अमेरिका सबैतिर जान आतुर

अमेरिका सबैतिर जान आतुर

निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशीको मात्रै हैन, विदेशीको पनि दौडादौड छ ।

नेपालका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जना नयाँ जनप्रतिनिधि चयन गर्नका निम्ति पर्सि ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकैसाथ मतदान सम्पन्न हुँदैछ । १ लाख ३७ हजार ४३ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएकोमा २५ प्रतिशतले नाम फिर्ता लिएका छन् । देशभरका एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जनासँग मताधिकार रहेको यस निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान केन्द्रबाट भोट दिन पाइने व्यवस्था छ । तीमध्ये प्रचण्डपुत्री रेणु दाहाल उठेको क्षेत्रसहित महत्वपूर्ण मतदान केन्द्रमा पर्यवेक्षण गर्नका लागि सबैभन्दा बढी अमेरिकी दूतावासको चासो बढेको परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ ।

त्यसबाहेक स्वीस, युरोपेली युनियन, जर्मन, जापान, चिनियाँ, पाकिस्तानी दूतावासले पनि निर्वाचन पर्यवेक्षण निम्ति अनुमति मागेका छन् । अरु देशले काठमाडौं र छेउछाउका शहरमा पुग्न पाए चित्त बुझाउने स्थिति छ । तर, अमेरिकी दूतावासले पोखरा, भरतपुर, बुटवल, कञ्चनपुर, धनगढी, विराटनगरसहित देशका थुप्रै मतदान केन्द्रमा पर्यवेक्षणको इच्छा व्यक्त गरेको छ । त्यसरी निर्वाचन पर्यवेक्षणका लागि जाने टोलीमा एक, दुई जना कूटनीतिज्ञ हुन्छन् भने बाँकी स्थानीय कर्मचारीहरु मिसिने गर्छन् । तिनको साथ लागेर फिल्डमा जान परराष्ट्रले भुवन पौडेलसहित ३१ जना लियाओ अफिसर तोकिसकेको छ ।

कूटनीतिज्ञहरुको आवत जावतको यही स्थितिलाई दृष्टिगत गर्दै सरकारले निर्वाचनका लागि परराष्ट्र सेवाका २ दर्जन कर्मचारीलाई काठमाडौंका मतदान केन्द्रहरुमा खटाउँदै छ ।

उता, विभिन्न प्रदेशमा अनावश्यक रुपमा लियाजो अफिसर (सम्पर्क अधिकृत) का नाममा खटाइएका कर्मचारीहरु काठमाडौं तानिएका छन् । राहदानीतिर चाप बढेपछि उनीहरु त्यही नाममा मन्त्रालय बोलाइएका हुन् । राष्ट्रपति निवास शीतल निवासमा भने सहसचिव सुधीर भट्टराई र उपसचिव मुदिता बज्राचार्यको दरबन्दी कायमै छ ।

उता, कसैलाई बेलायतबाट फर्किनेबित्तिकै जापानको राजदूत बनाइने हाम्रो देशमा एकजना सहसचिवमाथिको पेलान भने चर्चा गर्न लायकको छ । करिअरका आधारमा एक दिन परराष्ट्र सचिव नै हुने वरियताका सहसचिव निर्मल काफ्लेलाई अहिलेको पोष्टिङमा ब्राजिल पारिएको छ । न बाक्लो कूटनीतिक सम्बन्ध भएको देश, न त्यहाँ उल्लेख्य नेपालीकै बसोबास † उनी तिनै सहसचिव हुन्, जो पहिला पहिला कसैले पनि चीन जान नमान्दा दोस्रो हैसियतमा बस्ने गरी गए । चीनमा दुई वर्ष बसेपछि त्यहीँबाट न्युयोर्क गएर नेपाल फर्किए । सिनियर भएको लामो समयपछि केपी ओलीद्वारा अष्ट्रियाको राजधानी भियनामा उनको पोष्टिङ त भयो, तर जानै नपाई ओलीद्वारै रद्द भयो ।

अहिलेका परराष्ट्र सचिव भरत पौडेलपछि सचिवकी दावेदार सेवा लम्साल हुन् । त्यसपछि क्रमशः अमृत राई, कृष्ण ढकाल र अहिलेका पीडित निर्मल काफ्लेको पालो आउँछ । त्यहाँका कर्मचारी किन पनि उत्साहित छन् भने पहिलोपटक परराष्ट्र सेवाका शंकरदास वैरागी मुख्यसचिव बनेका छन् ।

टिप्पणीहरू