठबन्धन गर्न तम्सिएको उदाहरण संघीय राजधानी काठमाडौंभित्रै भेटिएको छ ।

०७४ को निर्वाचनमा नागार्जुन नगरपालिकाको मेयर चुनाव जित्ने नेपाली कांग्रेस उम्मेदवार मोहन बस्नेतले एमालेका कृष्णहरि खत्रीलाई २ सय ३५ मतले पराजित गरेका थिए । यो काम अरुका कारण हैन, कृष्णहरिकै पार्टीका दुई नेताको कारण भएको हो भनी पार्टीमा उजुरी पनि पर्यो । तर, सुनुवाई नहुँदा अहिले कृष्णहरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट उठेका छन् । उतिबेला जितेका मोहन फेरि पनि कांग्रेसबाटै उम्मेदवार छन् । ०७४ मा कृष्णहरिलाई हराउनका लागि भरमग्दुर प्रयत्न गर्ने भनी आरोपित एमालेका प्रदेश सांसद प्रकाश श्रेष्ठ र केशवराज पोखरेलले अहिले आफ्नो पार्टी जिताउन हैन, जसरी पनि मोहनलाई जिताउन र कृष्णहरिलाई हराउनका लागि भूमिका खेलिरहेको आरोप छ । जबकि त्यहाँ एमालेबाट स्युचाटार निवासी नन्दनहरि गौतम प्रतिस्पर्धी छन् ।

पार्टीले मेयरको टिकट प्रकाशलाई दिएको थियो । तर, मोहनले हार्लान् भनेर प्रकाश उठेनन् । पार्टीले उठाएका नन्दनहरिलाई जिताउन पनि खासै सक्रिय छैनन् । यसचोटि पहिला कृष्णहरिको नियतिको शिकार नन्दनहरि हुने खतरा बढेको छ । प्रकाश इचंगुनारायण र केशव रामकोटका बासिन्दा हुन् । उनीहरुले गरेको सहयोगका कारण कांग्रेसका मोहनले ०७४ मा ६ हजार ९ सय ६१ मतका साथ जितका थिए भने कृष्णहरिले ६ हजार ७ सय २६ मात्रै पाए ।

जग्गा दलालीको नाताले गाँसिएको सम्बन्धका कारण फेरि पनि एमालेलाई राजधानीभित्रै पु¥याउन लागेको क्षतिबारे पार्टीले उति चासो नदिइरहेको त्यहाँका कार्यकर्ता बताउँछन् । एक त, स्युचाटारकै कृष्णहरि कलम चिह्नबाट उठ्दा एमालेको भोट बाँडिदैछ, त्यसमाथि छिमेकी गाउँका कमरेडहरुको अन्तर्घात उत्तिकै चर्को छ । यो अन्तर्घातको श्रृंखलाले ०७४ मा उपमेयर जितेर अहिले फेरि त्यही पदमा उठेकी सुशीला अधिकारी मारमा पर्ने भएकी छन् । डिएसपी श्याम खत्रीकी पत्नी उनले ०७४ मा कांग्रेसकी कल्याणी खड्कालाई जम्मा ८० मतले जितेकी थिइन् । यसचोटि फेरि कल्याणीसँगै लड्दै छिन् ।

-दिनेश वडाल, सीतापाइला

टिप्पणीहरू