को–को कलाकार कता–कता कुदे ?

को–को कलाकार कता–कता कुदे ?

चैते कलाकार कहिले कुन दलको मादल बन्छन्, कहिले कुन दलको । आवश्यक छउञ्जेल ‘घिन्ताङ घिन्ताङ’ मादल बजायो, खरी झरेपछि एउटा कुनामा फालिदियो । कलाकार पनि उस्तै, सीमित स्वार्थ बोकेर कुनै दलको झण्डा बोक्ने अनि स्वार्थपूर्ति नभएपछि चैते प्रवृत्ति देखाउने । भुवन केसीले बल्खु गएर पूर्वप्रधानमन्त्री झलनाथ खनालकै हातबाट पार्टी सदस्यता मात्र लिएनन्, चुनावको टिकट दिन्छु भनेर पछि थाङ्नामा सुताइयो । यही झोंकमा अघिल्लो साता उनी जय नेपाल पार्टीमा श्वेता खड्का र रवीन्द्र खड्कासँगै प्रवेश गरेका छन् ।

यसअघि दरवार निकट र माओवादी हुँदै चारतारे झण्डामुनि गएका नीर शाहकै जोडबलमा उनीहरू कांग्रेस बनेको सिनेकर्मीबीच चर्चा छ । अवसरको खोजीमा कहिले यो दल त कहिले अर्काे दल चहार्नेमा भुवन अग्रपंक्तिमा छन् । यसअघि खाँट्टी एमालेका रूपमा चिनिएका भुवनबाट ०७० सालको संसदीय निर्वाचनमा पार्टीले टिकट खोसेको थियो । भुवन चलचित्र विकास बोर्डमा जान चाहन्थे तर एमालेले दयाराम दाहाललाई लगेपछि चिढिए । अहिले स्थानीय तह निर्वाचनको मुखमै राप्रपामा प्रवेश गर्नका लागि तारन्तार राजेन्द्र लिङ्देनसँग वार्ता गरे तर कुरा मिलेन । स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उठ्न लागेको चर्चा चल्यो तर त्यसै सेलायो ।

यी सबै गतिविधिका बावजुद भुवन कांग्रेसी बनेका छन् । कलाकर्मीका अनुसार उनी यसरी हठात् कांग्रेसी बन्नुको पछाडि भुवनको नजर गोपीकृष्ण नगरमा रहेको चलचित्र विकास बोर्ड हो । आगामी २२ जेठदेखि बोर्ड रिक्त हुँदै छ । सञ्चार मन्त्रालय कांग्रेससँगै भएको कारण अध्यक्ष खानका लागि भुवन कांग्रेसी बनेको कांग्रेसी चलचित्रकर्मी सुनाउँछन् । हालै मात्र कांग्रेसी बनेका रवीन्द्र एमालेबाट पनौतीको मेयरका आकांक्षी थिए । रवीन्द्रलाई सांँस्कृतिक संस्थान र श्वेतालाई पर्यटन बोर्डमा नियुक्ति दिलाउने शर्तमा चारतारेमुनि लगिएको कांग्रेसी चलचित्रकर्मीले जनआस्थालाई बताए ।

एमाले बनेकी सरिता लामिछाने जय नेपाल पार्टीमा प्रवेश गरिसकेकी छन् । राजावादीबाट पञ्च हुँदै माओवादी भएका नीर शाह पनि कांग्रेस बनिसकेका छन् । नेपाल टेलिभिजनको अध्यक्ष बन्ने प्रयास गरे तर सफल भएनन्, राष्ट्रिय सभामा मनोनीत हुने चाह राखे सफल भएनन् । जीवनभर दरबार, पञ्च र गाई पार्टीको हितमा काम गरेकी कोमल वली अहिले खाँट्टी कम्युनिष्ट मात्र बनेकी छैनन्, केपी ओलीको निगाहमा केन्द्रीय सदस्य छन् । कोमल ओलीझैं सूर्यकुमारी अर्थात् करिष्मा मानन्धर हालै एमाले बनेकी छन् । गोपीकृष्ण हलका मालिक उद्धव पौडेलले हालैमात्र कमल थापाको पार्टी छाडेका छन् । लामो समय कमल थापाका लागि खर्चको जोहो गराइदिने जिम्मामा थिए । रक्सीका नाममा एफएम चलाउने प्रदीपकुमार उदयहरू यसअगाडि नै गाई पार्टीमा लागेका छन् । कांग्रेसको महाधिवेशनमा प्रतिनिधिको उम्मेदवार बनेकी निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई पराजित भइन् ।

कुनै समय प्रचण्डसँग ‘कि लाऊ मायाँ मैतिर कि लाऊ उहीतिर निर नलाऊ दुईतिर’ गीतमा नाचेर होस् वा वाइसिएल अध्यक्ष सागर थापालाई भाइटीका लगाएर– रेखा थापा माओवादी नजिक देखिएकी थिइन् । अहिले राप्रपामा छिन् । युवराज लामाकै समकक्षी हुन् कृष्ण मल्ल, शम्भुजित बाँस्कोटा, राजेन्द्र खड्गी, भुवन केसी । मोहन निरौला, चेतन कार्की, शिव श्रेष्ठ राजावादी हुँदै माओवादी बने । शम्भुजित जतिको अवसर पाउने कलाकर्मी सायदै होलान् । राजनीतिक दल अदल बदलको मामलामा सर्वाधिक चालु मानिन्छन् निर्देशक नारायण पुरी । विद्यार्थी राजनीति गर्दा मसालको कार्यकर्ता मानिने पुरी समयक्रमसँगै कांगे्रस, राजावादी र माओवादी बने ।

पुरानो पुस्ताका कलाकारको पार्टी र तिनको नेतासँग नाटकीय नै भए पनि राम्रो सम्बन्ध भएपछि नयाँ पुस्ताका कलाकारले कुनै नेतासँग कुम जोडेर हिँडेको देखिँदैन । निखिल उप्रेती एमाले समर्थक मानिन्छन् । कलाकार संघका पूर्वअध्यक्ष नवल खड्का पनि ज्ञानेन्द्र कालमा राजावादी हुँदै अहिले खाँट्टी कमरेड बनेका छन् । निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक एमाले हुँदै माओवादी बने । दिनेश डिसी एमालेमै छन् । जीवनभर एउटा फिल्म निर्देशन गरेका निलहरि काफ्ले कांग्रेस हुँदै गर्दा चलचित्र विकास बोर्डको सदस्य र पछि एमाले भए । अहिले महेश बस्नेतलाई प्रभावमा पारी सेजको अध्यक्ष बन्न पुगेका छन् । उनीजस्तै जीवनमा एउटै मात्र फिल्म निर्देशन गरेका शैलेस आचार्य कांग्रेसकै कोटामा विकास बोर्डको अध्यक्ष भए । फिल्मी करिअर समाप्त भएसँगै राजनीतिक दलको झण्डा समाउँदै पार्टी सत्तामा गएपछि कुनै पद लिने चलन हामीकहाँ अब नौलो रहेन ।

टिप्पणीहरू