काँग्रेसद्वारा चितवनका पूर्वसांसद निलम्बन

काँग्रेसद्वारा चितवनका पूर्वसांसद निलम्बन

नेपाली काँग्रेसले चितवनका पाँच जना नेतालाई कारबाही गरेको छ । पार्टीले भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध क्रियाकलाप गरेको भन्दै पूर्वसांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई कारबाही गरेको हो ।

पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्वजिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेललाई हटाइएको हो । नेपाली काँग्रेसले आज विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागु हुनेगरि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको हो ।

‘काँग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरु काँग्रेसको केन्द्रीय निर्देशन एवम् पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्ध सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागु हुनेगरि पार्टी सदस्यबाट निलम्बन गर्न सिफारिस भइ आएकाले सोहीअनुसार पार्टीले उनीहरुलाई निलम्बन गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू